२१ कात्तिक २०८३, शनिवार

‘दिगो विकासका लागि सहकारी’

२०७२ असार २४, बिहिबार
‘दिगो विकासका लागि सहकारी’

काठमाडौं । दिगो विकासका लागि सहकारी उपयुक्त मोेडल भएको बिहिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

एजीङ नेपाल र उपलब्धि बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा ‘दिगो विकासका लागि सहकारी लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीबाट मात्रै आर्थिक सशक्तीकरण हुन सक्ने जोड दिएका हुन् । १५ वर्षसम्म शहस्राब्दी विकास लक्ष्य हाशिल हुन नसकेकाले दिगो आर्थिक विकासका लागि अब महत्वपूर्ण विकल्प सहकारी नै रहेको वक्ताहरुले बताएका थिए । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक केदार मानन्धरले सहकारीबाट नै देशको रुपान्तरण हुन सक्ने बताए ।

नेशनल कोअपरेटर्स एलाईन्सका कोषाध्यक्ष मोहन बस्नेतले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा सहकारी प्रभावकारी भएको बताए । केही बचत तथा ऋण सहकारीमा देखिएको समस्याले सिंगो सहकारी बदनाम हुन पुगेको भन्दै सहकारीले आफ्नो छवी सुधार गर्न आवश्यक भएको बताए । सहकारीका विकृति हटाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सके सहकारीबाट नै दिगो आर्थिक विकास गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रा. डा चक्रमणी लुईटेलले परनिर्भरता घटाउन नसके आर्थिक विकास संभव नुहने बताए । गरिबी निवारण गरी आत्मनिर्भर हुनुका लागि सहकारीको अग्रणी भूमिका हुने उनको भनाई थियो ।

कार्यक्रममा अजय गुरुङले सहकारीले महिला सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्याउन सकेको चर्चा गर्दै अब सहकारी कृषि उत्पादनमा लगानी गर्न अपरिहार्य भइसकेको बताए । सहकारीले सूचना, शिक्षा र तालिममा ध्यान दिन सके मात्र सहकारी सबल खम्बाका रुपमा स्थापित हुन सक्ने उनको भनाई थियो ।

एजीङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतमले १५ वर्षसम्म सहर्शाब्दी लक्ष्य हाशिल हुन नसकेकोमा दुःखेसो पोखे । मल्टीनेशनल कम्पनी भन्दा सहकारीबाट दिगो आर्थिक विकास गर्न सकिने उनको भनाई थियो । विकास युवामुखी मात्र नभई सबै उमेरलाई समेट्ने खाले कार्यक्रम ल्याउन आवश्यक भएको उनले बताए ।

कार्यक्रमका संयोजक विपिन शर्माले सहकारीका विकृति अन्त्य गर्दै सहकारीले रचनात्मक काम गर्नुपर्नेमा जोड दिए ।

अभिलेख

लोकप्रिय