२१ कात्तिक २०८३, शनिवार

ऋण तिर्ने समय सार्दै राष्ट्रबैंक

२०७२ वैशाख २१, सोमबार
ऋण तिर्ने समय सार्दै राष्ट्रबैंक

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्ने समय पछाडि सार्ने तयारी गरेको छ। भूकम्पको कारण क्षतिग्रस्त भएका व्यवसाय तथा पसलले लिएको ऋणको ब्याज तथा किस्ता तोकिएको समयमा तिर्न नसक्ने देखिएका कारण राष्ट्र बैंकले किस्ता तिर्ने मिति पछाडि सार्न लागेको हो।
राष्ट्र बैंकले भूकम्पका कारण क्षतिग्रस्त भएर ऋण तिर्न नसक्ने व्यवसायीलाई सहज बनाउने गरी नीति लिनका लागि छलफल सुरु गरेको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले कर्जाको किस्ता तथा ब्याज उठाउने समयलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा बैंकरसँग छलफल चलिरहेको जानकारी दिए। ‘हामीले पहिलो चरणमा बैंक तथा वित्तीय संस्थासँग क्षति पुगेका ऋणीहरूको विवरण मागेका छौं’, उनले भने, ‘विवरण आएपछि कस्तो खालको सुविधा दिने भन्नेमा निर्णय गर्नेछौं।’
नेपाल राष्ट्र बैंकले कर्जाको नियमित ब्याज तथा किस्ता नतिर्ने कर्जामा सूक्ष्म निगरानीमा राख्नुपर्ने व्यवस्था गरेको छ। भूकम्पका कारण व्यावसायिक कारोवार एक सातादेखि ठप्प भएको छ भने केही स्थानमा व्यवसायमा पनि क्षति पुगेको छ।
भूकम्पका कारण आर्थिक क्रियाकलाप ठप्प भएका कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सुरु गर्नेले तोकिएको समयमा ऋणको किस्ता ब्याज तिर्न सक्ने अवस्था छैन। ठूला सपिङ मल भूकम्पका कारण क्षतिग्रस्त भएका कारण त्यहाँ व्यवसाय सञ्चालन गर्ने अवस्था छैन।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाले नोक्सानीको व्यवस्थाको लागि छुट्याउनुपर्ने रकममा सहुलियत दिनुपर्ने बताए।
‘भूकम्प प्रभावित क्षेत्रमा ऋण लिएर सुरु गरेका ऋणीले नियमित रूपमा किस्ता तिर्न सक्ने अवस्था छैन’, उनले भने, ‘राष्ट्र बैंकको नियमअनुसार नियमित रूपमा ब्याज र किस्ता नआउने ऋणमा प्रोभिजन गर्नुपर्छ। यसमा सहुलियत भएमा भूकम्पबाट पीडित भएका ऋणीले सहुलियत पाउँछन्।’
राष्ट्र बैंकले ऋणीलाई सहुलियत दिनका लागि बैंक तथा वित्तीय संस्थालाई भूकम्पबाट प्रत्यक्ष पीडित भएका र प्रभावित भएका ऋ णीको ऋण रकमको सहितको विवरण पेस गर्न भनेको छ।
‘बैंक तथा वित्तीय संस्थाका कार्यालय के कति प्रभावित भएका छन्, त्यसको विवरण पनि केन्द्रीय बैंकले मागेको छ। यस्तै ऋणीको धितो के कस्तो अवस्थामा रहेको छ। त्यसको विवरण पेस गनुपर्ने छ’, राष्ट्र बैंकले भनेको छ।
‘भूकम्पबाट प्रभावित भएका ऋणीको संख्या र ऋण रकम प्राप्त भएपछि मात्र कस्तो सहुलियत दिने भन्नेमा निर्णय गर्न सकिन्छ’, श्रेष्ठले भने, ‘क्षति भएकाले सहुलियत पनि पाऊन् र यसको दुरुपयोग नहोस् भन्ने गरी निर्णय गर्नेछौं।’
एक महिनासम्म एटिएममा शुल्क नलाग्ने
एउटा बैंकले जारी गरेको एटिएम अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा कुनै शुल्क नलाग्ने भएको छ। नेपाल बैंक र्स संघका उपाध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नेपालमा जारी गरिएको एटिएमबाट पैसा निकाल्दा कुनै शुल्क नलाग्ने बताए।
नयाँ गरिएको व्यवस्थाअनुसार एससिटी कार्ड प्रयोगकर्ताले भिसा कार्ड जारी गर्ने बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिन प्रयोग गर्दा कुनै शुल्क लाग्ने छैन। भूकम्पका कारण सम्पूर्ण स्थानमा एटिएम मेसिन सञ्चालन नआएका कारण पैसा निकाल्न राहत दिन एटिएममा कुनै शुल्क नलाग्ने निर्णय गरिएको शाहले बताए।
शनिबारको भूकम्पका कारण गत साताभर प्रभावित भएका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय भने सञ्चालनमा आउन थालेका छन्। भूकम्पका कारण प्रत्यक्ष प्रभावित भएका शाखा कार्यालयबाट अधिकांश शाखा सञ्चालनमा आएकाे अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।

अभिलेख

लोकप्रिय