२१ कात्तिक २०८३, शनिवार

सहकारीको सहयोगमा १० हजार महिला आयआर्जन गर्दै

२०७२ वैशाख ९, बुधबार
सहकारीको सहयोगमा १० हजार महिला आयआर्जन गर्दै

महेन्द्रनगर । कञ्चनपुर जिल्लाभरि कार्यक्षेत्र रहेको उदयदेव बहुद्देश्यीय सहकारी संस्थाले ६ वर्षको अवधिमा १० हजार महिलालाई बिनाधितो ऋण दिएर आयआर्जनका कार्यक्रममा संलग्न गराएको छ । सहकारीबाट बिनाधितो ऋण लिएर उद्यमी बनेका न्यून आयस्तर भएका महिला अहिले पनि आयआर्जनका कार्यमा संलग्न छन् ।

ग्रामीण लघुवित्त विकास केन्द्रको सहयोगमा कञ्चनपुरमा सञ्चालित लघुवित्त कार्यक्रम प्रभावकारी भइरहेको उदयदेवका प्रबन्ध सञ्चालक गणेशबहादुर चन्दले बताए । उनका अनुसार ६ वर्षको अवधिमा ५३ करोड ५२ लाख १५ हजार ९ सय २० रुपैयाँ ऋण लगानी भएकोमा ४० करोड २ लाख ५८ हजार २ सय ४१ रुपैयाँ असुली भइसकेको छ । “सहकारीबाट हाल १३ करोड ४९ लाख ५७ हजार ६ सय ७९ रुपैयाँ लगानीकै अवस्थामा छ,” उनले भने, “१२ जना महिलाले लिएको १ लाख ८० हजार ४ सय रुपैयाँ ऋणको भाखा नाघेको छ तर यो पनि असुली हुने प्रक्रियामा छ ।”

सहकारीले लघुवित्त कार्यक्रमअन्तर्गत न्यून आयस्तर भएका महिलालाई पशुपालन, बेमौसमी तरकारीखेती, कृषि, अगरबत्ती उद्योग, मौनबत्ती उद्योग, खुद्रा पसल, सिलाइकटाइ पसल सञ्चालन गर्न ऋण लगानी गर्ने गरेको छ । न्यून आयस्तर भएका महिलाले ५ जनाको समूह बनाएपछि सहकारीले पहिलो चरणमा प्रतिव्यक्ति ४० हजार रुपैयाँसम्म ऋण लगानी गर्ने गरेको प्रबन्ध सञ्चालक चन्दले बताए ।

उनका अनुसार दोस्रो चरणदेखि सहकारी १ लाख रुपैयाँसम्म ऋण लगानी गरिरहेको छ । “लघुवित्त कार्यक्रममा महिलाले मात्रै संलग्न हुन पाउँछन्,” चन्दले भने, “महिलाले वार्षिक १० प्रतिशत ब्याजमा ऋण पाएर १ वर्षभित्र ऋण चुक्ता गर्नुपर्ने हुन्छ ।”

महिला उद्यमीको लगनशीलताले कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको चन्दले बताए । उनका अनुसार जिल्लाभरिका १ हजार ९ सय ६५ समूहमा सहकारीले लगानी गरेको छ । “चालू आवको फागुनसम्म लघुवित्त कार्यक्रममा १ हजार ६ सय १ महिला थपिएका छन्,” चन्दले भने, “४ करोड २१ लाख ५७ हजार २ सय २५ रुपैयाँ लगानी गरिएको छ ।” ऋणीले मासिक किस्तामार्फत ऋण चुक्ता गर्ने प्रक्रिया छ । ग्रामीण क्षेत्रका महिलालाई लक्षित गरेर सहकारीले ५ वटा सेवा केन्द्रमार्फत लघुबित्त कार्यक्रम सञ्चालन गरिरहेको छ । बेलौरी, दैजी, झलारी, दोधारा–चाँदनी र महेन्द्रनगरमा सहकारीका सेवा केन्द्र छन् ।

लघुवित्त कार्यक्रममा संलग्न महिला सुत्केरी हुँदा २ बच्चासम्म सहकारीले ५–५ सय रुपैयाँ सहयोगसमेत दिने गरेको छ । “लघुवित्त कार्यक्रममार्फत राम्रो आयआर्जन गरेका महिलालाई सहकारीले बिनाधितो घर निर्माण मर्मत कर्जासमेत दिने गरेको छ,” प्रबन्ध सञ्चालक चन्दले भने, “३ वर्षदेखि महिलालाई यस्तो कर्जा प्रवाह हुँदै आएको छ ।’

लघुवित्त कार्यक्रमले महिलामा उद्यमशीलता र मेहनत गर्ने बानीको विकास भएको चन्दले बताए । उनका अनुसार महिलाहरूले श्रम परिचालन गरेर आयआर्जन गरिरहेका छन् । “सहकारीले उत्प्रेरणामात्रै प्रदान गरेको हो । श्रम खर्चेर प्रतिफल लिने महिलाले नै हो,” चन्दले भने, “महिला आर्थिक रूपमा सशक्त हुन थालेका छन् ।”

– काराेबार दैनिक

अभिलेख

लोकप्रिय