२१ कात्तिक २०८३, शनिवार

सिन्धुपाल्चोकमा सर्वाधिक क्षति

२०७२ वैशाख २१, सोमबार
सिन्धुपाल्चोकमा सर्वाधिक क्षति

बाह्रविसे (सिन्धुपाल्चोक) । महाभूकम्पका कारण मृत्यु भएका कूल संख्याको आधाभन्दा बढी सिन्धुपाल्चोकमा पुगेका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार आइतबारसम्म सिन्धुपाल्चोकमा मृतक संख्या तीन हजार छ सय ६० पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार राति १० बजेसम्म देशभर मृत्यु भएकाको संख्या सात हजार दुई सय ७६ पुगेको छ ।

जिल्लाका २ नगरपालिका र ६८ गाविसमध्ये विकट क्षेत्रमा उद्धार कार्य जारी छ । हालसम्म अत्तरपुर, लिसंखु र ठूलोधादिङमा मात्र मृतक संख्या शून्य छ । सबैभन्दा धेरै मेलम्ची नगरपालिकामा २ सय ७४ जनाको मृत्यु भएको छ ।

अरनिको राजमार्गको अन्तिम भागतिर ठूलो–ठूलो पहिरो गएकाले अझै धेरै पुरिइरहेको अनुमान छ । शनिबारको दिन तातोपानी नुहाउन गएका धेरै बाटामा पुरिएको आशंका छ ।  तातोपानी, लिपिङ र कोदारी इलाकामा सकुशल अड्किएका करिब १५ सय जनालाई शनिबारसम्ममा हेलिकप्टरबाट उद्धार गरिएको छ ।

उद्धार गरिएका घाइतेको उपचार जारी रहेको जानकारी उद्धार समितिले दिएको छ । समतिका अनुसार आइतबार हेलिकोप्टरबाट २९ जनाको उद्धार गरिएको छ । सदरमुकामको टुडिखेलमा नर्बे सरकारको सहयोगमा उपचार व्यवस्था मिलाइएको छ ।

कतिपय स्थानबाट खबर नआउँदा विरामीको उद्धार हुन कठिनाइ भएको छ । उद्धार समितिका अनुसार हेलिकोप्टर बस्न सक्ने र जानकारी भएसम्म उद्धारको प्रयास जारी रहने छ । विकट बस्तीहरुमा अझै उद्धार जारी राख्ने जानकारी सुरक्षा स्रोतले दिएको छ ।

प्रहरीका अनुसार जिल्लाको पश्चिमी भेकका २४ गाविसमा हालसम्म ४ सय ९७ जना विरामीलाई उद्धार गरी उपचारका लागि राजधानी र मेलम्ची पठाइएको छ । आइतबार यो क्षेत्रबाट पाँच जनाको उद्धार गरिएको छ । ‘भोताङमा अझै केही घाईते भएको खबर आउको छ,’ मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले भने । त्यस्तै मध्य क्षेत्रबाट सात सयभन्दा बढी घाइतेको उद्धार गरिएको छ । पश्चिम भेकमा उद्धार जारी छ ।

खोजी जारी 

तातोपानी नाकाको बाह्रविसे—तातोपानी खण्ड सडकमा पोल्याण्डको टीमले सर्च एण्ड रेस्क्यु टीमले हराएकाहरुको खोजी गरिरहको छ । सडकमा ठूलो संख्यामा पुरिएको र फेला पार्न नसकेको आधारमा उक्त टीम सक्रिय भएको हो । हालसम्म सडकमा चार वटा शव फेला परेका छन् ।

लिपिङ बजारबाट भने प्रहरीले १५ शव फेला पारेको छ । स्थानीय क्लव र प्रहरीको टोलीले दाहसस्कार गरेका छन् । लिपिङ बजारमा भने अझै केही शव फेला पर्न सक्ने अनुमान स्थानीयले गरेका छन् । भोताङ, गुन्सा, बरुवालगायत गाविसमा अझै शव हुन सक्ने अनुमान गरिएको छ ।

राहत सुरक्षामा धौधौ 

पीडितको नाममा लुटपाट बढेपछि प्रहरीलाई राहात सुरक्षामा चुनौती थपिएको छ । गाउँ—गाउँबाट अरनिको र हेलम्बु राजमार्गमा राहात माग्दै दैनिक सयौंको भीड जम्मा हुने थालेको छ ।

त्यो बाटामै लुटिएपछि राहत ल्याउने समूहरुले सुरक्षा खोज्न थालेका छन् । ‘घुमथाङका लागि ल्याइएको राहात बाह्रविसे—तातोपानी खण्डको जम्बुमा पुर्‍याएपछि लुटिन खोज्यो । हामीले सम्झाईवुझाई पठायौं,’ स्थानीय कुमार अधिकारीले भने, ‘चालकको साँचो खोसेर लुट्न खोजेपछि वल्लतल्ल जोगायौं ।’

भोटेकोसी आयोजनाले ल्याएको तीन ट्रक राहात सामाग्री बाह्रविसेको खोर्सानीबारीमा लुट्न खोजियो । छोपेको त्रिपाल झिकेर चामलको वोरा झिक्न खोजेपछि प्रहरी तैनाथ गरिएको थियो । गाउँबाट झरेका महिलाहरुले आफूहरुले राहत नपाएको भन्दै एक थान पाल दिए पुग्ने वताएका थिए । बाह्रविसेमा दिनभर राहत वितरणमै तनाव सिर्जना भयो । राती अवेरसम्म चरिकोट लैजान लागेको सामग्रीको सुरक्षाका लागि प्रहरी परिचालन गरियो ।

पश्चिम क्षेत्रको भोटेचौरमा राहत बाँड्दा बाँडेदै लुटिएको छ । प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार उनीहरुविरुद्ध मुद्धा चलाइएको छ । ‘जति सुरक्षाको कुरा गरियो, त्यस्तो छैन,’ उनले भने, ‘राहत ल्याउनुअघि खबर गर्नुपर्‍यो ।’

सदरमुकाममा जिल्लाको राहत र उद्धार कार्यक्रम संयोजन गरिरहका सहसचिव वसन्तराज गौतमका अनुसार आफूखुशी राहत वितरण गर्न खोज्दा यस्ता समस्या बढेका हुन् । ‘सरकारी संयन्त्रमा आउनुपर्छ । सुरक्षाको कमी हुँदैन,’ उनले भने ।

राहत पुऱ्याउन सबैभन्दा समस्या विकट क्षेत्रमा परेको छ । यसबाट जिल्लाका मध्य र पश्चिम भेक बढी प्रभावित छन् । यातायात सेवा नभएका र छरिएका बस्तीहरुमा यो समस्या बढी छ ।

सहसचिव गौतमले राहत सामाग्रीको अभावभन्दा वितरण प्रणालीमा समस्या देखिएको बताए । पूर्वी क्षेत्रका लिस्ती, घोर्थली, पिस्कर, तातोपानी, मार्मिन, घुमथाङलगायत गाविसका माथिल्ला भेकमा ढुवानी समस्या छ । पश्चिम क्षेत्रका भोताङ, गुन्सा, बरुवा, बासखर्कलगायत गाविसको समस्या उस्तै छ । मध्य क्षेत्रका पाङताङ, हगाम, गोल्चे, गुम्बालगायत गाविस समस्याग्रस्त छन् । ‘ती गाविसका सवै ठाउँमा राहत नपुगेको होइन,’ गौतमको दाबी छ, ‘केही बस्तीमा ढुवानी व्यवस्थापन सहज बनाउने प्रयास भैरहेको छ ।’

जिल्लामा आइतबार राहतका २७ वटा गाडी भित्रेको प्रहरीले जनाएको छ । तीन दिनमा जिल्लाका पूर्वी भेकका ३० गाविसमा दुई हजारभन्दा बढी वोरा चामल वितरण भैसकेको दाबी गरिएको छ ।

मध्यभोटेकोसी विद्युत आयोजनाले प्रभावित पाँच गाविसमा सात सय ५० वोरा चामल, एक हजार पाँच किलो दाल तथा सोही परिमाणमा नुन वितरण गरेको छ । साउदी अरेविया नेपाली कमिटीद्धारा घुमथाङ गाविसलाई एक सय ८० वोरा चामल, १४ वोरा दाललगायत सामान आएको छ ।

स्थानीय विकास अधिकारी युवराज कटेलका अनुसार विकट क्षेत्रमा राहात पुर्‍याउन बराम्ची, मेलम्ची र बाह्रविसलाई केन्द्रविन्दु बनाईएको छ । सडक पुग्ने स्थानमा धमाधम राहात सामाग्री लैजान थालेको उनको दाबी छ ।

