२१ कात्तिक २०८३, शनिवार

भूकम्पले १८ आयोजना बन्द, बर्खामा दैनिक ६ घन्टाको लोडसेडिङ

२०७२ वैशाख २५, शुक्रबार
भूकम्पले १८ आयोजना बन्द, बर्खामा दैनिक ६ घन्टाको लोडसेडिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका सञ्चालित १८ जलविद्युत आयोजना भूकम्पले क्षतिग्रस्त हुँदा १ सय ७१ मेगावाट बिजुली उत्पादन रोकिएको छ। नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र लमजुङमा बनेका आयोजनामा गम्भीर क्षति पुग्दा उत्पादन रोकिएको हो।

केन्द्रीय प्रसारण प्रणालीमा झन्डै २ सय मेगावाट बिजुली आपूर्ति हुन नसकेपछि बर्खाको समयमा पनि सर्वसाधारण तथा औद्योगिक क्षेत्रले लोडसेडिङको मार खेप्नुपर्ने भएको छ। गत वर्षको बर्खाको तुलनामा यसपाली लोडसेडिङ बढी हुने विद्युत प्राधिकरण उत्पादन निर्देशनालयका उप–कार्यकारी निर्देशक शेरसिंह भाटले बताए।

‘प्रणालीमा आवश्यक बिजुली नहुँदा गत वर्ष जुरेको पहिरोले ल्याएको जस्तै समस्या आउनेछ,’ उनले भने, ‘सिन्धुपाल्चोक र नुवाकोटका अधिकांश आयोजना भूकम्पका कारण बन्द छन्, त्यसले आपूर्तिमा समस्या देखिएको छ।’ गत वर्ष साउनमा सिन्धुपाल्चोकको चुरेमा पहिरोका कारण त्यस क्षेत्रका सबै आयोजनामा पहिरो र बाढीले क्षति पुग्दा झन्डै ६८ मेगावाट बिजुली आपूर्ति हुन सकेको थिएन।
प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले भने हाल बन्द भएका आयोजनाबाट बिजुली नआए पनि तुलानात्मकरुपमा लोडसेडिङ नबढ्ने दाबी गरे। ‘प्रणालीमा उक्त परिमाणको बिजुली आपूर्ति नभए पनि भारतबाट आयात गरेर माग र आपूर्तिमा सन्तुलन मिल्छ,’ उनले बिहीबार नागरिकसँग भने, ‘बर्खा लागेको छ, सञ्चालित आयोजना पूर्ण क्षमतामा चल्छन्। केही दिनमै चिलिमे सञ्चालन हुनासाथ समस्या कम हुन्छ।’

प्राधिकरणका अनुसार अहिले बिजुलीको उच्चतम माग १ हजार १ सय मेगावाट र आपूर्ति ६ सय ९५ मेगावाट छ। प्राधिकरणका आयोजनाबाट ३ सय ५०, निजी क्षत्रबाट १ सय १५ र भारतबाट २ सय ३० मेगावाट बिजुली आपूतिए भइरहेको छ। करिब ३ सय ५० मेगावाटको अपुग बिजुली लोडसेडिङ गरिएको छ। बर्खामा पनि आपूर्तिको अवस्था योभन्दा खराब नहुने क्षेत्रीको भनाइ छ।
गार्हस्थ गाहकमा बिजुलीको पहुँच सहज भए पनि औद्योगिक क्षेत्रको अवस्था भने सहज नरहेको व्यवसायी बताउँछन्। तराईका उद्योगमा समस्या नरहे पनि उपत्यकाका उद्योगमा भूकम्प र बिजुलीले नोक्सान पुर्याउएको नेपाल उद्योग वाणिज्य महासंघका कामु अध्यक्ष पशुपति मुरारकाले बताए। औद्योगिक क्षेत्रमा अहिले दैनिक ९ घन्टासम्म लोडसेडिङ छ। यो अवस्था असोज/कार्तिकसम्म कायम रहने देखिएको छ।
‘उपत्यकाका उद्योगमा भूकम्पका कारण कामदार छैनन्, धेरै ठाउँमा वितरण प्रणाली बिग्रेकाले बिजुली आपूर्ति भएको छैन,’ उनले भने, ‘प्राधिकरणले सबै उद्योगमा बिजुली आपूर्तिको व्यवस्था मिलाए पनि बालाजु र पाटन औद्योगिक क्षेत्रमा पूर्णरुपमा आपूर्ति भएको छैन।’
भूकम्पका कारण औद्योगिक क्षेत्र र जलविद्युत आयोजनामा बढी क्षति पुर्या्एकाले सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने उद्योग व्यवसायीले माग राखेका छन्। हालसम्म प्राधिकरणले निर्माण गरेका ४८ मेगावाटका ३, प्राधिकरणको सहायक चिलिमे कम्पनीले निर्माण गरेको २२ मेगावाटको चिलिमे र बाँकी निजी क्षेत्रका आयोजनामा क्षति पुगेको छ।
सिन्धुपाल्चोकका अधिकांश क्षेत्र भूकम्पले क्षति पुगेका कारण उक्त जिल्लामा बनेका सबै आयोजना ध्वस्त भएका छन्। जिल्लामा रहेको सबैभन्दा ठूलो ४५ मेगावाटको भोटेकोसीको विद्युतगृह र पेनस्टक पाइपमा गम्भीर क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) ले जानकारी दिएको छ।
इपानका अनुसार सिन्धुपाल्चोकका बराम्ची, भैरवकुण्ड, चाकुलगायत आयोजनामा भूकम्पले क्षति पुर्या,एको छ। जिल्लास्थित प्राधिकरणको १० मेगावाटको सुनकोसी गत वर्ष जुरेमा आएको पहिरोका कारण क्षतिग्रस्त भएको थियो। सामान्य मर्मतपछि सञ्चालन गरिए पनि अहिले पुनः भूकम्पले बाँध र विद्युतगह नै भत्काएको छ।
प्राधिकरणले निर्माण गरेका २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाटमा भूकम्पले क्षति पुगेको छ। ‘क्यासकेड’ भएकाले त्रिशूली बन्द भएपछि देवीघााट स्वतः बन्द हुन्छ। त्रिशूलीको मुख्य पोखरी र बाँध क्षेत्र भत्केको छ। यसको मर्मत गर्न करिब एक महिना लाग्ने प्राधिकरण अधिकारी बताउँछन्।

झन्डै २ सय मेगावाट बिजुली प्रणालीमा आउन नसके पनि प्राधिकरणले बिहीबारसम्म भूकम्पले क्षति पुर्यामएका अधिकांश ठाउँमा आपूर्ति (रिस्टोर) गरिसकेको छ। देशभर रहेका ३ हजार ४ सय ६३ वितराण ट्रान्सफर्मरमध्ये ३ हजार २ सय ९० ट्रान्सफर्मरमार्फत बिजुली प्रवाह भएको प्राधिकरण ग्राहक तथा वितरण निदेशनालयले जनाएको छ। निर्देशनालयका अनुसार १ सय ४३ ट्रान्सफर्मरमा गम्भीर क्षति पुगेकाले मर्मत भइरहेको नागरिक दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय