सिन्धुपाल्चोकमा सर्वाधिक क्षति
बाह्रविसे (सिन्धुपाल्चोक) । महाभूकम्पका कारण मृत्यु भएका कूल संख्याको आधाभन्दा बढी सिन्धुपाल्चोकमा पुगेका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार आइतबारसम्म सिन्धुपाल्चोकमा मृतक संख्या तीन हजार छ सय ६० पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार राति १० बजेसम्म देशभर मृत्यु भएकाको संख्या सात हजार दुई सय ७६ पुगेको छ ।
जिल्लाका २ नगरपालिका र ६८ गाविसमध्ये विकट क्षेत्रमा उद्धार कार्य जारी छ । हालसम्म अत्तरपुर, लिसंखु र ठूलोधादिङमा मात्र मृतक संख्या शून्य छ । सबैभन्दा धेरै मेलम्ची नगरपालिकामा २ सय ७४ जनाको मृत्यु भएको छ ।
अरनिको राजमार्गको अन्तिम भागतिर ठूलो–ठूलो पहिरो गएकाले अझै धेरै पुरिइरहेको अनुमान छ । शनिबारको दिन तातोपानी नुहाउन गएका धेरै बाटामा पुरिएको आशंका छ । तातोपानी, लिपिङ र कोदारी इलाकामा सकुशल अड्किएका करिब १५ सय जनालाई शनिबारसम्ममा हेलिकप्टरबाट उद्धार गरिएको छ ।
उद्धार गरिएका घाइतेको उपचार जारी रहेको जानकारी उद्धार समितिले दिएको छ । समतिका अनुसार आइतबार हेलिकोप्टरबाट २९ जनाको उद्धार गरिएको छ । सदरमुकामको टुडिखेलमा नर्बे सरकारको सहयोगमा उपचार व्यवस्था मिलाइएको छ ।
कतिपय स्थानबाट खबर नआउँदा विरामीको उद्धार हुन कठिनाइ भएको छ । उद्धार समितिका अनुसार हेलिकोप्टर बस्न सक्ने र जानकारी भएसम्म उद्धारको प्रयास जारी रहने छ । विकट बस्तीहरुमा अझै उद्धार जारी राख्ने जानकारी सुरक्षा स्रोतले दिएको छ ।
प्रहरीका अनुसार जिल्लाको पश्चिमी भेकका २४ गाविसमा हालसम्म ४ सय ९७ जना विरामीलाई उद्धार गरी उपचारका लागि राजधानी र मेलम्ची पठाइएको छ । आइतबार यो क्षेत्रबाट पाँच जनाको उद्धार गरिएको छ । ‘भोताङमा अझै केही घाईते भएको खबर आउको छ,’ मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले भने । त्यस्तै मध्य क्षेत्रबाट सात सयभन्दा बढी घाइतेको उद्धार गरिएको छ । पश्चिम भेकमा उद्धार जारी छ ।
खोजी जारी
तातोपानी नाकाको बाह्रविसे—तातोपानी खण्ड सडकमा पोल्याण्डको टीमले सर्च एण्ड रेस्क्यु टीमले हराएकाहरुको खोजी गरिरहको छ । सडकमा ठूलो संख्यामा पुरिएको र फेला पार्न नसकेको आधारमा उक्त टीम सक्रिय भएको हो । हालसम्म सडकमा चार वटा शव फेला परेका छन् ।
लिपिङ बजारबाट भने प्रहरीले १५ शव फेला पारेको छ । स्थानीय क्लव र प्रहरीको टोलीले दाहसस्कार गरेका छन् । लिपिङ बजारमा भने अझै केही शव फेला पर्न सक्ने अनुमान स्थानीयले गरेका छन् । भोताङ, गुन्सा, बरुवालगायत गाविसमा अझै शव हुन सक्ने अनुमान गरिएको छ ।
राहत सुरक्षामा धौधौ
पीडितको नाममा लुटपाट बढेपछि प्रहरीलाई राहात सुरक्षामा चुनौती थपिएको छ । गाउँ—गाउँबाट अरनिको र हेलम्बु राजमार्गमा राहात माग्दै दैनिक सयौंको भीड जम्मा हुने थालेको छ ।