यसैगरी प्लान इन्टरनेशनलले जिल्लाका मध्य भेकका पाँच गाविसको राहात वितरणको जिम्मेवारी लिने सहमति गरको छ । उसले भोटसिपा, भीमटार, सिपापोखरे, नवलपुरलगायत गाविसमा पुऱ्याउनेछ ।

मध्य क्षेत्रमा राहात वितरण गर्न बराम्चीको ढाँडेमा केन्द्र स्थापना गरिने भएको छ । त्यसबाट उत्तरी भेकका हिमाली गाउँ गोल्चे, गुम्बा, पाङताङ, हगालगायतलाई सहज हुने उद्धार समितिको दावी छ । त्यहाँका लिदी, तेम्बाथानलगायत स्थानमा हेलिकोपटरबाट राहात लैजाने तयारी भैरहेको छ । हेलम्बु क्षेत्रका मेलम्चीघ्याङ र तार्केघ्याङमा ठूलो हेलिकोप्टरबाट राहात लैजाने जानकारी जिल्ला उद्धार समितिले दिएको छ । राहतका लागि बजार आउने अधिकांशले ओत लाग्न त्रिपाल माग्ने गरेका छन् ।

तातोपानी मार्ग खुलाउने प्रयास 

सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय निजी संघसस्थको सहयोगमा बाह्रविसे–तातोपानी खण्ड सकड जोड्ने प्रयास भैरहेको छ । दुई दिनअघि सुरु भएको पहिरो पन्छाउने अभियान जारी रहेको पूर्वी क्षेत्रका राहत तथा उद्धार संयोजक स्थानीय विकास मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिए ।

बाह्रविसेबाट चट्टान पन्छाउँदै डोजर डाकलाङ पुगेको छ । तातोपानीबाट स्थानीयवासीले सुख्खाबन्दरगाहको डोजर प्रयोग गरेर सडक सफा गरिरहेको जानकारी भैरवकुण्ड युवा क्लवका अध्यक्ष कुमार श्रेष्ठले दिए । कोदारी र बाह्रविसे दुवै तर्फबाट डोजर लगाउन सुरु गरिएको छ । तातोपानीका युवाले भने आफैं डोजर चलाएका छन् । सवै भन्दा बढी क्षति भएको अपठेरो झ्याले भीरको पहिरो डोजरले पन्छाईसकेको छ ।

मंगलबार साँझसम्म कोदारीसम्म यातायात सञ्चालन हुने सम्भावना छ । यसले जिल्लाको सीमा क्षेत्रमा राहत पुर्‍याउन सहयोग पुग्ने छ । कोदारीबाट मितेरी पुल जान भने करिव दुई किमी सडक पन्छाउनु पर्ने छ । मितेरी पुल र तातोपानी भन्सार हाता लिपिङ बजारमा ठूलो पहिरो आएकाले त्यहाँसम्म यातायात सञ्चालन गर्न भने केही दिन कुर्नुपर्ने जानकारी सडकले दिएको छ ।

मितेरी पुल नजिकै लिपिङ बजारको पहिरो हटाउन सीमा क्षेत्रका नेपाली र चिनियाँ अधिकारीबीच मंगलबार मितेरी पुलमा छलफल भएको छ । छलफलमा सहभागी अधिकारीका अनुसार चिनियाँ क्षेत्रमा पनि भुकम्पले क्षति पुर्‍याएकाले उनीहरु आफ्नै उद्धारमा लागेका छन् ।

खासा क्षेत्रमा भुकम्पका कारण पहिरो गएको र केहीको मृत्यु भएको छ । ‘उनीहरुले सघाउने भनेका छन्,’ ती अधिकारीले भने, ‘केही दिनमा काम सुरु हुन्छ । राहात वितराणका लागि सामान ढुवानी गर्न जिल्लाका सडकहरु सञ्चालनमा ल्याइएको छ ।’

जलविरे, कात्तिके, नवलपुर, पिस्कर, तातोपानी, लिसंखु, तौथली, जेठल, भोटेचौरलगायत गाविसमा यातायात सञ्चालन भैसकेको छ । पिस्करवासीले आफैंले सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छन् ।

यसैबीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सिन्धुपाल्चोकका भीमटार, वासवारी, थकनी, भोटेचौरलगायत गाविस पुगेर पीडितलाई भेटेका छन् । उनले आफूले सिन्धुपाल्चोकवासीको पीडा सदनमा उठाउने जानकारी दिएकाे अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय