विस्थापितको व्यवस्थापन कसरी ?
काठमाडौं । लाङटाङ पहिरोमा परिवारका ६ जना गुमाएका प्रेम नुर्बु तामाङलाई शरणार्थीजस्तो भई काठमाडौंमा बस्न सकस भइसक्यो। हावापानी, रहनसहन, खानपान केही नमिल्दा गाह्रो परिसक्यो। ‘हिमपहिरोले पुरिएका आफन्तको काजकिरियासमेत राम्ररी गर्न सकिनँ,’ उनले भने। भूकम्पपछि गएको हिमपहिरोमा पुरिएर उनकी श्रीमती, नातिनातिनी, आमा, छोरासहित ६ जनाको निधन भएको थियो। त्यहाँबाट उद्धार गरिएका १ सय २९ घरका ४ सय ८८ जना आफ्नै गाउँ फर्कन आतुर छन्।
स्वयम्भूको पहेंलो गुम्बास्थित शिविरमा समयमै खाना दिइन्छ। घाम–पानी छेक्न स्तरीय टेन्ट छ। तर, तीन हजार पाँच सय मिटरभन्दा माथि बस्दै आएका उनीहरूलाई २५ डिग्रीभन्दा बढी तापक्रम रहेको काठमाडौंमा बस्नु सजाय दिएझैं भएको छ। ‘स्वर्गबाट नर्कमा ल्याए जस्तो लागेको छ,’ लाङटाङ–५ की लाक्पा तामाङले भनिन्, ‘गर्मीले खाना पच्दैन। लामखुट्टेले टोकेर जताततै घाउ भइसक्यो।’ लाङटाङ–५ का तेन्जिङ लामाले उताभन्दा मिठै खान्छन्। तर, उनलाई आफ्नो २० वटा चौंरी गाई कहाँ गए भन्ने पिरलो छ। ‘दिनकै मासुभात खानुभन्दा गाउँमा चिसो खानु ठीक,’ उनले भने।
चिसो ठाउँमा बसेका कतिपयले लामखुट्टेको टोकाइको महसुससमेत गरेका थिएनन्। कतिपय काठमाडौं आएकै थिएनन्। लाङटाङ छाडेर अन्यत्र बस्दा आफ्नो गाउँको पहिचान मेटिनेमा उनीहरू चिन्तित छन्। ‘स्वदेशमा एउटै घर नभए पनि फेरि बनाएर बस्नुपर्छ। त्यहाँ आफ्नै भाषा, संस्कृति छ,’ कार्तो लामाले भनिन्, ‘हामी परदेशबाट त्यहीं फर्कन्छौं। विश्वले चिनेको ठाउँ छाड्दैनौं।’ लाङटाङको ४ देखि ९ वडामा क्षति पुर्याए पनि अन्यत्र सुरक्षित रहेकाले तत्काल सार्न उनीहरूको माग छ। लाङटाङ राष्ट्रिय निकुन्जको जग्गा प्रशस्तै रहेकाले बस्ती बसाल्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्।
हावापानी नमिल्दा बिरामी पर्ने समस्या देखा परेको निमा लामाले बताए। ‘सबैजना गाउँ फर्कन आतुर छन्,’ उनले भने। गुम्बामा बस्दै आएका वृद्धाहरूले लाङटाङको चिसोमा लगाउने बख्खु र किटल यहाँ पनि छाडेका छैनन्। त्यसमाथि बाक्लो स्विटर लगाएका छन्।
सिन्धुपाल्चोकबाट विस्थापित भई भक्तपुरको बोडेस्थित नीलबाराही जंगलसँगैको खुल्ला ठाउँमा बस्दै आएका भूकम्पपीडितको भनाइ भने अलि बेग्लै छ। उनीहरू अहिल्यै हैन, कम्तीमा पनि ६ महिना यतै बस्ने सुरसारमा छन्। यो बस्तीमा अन्यत्रजस्तो पाल आवश्यक छैन। के खाने भन्ने चिन्ता पनि छैन। चिनियाँ संस्थाले उपलब्ध गराएको नीला रंगका ठूलठूला टेन्ट गाडिएका छन्। चिनियाँ संस्थाले नै खाने व्यवस्था पनि मिलाएको छ।
गेटमै बाँस तेस्र्याइएको छ। जो पायो त्यसले भित्र प्रवेश पाउन मुस्किल छ। हात–हातमा वाकीटकी बोकेका स्वयंसेवक परिचालित छन्। छुट्टै कार्यालयसमेत खडा छ। त्यसभित्र वाइफाई सहितको कम्प्युटर। बस्तीका बालबालिकालाई पढाउन स्कुलसमेत बनिरहेको छ। खानेपानी र शौचालयको पनि सुविधाजनक व्यवस्था छ।
सोमबार दिउँसो त्यहाँ पुग्दा चर्को घाममा दिक्क नहोस् भनेर गीत घन्काइएको थियो। बालबालिकालाई विभिन्न खेल खेलाउन चिनियाँ नागरिक खटिएका थिए। बस्ती प्रवेश गर्ने गेटको छेउमा मोटरसाइकल, ट्रिपर, ट्रक पार्किङ गरिएका छन्। झलक्क देख्नेलाई यो विस्थापितहरूका लागि भर्खरै खडा गरिएको शिविर हो भनेर पत्याउनै मुस्किल पर्छ। ‘गाउँमा बस्नै नसक्ने गरी पहिरो गएपछि सुरक्षित भएकाले यो ठाउँ रोजेका हांै,’ बस्ती व्यवस्थित बनाउन खटिएका सिन्धुपाल्चोक तातोपानी भैरवकुण्ड युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठले भने, ‘वर्षात् सकिएपछि उताको अवस्था थाहा हुन्छ। अनि गाउँ फर्कन्छौं।’ जग्गाधनीले पनि ६ महिना मात्रै बस्न अनुमति दिएको उनले बताए। पानी बत्तीको कुनै समस्या छैन। यहाँ सशस्त्र प्रहरीको सुरक्षा पोस्ट छ। सोमबार यो शिविर पुग्दा सुरक्षाका लागि नेपाल प्रहरीसमेत भित्रै थिए।
बोडे शिविर व्यवस्थापनका संयोजक कुमार श्रेष्ठका अनुसार यहाँ १२ गाविसका १ हजार ६९ जना बस्दै आएका छन्। तिनमा तातोपानीका ७ सय २८ छन्। लिस्टीका एक सय १९, मार्मिङका ८०, बढुवाका ५८ जना छन्। यहाँ बसोबास गर्नेलाई चाइना फाउन्डेसन फर प्रोपर्टी एलाभेसन, प्रकृतिका घर नेपालले खान र बस्न सहयोग गरिरहेको छ। बस्तीभित्रै पढ्न तातोपानीमा सञ्चालित मानसरोबर बोडिङ स्कुल यहीं सञ्चालन गर्न बाँसको टहरा निर्माण भइरहेको छ। ‘विद्यालयमा पढ्ने ९२ जना विद्यार्थी यही शिविरमा छन्,’ श्रेष्ठले भने, ‘उनीहरूका लागि स्कुल खोल्न लागिएको हो।’
सरकारी विद्यालयमा पढ्ने अन्यलाई नजिकका विद्यालयमा पठाउने तयारी भइरहेको उनले बताए। गाउँ छाडेर यही शिविरमा बस्दै आएकी मिङमा तामाङलाई १० कक्षामा अन्यत्र विद्यालयले भर्ना नलिने हो कि भन्ने चिन्ता छ। लिस्टी–५ की बालकुमारी प्रधानलाई यस वर्ष धनेश्वर माध्यमिक विद्यालय सिन्धुपाल्चोकबाट एसएलसी दिनुपर्ने छोरी गाउँ छाडेपछि कहाँ पढाउने भन्ने चिन्ताले पिरोलेको अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।
‘गाउँ जाउँ बस्ने ठाउँ छैन,’ उनले भनिन्, ‘यहाँ अरू विद्यालयले भर्ना लिन्छ/लिँदैन।’ सिन्धुपाल्चोकबाट विस्थापित भएकाहरू थली, मिलनचोक, सहिद पार्क र भक्तपुरको सल्लाघारीमा बस्दै आएका छन्। सहिद पार्कमा मार्मिङ, गाती, फुल्पिङकट्टीका दुई सय ८० जना बस्दै आएका छन्। सरकारले राहत नदिएपछि विभिन्न व्यक्तिको सहयोगमा खाना खुवाउने गरेको ग्याल्टासी शेर्पाले बताए। सल्लाघारीको जंगलमा पाल टाँगेर बसेका उनीहरूलाई पनि बत्ती, खानेपानीको व्यवस्था छ।
पहेंलो गुम्बा र बोडेमा मात्रै हैन, थली चउर, मिलनचोक, गोकर्णेश्वरको वनगाउँ, गोकर्णेश्वरकै गजडोल, नयाँबस्ती टाउन प्लानिङ र डिचिङ गुम्बा नयाँपाटी, खोला किनारहरू र भक्तपुरकै सल्लाघारीलगायत उपत्यकाका एक दर्जनभन्दा बढी स्थानमा सिन्धुपाल्चोक, नुवाकोट, रसुवाका साथै भूकम्प अति प्रभावित जिल्लाका विस्थापितहरू आएर बसेका छन्। ती विस्थापित बसेका ठाउँ आसपासका बासिन्दालाई भने उनीहरू सधैं बसिदिने हुन् कि भन्ने चिन्ता छ।
काठमाडौंका प्रहरी प्रमुख उत्तम कार्कीका अनुसार १२ गतेसम्म काठमाडौंमा १ हजार ५ सय २१ जना विस्थापित आएका छन्। तिनमा सिन्धुपाल्चोकका मात्रै एक हजार दुई सय ४६ छन्। नुवाकोट घ्याङफेदीका ३७ जना एउटा शिविरमा बस्ने गरेको प्रहरीले जनाएको छ। ‘विस्थापित भन्दै राजधानीका विभिन्न स्थानमा यस्ता बस्ती छन्,’ गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले भने, ‘उनीहरूलाई कसरी फर्काउने भन्ने योजना बनाउँदै छौं।’ राष्ट्रिय अनुसन्धान विभागका एक वरिष्ठ अधिकारीले विस्थापितलाई उनीहरूकै जिल्लाको सुरक्षित ठाउँमा पुनर्वास गराउनुपर्नेमा त्यसो हुन नसकेकाले समस्या आउन सक्ने औंल्याए। ‘अहिले अस्थायी बसोवास भनिएको ठाउँमा स्थायी बस्ने उनीहरूको योजना हुन सक्छ,’ उनले भने, ‘बेलैमा आफ्नै जिल्लामा पुनर्वास नगराए पछि सरकारको टाउको दुखाइको विषय बन्नेछ।’
गृह प्रवक्ता ढकालले विस्थापित शिविरमा गैरविस्थापित पनि मिसिएको हुन सक्ने भन्दै पहिचानमा कठिनाइ भएको बताए। ‘विस्थापित भनेर समूहबद्ध बसेका छन्, वास्तविक पीडित को हो? पहिचान गर्न सकिएको छैन,’ उनले भने, ‘उनीहरूका लागि सरकारले राहत दिँदै आएको छ।
कति समय दिने हो? उनीहरूलाई गाउँमै अस्थायी घर निर्माणको काम भइसकेको छ। गाउँ फर्कन आग्रह गरिरहेका छौं।’
उपत्यकामै घर भएका वा सामान्य घर चर्केकाहरू पनि खुला ठाउँ र सार्वजनिक ठाउँहरूमा विस्थापितसरह बस्दै आएका छन्। खाली ठाउँमा विस्थापितका नाममा जोसुकैले टेन्ट टाँगेर ओगट्न लागेपछि त्यसलाई कसरी हटाउने भन्नेमा पनि गृह मन्त्रालय लागिरहेको ढकालले बताए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
