२१ कात्तिक २०८३, शनिवार

सहकारी मार्फत सामूहिक बङ्गुरपालनमा दलित समुदाय

२०७२ जेठ २६, मङ्गलबार
सहकारी मार्फत सामूहिक बङ्गुरपालनमा दलित समुदाय

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपन्न दलित समुदायका मानिस सहकारी मार्फत सामूहिकरूपमा बङ्गुरपालन व्यवसायमा जुटेका छन् ।

भीमदत्त नगरपालिका–१८ खैरभट्टीका दलित परिवार विगत केही महिनायता सामूहिक बङ्गुरपालनमा जुटेका हुन् । गाउँमा दलित उद्यमशीलता कृषि सहकारी संस्थाको माध्यमबाट बङ्गुरपालन सुरु गरेको संस्थाका अध्यक्ष नारद सुनारले जानकारी दिनुुभयो । यसका लागि रु आठ लाख ३० हजार जिल्ला पशुसेवा कार्यालयबाट अनुदान पाएका हुन् ।

“अहिले ३५ वटा बङ्गुरका पाठापाठीबाट व्यवसाय सुरु गरेका छौँ” अध्यक्ष सुनारले भने–“दलित समुदाय एकत्रित भएर व्यवसायमा लागेका छौँ ।”

खैरभट्टीका ७५ घरधुरी दलित समुदायबाट ९९ जना सहकारीमा आवद्ध छन् । विसं २०६९ मा स्थापना भएको दलित सहकारीले समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन व्यवसाय सुरु गरेको हो । बङ्गुरपालनमा ३० प्रतिशत सहकारीको लगानी रहेको छ ।

“एक वर्षमा बङ्गुर मासुका लागि तयार हुन्छ” उनले भने । व्यावसायिक बङ्गुरपालनमा दुई जनालाई लालनपालनको जिम्मेवारी दिइएको छ । सहकारीमार्फत मासिक बचतसमेत गर्ने गरेको अध्यक्ष सुनारले बताउनुभयो । उनीहरूले सयदेखि एक हजारसम्म बचत गर्छन् । सहकारीले पाँच लाख ऋण लगानी गरेको छ ।

अभिलेख

लोकप्रिय