२१ कात्तिक २०८३, शनिवार

राहत वितरणको निहुँमा राष्ट्रिय र जिल्ला सहकारी संघ बीच विवाद

२०७२ जेठ १८, सोमबार
राहत वितरणको निहुँमा राष्ट्रिय र जिल्ला सहकारी संघ बीच विवाद

‘अध्यक्ष एक्लैको निर्णयले सम्भव छैन । यो गलत निर्णय हो यसलाई सच्याउनु पर्छ ।’

काठमाडौं । भूकम्प पीडितहरुलाई राष्ट्रिय सहकारी संघको नेतृत्वमा वितरण गरीएको राहत सामग्रीको निहुँमा राष्ट्रिय सहकारी संघ र जिल्ला सहकारी संघ काठमाडौं बीच विवाद देखिएको छ ।

भारतीय सहकारी इन्डियन फार्मरस् फर्टिलाईजर को–अपरेटिभ (इफ्को)ले भूकम्प पीडितको लागि पठाएको राहत वितरणमा यस्तो विवाद देखिएको हो । इफ्कोले राष्ट्रिय संघलाई प्रभावीत जिल्लाहरुमा राहत वितरणका लागि एक हजार प्याकेट राहत पठाएको थियो । सोही राहत काठमाडौं जिल्लामा वितरण गर्दा जिल्ला सहकारी संघ काठमाडौं संग समन्वय नगरेको भन्दै विवाद सृजना भएको हो । जिल्ला संघले राहतमा समन्वय नगरेको भन्दै राष्ट्रिय संघको सदस्यता त्याग्ने घोषणा समेत गरेको छ ।

यता राष्ट्रिय संघले भने आफूहरुले संघका संचालकहरुलाई विभिन्न जिल्लामा खटाएको र सोही अनुसार राहत वितरण गरेको बताएको छ । ‘हामीले प्रतिनिधि खटाई राहत वितरण गरेका हौं । राहत वितरणमा सम्बन्धीत जिल्ला प्रशासन कार्यालयबाट स्विकृत लिएका छौं ।’ राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालले भने । काठमाडौंमा राहत वितरण गर्नका लागि राष्ट्रिय संघका उपाध्यक्ष ओमदेवी मल्ललाई खटाइएको थियो । उक्त राहत वितरणमा जिल्ला संघ काठमाडौंका कोषाध्यक्षको पनि सहभागी थिए । ‘हामीले प्रक्रियागत रुपमै वास्तविक पीडित समक्ष राहत वितरण गरेका हौं’ अध्यक्ष वडालले भने– ‘यसै विषयलाई लिए सदस्यता त्याग्ने भन्ने निर्णय ठीक होइन ।’

जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले राष्ट्रिय सहकारी संघको सदस्यता त्याग्ने घोषणा गरेलगतै विभिन्न विरोध र समर्थन आउन थालेको छ । सामाजिक संजाल मार्फत सदस्यता त्याग्ने र पत्रकार सम्मेलन मार्फत सार्वजनीक गर्ने बताएको छ । सदस्यता त्याग्ने घोषणा संगै जिल्ला संघ भित्रै विभिन्न विरोध आउन थालेको छ । संचालक समितिको बैठक विनै अध्यक्ष एक्लैले अविभावक निकायको सदस्यता त्याग्न नसकिने संघका संचालक अवरावती मर्हजनले बताईन । राहत वितरणको निहूँमा राष्ट्रियको सदस्यता त्याग्ने विषय गलत भएको मर्हजनको भनाई छ ।

‘सदस्यता त्याग्ने विषय कार्यसमितिको बैठकले निर्णय गरेको छैन’ संचालक मर्हजनले भनिन्– ‘अध्यक्ष एक्लैको निर्णयले सम्भव छैन । यो गलत निर्णय हो यसलाई सच्याउनु पर्छ ।’ विदेशी संस्थाले दिएको राहत वितरणमा यति ठूलो मुद्धा बनाउनु ठीक नभएको मर्हजनले बताईन ।

संघले पहिलो चरणमा गोरखा जिल्लाको धुवाँकोट गाविसका पीडितलाई ८ सय ९४ प्याकेट, काभ्रेपलाञ्चोक जिल्लाको नाला स्थित उग्रचण्डि तथा टुकुचा गाविसका पिडितलाई ७ सय ८९ प्याकेट र सिन्धुपाल्चोक जिल्लाको कून्चोक गाविसका पिडितहरुलाई ८ सय ७९ प्याकेट वितरण गरेको थियो । त्यस्तै भक्तपुरमा ५ सय ५९ प्याकेट राहत सामग्री वितरण गरीसकेको छ ।

इफ्कोले पठाएको राहत प्याकेटमा चामल, दाल, तेल, चिनी, चियापत्ति, बेसार, धुलो दुध, सलाई, मैनबत्ती, नुन, अचार, गेडागुडी, प्लाष्टिक सिट, लत्ता कपडा लगायत १९ प्रकारका सामग्री रहेको छ ।

याे पनि पढ्नुस्

राष्ट्रिय संघ छाड्दै जिल्ला सहकारी संघ काठमाडौं

के जिल्ला सहकारी संघ काठमाडौंले राष्ट्रिय सहकारी संघकाे सदस्यता त्याग्ला ? 

सहकारी संघ काठमाडौंले राष्ट्रिय संघको सदस्यता त्याग्ने मिडियाबाजी मात्रै ! 

अभिलेख

लोकप्रिय