त्यो बाटामै लुटिएपछि राहत ल्याउने समूहरुले सुरक्षा खोज्न थालेका छन् । ‘घुमथाङका लागि ल्याइएको राहात बाह्रविसे—तातोपानी खण्डको जम्बुमा पुर्याएपछि लुटिन खोज्यो । हामीले सम्झाईवुझाई पठायौं,’ स्थानीय कुमार अधिकारीले भने, ‘चालकको साँचो खोसेर लुट्न खोजेपछि वल्लतल्ल जोगायौं ।’
भोटेकोसी आयोजनाले ल्याएको तीन ट्रक राहात सामाग्री बाह्रविसेको खोर्सानीबारीमा लुट्न खोजियो । छोपेको त्रिपाल झिकेर चामलको वोरा झिक्न खोजेपछि प्रहरी तैनाथ गरिएको थियो । गाउँबाट झरेका महिलाहरुले आफूहरुले राहत नपाएको भन्दै एक थान पाल दिए पुग्ने वताएका थिए । बाह्रविसेमा दिनभर राहत वितरणमै तनाव सिर्जना भयो । राती अवेरसम्म चरिकोट लैजान लागेको सामग्रीको सुरक्षाका लागि प्रहरी परिचालन गरियो ।
पश्चिम क्षेत्रको भोटेचौरमा राहत बाँड्दा बाँडेदै लुटिएको छ । प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार उनीहरुविरुद्ध मुद्धा चलाइएको छ । ‘जति सुरक्षाको कुरा गरियो, त्यस्तो छैन,’ उनले भने, ‘राहत ल्याउनुअघि खबर गर्नुपर्यो ।’
सदरमुकाममा जिल्लाको राहत र उद्धार कार्यक्रम संयोजन गरिरहका सहसचिव वसन्तराज गौतमका अनुसार आफूखुशी राहत वितरण गर्न खोज्दा यस्ता समस्या बढेका हुन् । ‘सरकारी संयन्त्रमा आउनुपर्छ । सुरक्षाको कमी हुँदैन,’ उनले भने ।
राहत पुऱ्याउन सबैभन्दा समस्या विकट क्षेत्रमा परेको छ । यसबाट जिल्लाका मध्य र पश्चिम भेक बढी प्रभावित छन् । यातायात सेवा नभएका र छरिएका बस्तीहरुमा यो समस्या बढी छ ।
सहसचिव गौतमले राहत सामाग्रीको अभावभन्दा वितरण प्रणालीमा समस्या देखिएको बताए । पूर्वी क्षेत्रका लिस्ती, घोर्थली, पिस्कर, तातोपानी, मार्मिन, घुमथाङलगायत गाविसका माथिल्ला भेकमा ढुवानी समस्या छ । पश्चिम क्षेत्रका भोताङ, गुन्सा, बरुवा, बासखर्कलगायत गाविसको समस्या उस्तै छ । मध्य क्षेत्रका पाङताङ, हगाम, गोल्चे, गुम्बालगायत गाविस समस्याग्रस्त छन् । ‘ती गाविसका सवै ठाउँमा राहत नपुगेको होइन,’ गौतमको दाबी छ, ‘केही बस्तीमा ढुवानी व्यवस्थापन सहज बनाउने प्रयास भैरहेको छ ।’
जिल्लामा आइतबार राहतका २७ वटा गाडी भित्रेको प्रहरीले जनाएको छ । तीन दिनमा जिल्लाका पूर्वी भेकका ३० गाविसमा दुई हजारभन्दा बढी वोरा चामल वितरण भैसकेको दाबी गरिएको छ ।
मध्यभोटेकोसी विद्युत आयोजनाले प्रभावित पाँच गाविसमा सात सय ५० वोरा चामल, एक हजार पाँच किलो दाल तथा सोही परिमाणमा नुन वितरण गरेको छ । साउदी अरेविया नेपाली कमिटीद्धारा घुमथाङ गाविसलाई एक सय ८० वोरा चामल, १४ वोरा दाललगायत सामान आएको छ ।
स्थानीय विकास अधिकारी युवराज कटेलका अनुसार विकट क्षेत्रमा राहात पुर्याउन बराम्ची, मेलम्ची र बाह्रविसलाई केन्द्रविन्दु बनाईएको छ । सडक पुग्ने स्थानमा धमाधम राहात सामाग्री लैजान थालेको उनको दाबी छ ।
यसैगरी प्लान इन्टरनेशनलले जिल्लाका मध्य भेकका पाँच गाविसको राहात वितरणको जिम्मेवारी लिने सहमति गरको छ । उसले भोटसिपा, भीमटार, सिपापोखरे, नवलपुरलगायत गाविसमा पुऱ्याउनेछ ।
