२१ कात्तिक २०८३, शनिवार

मुक्त हलियाको आर्थिक अवस्था सुधारमा सहकारीको योगदान

२०७२ असार ११, शुक्रबार
मुक्त हलियाको आर्थिक अवस्था सुधारमा सहकारीको योगदान

कञ्चनपुर । सहकारी संस्थामा आबद्ध भएपछि कञ्चनपुरका मुक्त हलिया परिवारको आर्थिक अवस्थामा सुधार आउन थालेको छ ।
सात वर्षअघि हलिया मुक्तको घोषणापछि जिल्लाका विभिन्न क्षेत्रमा छरिएर बस्दै आएका हलिया परिवार सङ्गठित हुँदै सहकारीमा आबद्ध भएका हुन् । मुक्त हलिया परिवारलाई आर्थिक रूपमा सशक्त बनाउन, बचत गर्ने बानीको विकास गर्न र उनीहरुका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय मुक्त हलिया समाजले सहकारी गठन गरी आत्मनिर्भरतातर्फ उन्मुख गराएको हो ।

सहकारीमा आबद्ध भएपछि हलियाले बचत गर्ने, ऋण लिने र त्यसबाट व्यवसाय सञ्चालन गरी सहज जीवनयापन गर्न थालेका छन् । भीमदत्त नगरपालिका वडा नं– ८, ९ र १० तथा सुडा गाविस– ५ मा सहकारी संस्था गठन गरिएका छन् । चारवटै सहकारी संस्थामा पाँच सय बढी मुक्त हलिया परिवार आबद्ध रहेका छन् । सहकारीमा आबद्ध परिवारले मासिक रूपमा रकम बचत गर्ने र बचत रकम आयआर्जन हुने कार्यका लागि परिचालन गर्दै आएका छन् ।
संस्थामा आबद्ध सदस्यले मासिक रूपमा रु ५० का दरले बचत गर्दै आएका छन् । उनीहरु आबद्ध सहकारीमा बचत रकम रु दुईदेखि रु तीन लाखसम्म पुगेको छ । यसबाट कुखुरा, बाख्रा, भैँसीपालन, तरकारीखेती, खुद्रा पसल, फर्निचर र सिलाइ कटाइको कार्य सञ्चालन गरेका छन् ।

“आर्थिक अवस्था कमजोर रहेका कारण विगतमा सानोतिनो खर्चका लागि साहुकहाँ कर्जाका लागि धाउनुपथ्र्यो” सुडा– ५ का मुक्त हलिया ख्याउटे दमार्इंले भने – “सहकारीमा आबद्ध भएपछि सहज भएको छ ।” छोराछोरीको विवाह, औषधि उपचार गर्न र घरायसी गर्जो टार्नका लागि सहकारीले निकै सघाउ पुर्याएको भीमदत्तनगरपालिका– १० का मुक्त हलिया पदमबहादुर ओडले बताए ।

ती सहकारी संस्थाबाट हालसम्म ८५ पुरुष र २३ महिलाले छ लाख ३६ हजार ऋण लिएका छन् । जिल्लामा एक हजार ३३३ परिवार मुक्त हलिया रहेका छन् ।

अभिलेख

लोकप्रिय