२१ कात्तिक २०८३, शनिवार

के जिल्ला सहकारी संघ काठमाडौंले राष्ट्रिय सहकारी संघकाे सदस्यता त्याग्ला ?

२०७२ जेठ ११, सोमबार
के जिल्ला सहकारी संघ काठमाडौंले राष्ट्रिय सहकारी संघकाे सदस्यता त्याग्ला ?

काठमाडौं । देशभरका सहकारी संघ/संस्थाको अभिभावक निकाय राष्ट्रिय सहकारी संघले अभिभावकत्व भूमिका निर्वाह गर्न नसकेको आरोप लागेको छ । सहकारी संघले सदस्य संघहरूको बेवास्ता गरी मनोमानी ढंगले अघिबढेको आरोप लागेको हो । संघले अभिभावकत्व भूमिका निर्वाह गर्न नसकेको भन्दै जिल्ला सहकारी संघ काठमाडौंले राष्ट्रिय सहकारी संघको सदस्यता त्याग्ने घोषणा गरेको छ । अब भावनात्मक सम्बन्ध सकिएको घोषणा गर्दै कानुनीरूपमै सदस्यता त्याग्ने घोषणा गरेको बताएको छ ।

राष्ट्रिय संघले सदस्य संघहरूको भावनात्मक कदर नगरी मनोमानी ढंगले अघिबढेका कारण सदस्यता त्याग गर्न लागिएको जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईंले जानकारी दिए । ‘हामीहरूले अभिभावक निकाय भनेर मानेका छौँ तर अभिभावकको भूमिका पटक्कै निर्वाह भएको छैन’ अध्यक्ष चौलागाईंले भने, ‘दोहोरो तथा सुमधुर सम्बन्ध हुनु आवश्यक छ, तर यसो भएको छैन ।’ राष्ट्रिय सहकारी संघ हाम्रो जिल्ला संघलाई फुटाउने अभियानमा समेत लागेको उनले बताए । संघले सहकारी ऐन संशोधन गर्दा जिल्ला संघसँग कुनै प्रतिक्रिया नलिएको, सभा सम्मलेनमा कुनै अवसर नदिएको, सदस्य संघलाई बेवास्ता गरेका कारण सम्बन्ध त्याग गर्न लागिएको उनको भनाइ छ ।

काठमाडौं जिल्ला संघले सदस्यता त्याग्नेसम्मको घोषणा गरेपछि अन्य जिल्ला संघहरूले पनि चासो देखाउन थालेका छन् । अन्य जिल्ला संघ तथा विषयगत संघहरूमा पनि असुन्तुष्टी रहेको बुझिएको छ । राष्ट्रिय सहकारी संघमार्पत कुनै गल्ती भएको भए सच्याउन तयार रहेको राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले बताए । ‘हाम्रो धरोहर भनेकै जिल्ला संघ हो । केही कुरा चित्त नबुझेको हुन सक्छ । ती कुरालाई हामी आगामी दिनमा सुधार गर्दै लैजानेछौँ ।’ अध्यक्ष बडालले भने ।

सदस्यता त्याग गर्नुभन्दा पनि मिलेर जानुपर्ने उनले बताए । ‘राष्ट्रिय संघ र जिल्ला संघहरूमा चिसोपन आउनु हुँदैन । हामी मिलेर नै गएका हौँ । उहाँहरूमा के कुरा चित्त बुझेको छैन । यसमा छलफल गर्न सकिन्छ तर संघको सदस्यता त्याग गर्ने विषय ठीक होइन,’ बडालले भने । राष्ट्रिय सहकारी संघमा दुई सय बढी जिल्ला संघ तथा विषयगत जिल्ला संघ आवद्ध छन् ।

अभिलेख

लोकप्रिय