मध्य क्षेत्रमा राहात वितरण गर्न बराम्चीको ढाँडेमा केन्द्र स्थापना गरिने भएको छ । त्यसबाट उत्तरी भेकका हिमाली गाउँ गोल्चे, गुम्बा, पाङताङ, हगालगायतलाई सहज हुने उद्धार समितिको दावी छ । त्यहाँका लिदी, तेम्बाथानलगायत स्थानमा हेलिकोपटरबाट राहात लैजाने तयारी भैरहेको छ । हेलम्बु क्षेत्रका मेलम्चीघ्याङ र तार्केघ्याङमा ठूलो हेलिकोप्टरबाट राहात लैजाने जानकारी जिल्ला उद्धार समितिले दिएको छ । राहतका लागि बजार आउने अधिकांशले ओत लाग्न त्रिपाल माग्ने गरेका छन् ।
तातोपानी मार्ग खुलाउने प्रयास
सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय निजी संघसस्थको सहयोगमा बाह्रविसे–तातोपानी खण्ड सकड जोड्ने प्रयास भैरहेको छ । दुई दिनअघि सुरु भएको पहिरो पन्छाउने अभियान जारी रहेको पूर्वी क्षेत्रका राहत तथा उद्धार संयोजक स्थानीय विकास मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिए ।
बाह्रविसेबाट चट्टान पन्छाउँदै डोजर डाकलाङ पुगेको छ । तातोपानीबाट स्थानीयवासीले सुख्खाबन्दरगाहको डोजर प्रयोग गरेर सडक सफा गरिरहेको जानकारी भैरवकुण्ड युवा क्लवका अध्यक्ष कुमार श्रेष्ठले दिए । कोदारी र बाह्रविसे दुवै तर्फबाट डोजर लगाउन सुरु गरिएको छ । तातोपानीका युवाले भने आफैं डोजर चलाएका छन् । सवै भन्दा बढी क्षति भएको अपठेरो झ्याले भीरको पहिरो डोजरले पन्छाईसकेको छ ।
मंगलबार साँझसम्म कोदारीसम्म यातायात सञ्चालन हुने सम्भावना छ । यसले जिल्लाको सीमा क्षेत्रमा राहत पुर्याउन सहयोग पुग्ने छ । कोदारीबाट मितेरी पुल जान भने करिव दुई किमी सडक पन्छाउनु पर्ने छ । मितेरी पुल र तातोपानी भन्सार हाता लिपिङ बजारमा ठूलो पहिरो आएकाले त्यहाँसम्म यातायात सञ्चालन गर्न भने केही दिन कुर्नुपर्ने जानकारी सडकले दिएको छ ।
मितेरी पुल नजिकै लिपिङ बजारको पहिरो हटाउन सीमा क्षेत्रका नेपाली र चिनियाँ अधिकारीबीच मंगलबार मितेरी पुलमा छलफल भएको छ । छलफलमा सहभागी अधिकारीका अनुसार चिनियाँ क्षेत्रमा पनि भुकम्पले क्षति पुर्याएकाले उनीहरु आफ्नै उद्धारमा लागेका छन् ।
खासा क्षेत्रमा भुकम्पका कारण पहिरो गएको र केहीको मृत्यु भएको छ । ‘उनीहरुले सघाउने भनेका छन्,’ ती अधिकारीले भने, ‘केही दिनमा काम सुरु हुन्छ । राहात वितराणका लागि सामान ढुवानी गर्न जिल्लाका सडकहरु सञ्चालनमा ल्याइएको छ ।’
जलविरे, कात्तिके, नवलपुर, पिस्कर, तातोपानी, लिसंखु, तौथली, जेठल, भोटेचौरलगायत गाविसमा यातायात सञ्चालन भैसकेको छ । पिस्करवासीले आफैंले सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छन् ।
यसैबीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सिन्धुपाल्चोकका भीमटार, वासवारी, थकनी, भोटेचौरलगायत गाविस पुगेर पीडितलाई भेटेका छन् । उनले आफूले सिन्धुपाल्चोकवासीको पीडा सदनमा उठाउने जानकारी दिएकाे अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
