यस्तो छ, दाता सम्मेलनकाे एक दिने कार्यक्रम
काठमाडौँ । राजधानीको सोल्टी होटलमा बिहीबार हुने दाता सम्मेलनका लागि विभिन्न मुलुकका दातृ निकायका प्रमुखहरु नेपाल आइपुगिसकेका छन्। सम्मेलन स्थल सोल्टी होटल परिसरमा सहभागी मुलुक र निकायहरुको झण्डा र ब्यानर राखिएको छ।
सम्मेलनमा सहभागी हुन दुई छिमेकी देश चीन र भारतका विदेशमन्त्री वाङ यी र सुष्मा स्वराज बुधबार नेपाल आइपुगे। नर्वेका विदेश मन्त्री बर्ग ब्रेन्डे, जापानका विदेश राज्यमन्त्री मिनोरु कियुची पनि नेपाल आइसकेका छन्। श्रीलङ्काका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजे पनि नेपाल आइसकेका छन्। उनले भूकम्पले क्षतिग्रस्त राजधानीको बसन्तपुर दरबार स्क्वायरको भ्रमणसमेत गरेका छन्।
त्यस्तै विभिन्न दातृ निकायका प्रमुखहरु पनि सम्मेलनका लागि नेपाल आइपुगेका छन्। एसियाली विकास बैंकका अध्यक्ष ताकिहिको नाकाओ र जापानी सहयोग नियोगका अध्यक्ष आकिहिको तानाका नेपाल आइपुगेका छन्। विश्व बैंकका उपाध्यक्ष र राष्ट्रसंघका सहायक महासचिव पनि नेपाल आइपुगेका छन्।

कस्तो छ कार्यक्रम?
राजधानीको सोल्टी होटलमा बिहीबार बिहान सम्मेलनको उद्घाटन हुनेछ। प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनको उद्घाटन गर्नेछन्। उद्घाटन सत्रको समाप्ति पछि टेक्निकल सेसन सुरु हुनेछ। उक्त सेसनमा नेपालको तर्फबाट पोस्ट डिजास्टर निड असेसमेन्ट रिपोर्ट (पीडिएनए) प्रस्तुत हुनेछ।
साथै नेपालले वैशाख १२ गतेको भूकम्पको क्षतिपछिको पुनर्निर्माणका लागि आफ्नो आवश्यकताबारे प्रष्ट्याउने छ। लगत्तै दातृ मुलुक र निकायका प्रतिनिधिहरुले विपद् व्यवस्थापनबारे आफ्नो अनुभव र नेपालका लागि सहयोगको प्रतिवद्धता गर्नेछन्।
के भन्दैछ नेपालले?
सम्मेलनमा नेपालले भूकम्पपछिको पुनर्निर्माणका लागि सहयोगका लागि आग्रह गर्नेछ। अर्थमन्त्री डाक्टर रामशरण महतले यसअघि नै पुर्ननिर्माणका लागि सफ्ट लोनका लागि आग्रह गर्ने बताइसकेका छन्। उनले सरकारको तर्फबाट पुनर्निर्माणका लागि ब्रोडर फ्रेमवर्क प्रस्तुत गर्ने जनाएका छन्। सरकारले सानातिना आयोजना र क्षेत्रगत रुपमा विकासमा सहभागिताका लागि आह्वान नगर्ने महतले प्रष्ट गरिसकेका छन्।
नयाँ दातृ निकाय पनि सहभागी हुँदै
नेपालका प्रमुख दातृ मुलुक हुन् चीन, भारत, जापान र अमेरिका। त्यो सँगै यसपटक सम्मेलनमा सहभागिताका लागि अन्य मुलुकहरुले पनि चासो देखाएपछि सरकारले निम्तो पठाएको थियो। अष्ट्रिया, लक्जेम्बर्ग, न्यूजिल्यान्ड, ब्राजिल, बेल्जियम पनि सम्मेलनमा सहभागी हुँदैछन्।
यस्तै खाडी मुलुकहरु साउदी अरेबिया, कतार पनि सम्मेलनमा सहभागी हुँदैछन्। तर सरकारले नयाँ राष्ट्रहरुसँग सहयोगको ठूलो अपेक्षा नगरेको अर्थमन्त्री महतले बताएका छन्।
दातृ निकायका प्रतिनिधि प्रभावित क्षेत्रमा
पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरुले बुधबार भूकम्पका कारण क्षति भएको हनुमानढोका दरबार क्षेत्र र साँखुको अवलोकन गरेका छन्। स्वीडेन, थाइल्यान्ड, पाकिस्तान लगायत देशका प्रतिनिधिहरुले दरबार क्षेत्रको अवलोकन गरेको राससले जनाएको छ। भूकम्पले पारेको क्षति, यसको पुनः निर्माणका चुनौतिलगायतमा उनीहरुले जिज्ञासा राखेका थिए।

.jpg)
भारत र चीनको सहयोग घोषणाको अपेक्षा
एसियाली विकास बैंक र विश्व बैंकले ऋण सहयोग दिनेबारे सरकारलाई जानकारी गराएपनि भारत र चीनले कति सहयोग गर्छन् भन्ने चासोको विषय रहेको छ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार त्रिभुवन विमानस्थलमा ओर्लिए लगत्तै नेपालको पुनर्निर्माणका लागि भारत नेपाल सरकार नेपाली जनताको साथ सदैव रहने बताएकी छिन्।
सम्मेलनमा सहभागिताका निम्ति २३ बहुपक्षीय, ४० द्विपक्षीय, चार ‘एजेन्सी’ र तीन व्यक्तिलाई बोलाइएको अर्थमन्त्रालयले बुधबारको पत्रकार सम्मेलनमा जनाएको थियो। हालसम्म २ सय ३९ जना विदेशी पाहुनाले सम्मेलनमा सहभागिताका लागि मन्त्रालयसँग सम्पर्क गरेका छन्।
साभार : बिजमाण्डू
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
