२१ कात्तिक २०८३, शनिवार

'भारतीय सहयोगमा शंका नगर्नोस्'

२०७२ वैशाख २०, आईतवार
'भारतीय सहयोगमा शंका नगर्नोस्'

रणजीत राय, भारतीय राजदूत

विनाशकारी भूकम्पको समयमा भारतले अन्य कुनै कुरा नसोची एउटा दायरामा बसेर सीधा सहयोगी हात मात्र अघि बढाएको छ । यस्तो अवस्थामा एक छिमेकले अर्कोलाई गर्नसक्ने सबै सहयोग गर्छ । यसमा शंका गर्न मिल्दैन । त्यो हाम्रो कामबाट देखिएको हुनुपर्ने हो । नेपाली सेनासँगको सहकार्यमा हामीले धेरै काम गरेका छौं । उद्धारमा खटिएका छौं । भारतबाट उच्च तहका सफल टोलीहरू पनि आएका छन् । भारतले तत्काल उद्धार, बस्ने व्यवस्था र खानेकुरा उपलब्ध गराउने देखि घाइतेको उपचारमा समेत खटिएको छ । उद्धारमा एक हजारभन्दा बढी भारतीय जनशक्ति खटिएको छ । यहाँ दूतावासमा रहेकाहरू पनि सक्रिय रूपमा उद्धारकार्यमा लागेका छन् ।

चौबीसै घण्टा उद्धार र राहतमा लागेका छौं । हामीले को नेपाली को भारतीय भनेर सहयोग गरेका छैनौं । सबैलाई एक स्थानमा राखेर सहयोगी भावनाले काम गरेका छौं ।

केन्द्रीय सरकारले मात्र होइन प्रान्तीय सरकारले पनि सहयोग गरिरहेको अवस्था छ । आज मात्र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीबाट एक लाख तथा त्रिपाल काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको छ ।

यसमा नेपाल सरकारको तदारुकता पनि उत्तिकै छ । सरकारले आफ्नो तर्फबाट गर्न सक्ने सबै उपाय अवलम्बन गरेको छ । नेपाली सेनाको सक्रियताको जति प्रशंसा गरे पनि पुग्दैन । सरकारले आएका सामान भन्सार छुटाउन र व्यवस्थापनमा देखाएको तत्परता प्रशंसनीय छ । कसैले सोच्दै नसोचेको घटना भएपछि त्यो समाधानमा केही अलमल हुनु स्वभाविक हो । यसलाई आलोचनाको पाटो बनाउन हुन्न । अहिले काठमाडौंमा विदेश मन्त्रालयका जेएस नर्थ अभय ठाकुरको नेतृत्वमा व्यवस्थापन कार्य भइरहेको छ ।

दूतावास उत्तिकै सक्रिय रूपमा लागेको छ । दूतावासले अन्य सबै कामहरू रोकेर राहत, उद्धारमा लागेको अवस्था हो । सरकारको संयोजनमा जतिसक्दो धेरै स्थानमा हामी पुगेका छौं ।

भारतले नेपालमा कुनै राजनीति गर्न चाहँदैन र भएको पनि छैन । यस्तो समयमा यस्ता विषय बाहिर आउँदा काम गर्नेहरूको हौसलामा आँच आउने हुनाले यस्ता अफवाह बाहिर नआए राम्रो हुन्छ । यदि कतै चित्त नबुझेको अवस्थामा सीधा भन्दा वा सूचनालाई एकपटक भेरिफाइ गर्नसमेत आग्रह गर्छु । यस्तो अवस्थामा शंका गरेर जुधेर विरोध गरेर बस्ने होइन कतै न कतै उद्धार राहतमा लाग्ने हो ।

भारत मात्र होइन अन्य मित्र मुलुकले समेत नेपाललाई सहयोग गरिरहेका छन् । यसको संयोजन कम चुनौतीपूर्ण भने छैन । तर, पनि सरकारले यसमा सफलता नै पाएको मान्नुपर्छ । अहिलेको अवस्था पुन:स्थापनाभन्दा पनि तत्काल राहत र उद्धार नै हो । अब बिस्तारै पुन:स्थापनामा जाने हो । त्यसका लागि पनि भारतले सघाउनेमा दुईमत छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीबाटै यति धेरै चासोका साथ यहाँ कुनै कमी– कमजोरी नहोस् भन्दै सहयोग गर्न आग्रह गरेका छन् । व्यक्तिगत तर्फबाट पनि भारतको सहयोगहरू आइरहेको अवस्था छ । यसबाट पनि हाम्रो दुईपक्षीय सम्बन्ध उजागर हुन्छ । ट्रमा सेन्टरले पूर्ण रूपमा सेवा दिएको छ । त्यसका लागि भारतबाट विशिष्ट ३१ चिकित्सक त्यहाँ रहेका छन् । त्यसको साथै अस्थायी रूपमा अन्य दुई स्थानमा मेडिकल सेन्टर राखेर काम गरेका छौं । सबै उत्तिकै सक्रिय छन् । नेपाल सरकारले आफूले चाहेको जति माग्न सक्छ । राहत हामीसँग उपलब्ध भएजति दिइरहेका छाैं । सबै प्रभावित क्षेत्रमा हाम्रो उद्धार टोली पुगेका छन् । हिमालयन बेसक्याम्पदेखि अन्य क्षेत्रसम्म पुगेका छन् । विशिष्ट टोलीले काम गरेका छन् । उद्धार सहयोगमा आएका सबैसँग धैर्य राखेर सहानुभूति दिएर काम अघि बढाउन आवश्यक छ । यहाँ धेरै मानिस अहिले पालमा बसेकाले स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा सबैको ध्यान जान पनि आवश्यक छ । महामारी फैलिनबाट पनि बचाउन आवश्यक छ । त्यसमा सबै सजक हुनुपर्छ । मानवीयतामा राजनीतिकरण गर्न हुँदैन ।

– अाजकाे कान्तिपुर दैनिकबाट

अभिलेख

लोकप्रिय