२१ कात्तिक २०८३, शनिवार

बढ्न थाल्याे चहलपहल

२०७२ जेठ २१, बिहिबार
बढ्न थाल्याे चहलपहल

काठमाडौं । भूकम्पपछि सुनसान रहेका राजधानीका बजारमा क्रमश: चहलपहल बढेको छ। अत्यावश्यक बाहेकका सरसामान किनमेलका साथै आवतजावतसमेत वृद्धि भएको छ। एक महिनाभन्दा बढीसम्म खाली देखिएका सडकहरूमा गाडी जाम हुन थालेको छ।

महाबौद्धस्थित ईश्वरी स्टोरका सञ्चालक ईश्वर डंगोलले बुधबार साढे २ बजेसम्ममा ३० वटा पङ्खा बेचिसकेका थिए। अझै ग्राहक आउने क्रम रोकिएको थिएन। गत वर्षको तुलनामा बिक्री कम भए पनि भूकम्पयता बुधबार धेरै कारोबार भएको उनले बताए। ‘व्यापार ठप्पै थियो,’ उनले भने, ‘विस्तारै पहिलेकै अवस्थामा आउँदैछ।’

मोबाइल बिक्रेताहरू पनि विस्तारै तंग्रिन थालेका छन्। ‘लामै समय कारोबार ठप्प रह्यो। आज १५ वटा मोबाइल बिक्री भयो,’ न्युरोडस्थित पारामाउन्ट इलेक्ट्रोनिक्स सप नम्बर १९ का पुरुषोत्तम बस्नेतले भने। भूकम्पपछि खाद्यान्नलगायत अत्यावश्यकीय सामानको बिक्रीमा धेरै असर परेको थिएन। तर विलासिताका सामानको कारोबार पूरै रोकिएको थियो। ‘अब बजार धेरै नै सामान्य भइसकेको छ,’ चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने, ‘विलासिताका भनिने सामानको पनि कारोबार बढ्न थालेको छ।’

सर्वसाधारणमा पनि डर विस्तारै घटेको छ। ‘गर्मी अत्यधिक बढेको छ। बिना पङ्खा सुत्न सक्ने अवस्था छैन,’ महाबौद्धमा पङ्खा किनिरहेका अनिश भुजेलले भने, ‘त्रासमा कति बस्नु, सामान्य हुनु पर्‍यो भनेर पङ्खा किन्न आएको हुँ।’

असनको लक्ष्मण जिन्स सेन्टरका सञ्चालक लक्ष्मण कार्कीले दैनिक १० हजारसम्मको कारोबार गर्न थालेको सुनाए। ‘गर्मी महिनामा प्रयोग हुने टिसर्ट, हाफ पाइन्टको माग बढ्दै गएको छ,’ उनले भने, ‘राम्रै व्यापार हुन थालेको छ।’

व्यापारिक केन्द्रका बहुतल्ले भवनहरूमा पनि कारोबार सुरु हुन थालेका छन्। व्यापारिक केन्द्र न्युरोड, खिचापोखरी, महाबौद्ध, असन, इन्द्रचोकका अधिकांश पसलहरू खुलेका छन्। पसलहरू अलि पहिलादेखि नै खोले पनि कारोबार भने गत आइतबारबाट वृद्धि भएको व्यवसायीहरूले बताए। ठूला महाभूकम्प गएका बार शनिबार र मंगलबार भने अलि कम चहलपहल हुने गरेको उनीहरूले जानकारी दिए। ‘भीडभाड बढ्दै गएको छ। कारोबार पनि सोहीअनुसार वृद्धि भएको छ,’ महाबौद्धस्थित डीजी इलेक्ट्रोनिक्सका सञ्चालक रेग्नी श्रेष्ठले भनिन्। खिचापोखरी पिपल्स प्लाजास्थित थ्रीएस पसल नम्बर २०६ का सञ्चालक सरोज भट्टराईले पनि एक सातादेखि कपडाको व्यापारमा सुधार भएको बताए। ‘भूकम्पलगत्तै उपभोक्ताहरू खानेकुरामा केन्द्रित भए,’ उनले भने, ‘अहिले गर्मी बढ्दै गएकाले लुगा पसलहरूमा चहलपहल बढ्दै गएको छ।’

चार पाङ्ग्रे सवारी साधनको बिक्रीमा केही कमी आए पनि मोटरसाइकलको माग बढ्न थालेको व्यवसायीले जनाए। ‘गाडीको पनि सोधखोज हुन थालिसकेको छ,’ कोरियन साङयोङ गाडीका आधिकारिक बिक्रेतासमेत रहेका श्रेष्ठले भने। गरगहनाका पसलसमेत खुल्न थालेका छन्। भूकम्पपछि घर गएका कालिगढ नआए पनि कारोबारमा क्रमिक सुधार देखिने व्यवसायी बताउँछन्। ‘अहिले छिटफुट मात्रै कारोबार भएको छ। त्यसमा पनि ५० प्रतिशत पसल खोलेका छौं,’ सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘अब बढ्ने आशा छ।’

अभिलेख

लोकप्रिय