२१ कात्तिक २०८३, शनिवार

म्हेपी सहकारीमा व्यापक अनियमितता

२०७२ वैशाख ११, शुक्रबार
म्हेपी सहकारीमा व्यापक अनियमितता

काठमाडौं । म्हेपी बचत तथा ऋण सहकारी संस्था लि.ले कुनै विधिसम्मत प्रक्रिया नपु¥याई कर्जा मिनाहाको नाममा व्यापक आर्थिक अनियमितता गरेको पाइएको छ । कर्जा मिनाहाजस्तो संवेदनशील विषयमा संस्थामा औपचारिक छलफल नै नराखी संस्थाका सञ्चालक समितिले  उक्त निर्णयलाई निर्णयपुस्तिकामा समावेश गरी डिभिजन सहकारी कार्यालयमा समेत बुझाएको भेटिएपछि संस्थाको आर्थिक अनियमितता बाहिर आएको हो ।  उक्त सहकारी संस्थाको १८औँ वार्षिक साधारणसभामा कर्जा मिनाहाजस्तो संवेदनशील र महत्वपूर्ण विषयलाई औपचाारिक छलफलमा नराखिएको तर निर्णयपुस्तिकामा समावेश गरी सञ्चालक समिति र साधारणसभाका प्रतिनिधिहरुको मिलेमतोमा सो निर्णयलाई प्रमाणित डिभिजन सहकारी कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको भेटिएको छ । संस्थासम्बद्ध स्रोतका अनुसार उक्त निर्णय गर्दा संस्थामा औपचारिक छलफलसमेत भएको थिएन । तर सञ्चालक समिति एवम् संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठलगायतले संस्थामा कुनै छलफल नै नचलाई उक्त निर्णय गरेको स्रोतले उल्लेख गरेको छ ।
गत मंसिर १३ गते शनिबार नेफ्स्कुनका महासचिव परितोष पौडेलको प्रमुख आतिथ्यमा बसेकोे भनिएको संस्थाको उक्त १८औँ वार्षिक साधारणसभाको निर्णयपुस्तिकामा छलफलका प्रस्तावमध्येको विविध बुँदाअन्तर्गतको (क)मा कर्जाको ब्याज मिनाहा सम्बन्धमा छलफलबाट पारित निर्णयहरु भन्दै संस्थाका सदस्यहरुलाई कर्जा मिनाहा गरिएको उल्लेख गरिएको छ । उक्त निर्णयपुस्तिकाअनुसार कर्जा मिनाहा शीर्षकअन्तर्गत मिना प्रधानको कर्जा ब्याज दुई लाख, न्यु बालाजुको १० लाख १८ हजार दुई सय ३६ र निरजमान श्रेष्ठको नामको दुई लाख २३ हजार चार सय २७ रुपैयाँ कर्जा मिनाहा गरिएको छ ।
यस्तै संस्थामा कुनै औपचारिक छलफल नै नगरी संस्थाका अध्यक्ष श्रेष्ठ र सञ्चालक समितिका केही व्यक्तिहरुको मिलेमतोमा विभिन्न सदस्यहरुलाई १४ लाख ४१ हजार छ सय ६३ रुपैयाँ मिनाहा दिने गरी सञ्चालक समितिले गरेको निर्णय साधारणसभाले समेत अनुमोदन गरेको पाइएको छ । संस्थासम्बद्ध स्रोतका अनुसार संस्थाका अध्यक्ष श्रेष्ठको सुनियोजित मनपरीतन्त्रको चरम अवस्था रहेको भन्दै कर्जा ब्याज दुई लाख रुपैयाँ मिनाहा पाउने व्यक्ति मिना प्रधान अध्यक्ष श्रेष्ठको आफ्नै कान्छो भाइबुहारी हुन् । यस्तै स्रोतका अनुसार कर्जा मिनाहा पाउनेमध्ये न्यु बालाजु अध्यक्ष श्रेष्ठको भाइको जमानीको आधारमा ऋण लगानी भएको बुझिएको छ । साथै ऋण मिनाहा पाउने मिना प्रधानले करिब पाँच वर्षअघि नै लिएको कर्जा चुक्ता गरी संस्थामा धितो रहेको अचल सम्पत्ति त्यतिखेर नै फुकुवा गरिसकेको बुझिएको छ ।
यस्तै करिब दुई वर्षअघि मात्र न्यु बालाजुका प्रोप्राइटर कैलाश खड्काले तिर्नुपर्ने सावाँ र ब्याज सबै बुझाई संस्थाले रोक्का राखेको आफ्नो अचल सम्पत्ति फुकुवा गरेकोमा हाल आएर १० लाख १८ हजार दुई सय ३६ रुपैयाँ कर्जा मिनाहा देखाउनु अध्यक्षले सञ्चालक समिति, लेखा समिति र साधारणसभामा निर्णय प्रमाणित गर्ने सञ्चालक कृष्णमान प्रधान र सेयर सदस्य रविन्द्रराज शर्मा समेतको मिलेमतोमा व्यापक भ्रष्टाचार हुनसक्ने देखिएको छ । यससम्बन्धमा सहकारी विभागले सम्बन्धित संस्थाबाट सम्बद्ध कागजात पत्र मगाई छानबिन गर्नुपर्नेमा जोड दिइएको छ ।
संस्थाको मूल निर्देशिका विनियममा ऋण लिने सदस्यको भवितव्य परी निधन भएमा संस्थाको स्थिति हेरी बाँकी ऋण र ब्याज राहतस्वरुप विभिन्न समिति समेतको संयुक्त बैठकले निर्णय गरी मात्र कर्जा मिनाहा गर्न सकिने प्रावधान रहे पनि संस्थाका अध्यक्ष श्रेष्ठले त्यसको उल्लंघन गरी आफन्तलाई मात्रै यो सुविधा दिएको स्रोतको दाबी छ । यस्तै अध्यक्ष श्रेष्ठले आफ्नो आफन्तलाई यस प्रकारको सहकारी सिद्धान्त, मूल्य, मान्यताको र संस्थाको नियमसमेत उल्लंघन गरेको पाइएको छ ।  यस्तै संस्थासम्बद्ध स्रोतले भन्यो, ‘संस्थाका अध्यक्षले मनपरी गरिरहने अनि सो संस्थाको सघन अनुगमन गर्ने सहकारी विभागचाहिँ मूकदर्शक भएर बसेको अवस्थामा संस्थामा कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने सम्भावना देखिएको छ ।’ स्रोतका अनुसार यस सम्बन्धमा नियामक निकाय सहकारी विभागले कागजपत्र मगाई छानबिन गरेमा उक्त सहकारी संस्थाको वास्तविक सत्यतथ्य बाहिर आउने  देखिएको अार्थिक दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय