२१ कात्तिक २०८३, शनिवार

कमजोर कानुन बनाउन सहकारी अगुवमकै हात, फसिने डरले मन्त्रालयलाई ‘कन्भिन्स’ गराइयो

२०७२ वैशाख ६, आईतवार
कमजोर कानुन बनाउन सहकारी अगुवमकै हात, फसिने डरले मन्त्रालयलाई ‘कन्भिन्स’ गराइयो

काजी श्रेष्ठ / काठमाडौं । सहकारीका नाममा राजनीति गर्नेहरू भविष्यमा आफ्नो बचाउका लागि सहकारीको ऐननियम नै कमजोर बनाउने अभियानमा लागेका छन् । सहकारी राजनीतिबाट अकूत फाइदा उठाउनेले सहकारीको काननु नै फितलो बनाउन पहल गरेका हुन् ।

सहकारीको नेतृत्वमा रहेका केही नेता आफैँले ‘गलत फाइदा’ उठाएकाले भविष्यमा आइलाग्ने कानुनी कारबाही कम भोग्नुपरोस् भन्ने नियतले कानुन कमजोर बनाउन लागेको रहस्य खुलेको हो । सहकारीका नाममा बदनियत राख्नेको योजनामा कानुन मन्त्रालयसमेत सहयोगी बनेको स्रोतको दाबी छ ।

सहकारी नियमन, व्यवस्थापन र चुस्त बनाउन सहकारी तथा गरिबी निवारण मन्त्रालयले केही समयअघि सहकारी ऐन संशोधनको मस्यौदा तयार गरी कानुन मन्त्रालयमा पेश गरेको थियो । सहकारी क्षेत्रमा ठगी गर्नेलाई बिगोसहित प्रकृति हेरेर २० वर्षसम्मको जेल सजायको व्यवस्था मस्यौदामा गरिएको थियो ।

सोही मस्यौदालाई कानुन मन्त्रालयले सदर गर्ने योजना बनाए पनि सहकारीका केही नेता तथा अगुवाको दबाब र प्रभावमा कानुन फितलो बनाइएको स्रोतले बताएको छ । स्रोतका अनुसार कमजोर कानुन बनाउन केही पैसावाला सहकारीकर्मीसमेत लागेका थिए ।

सहकारी मन्त्रालयले पेस गरेको मस्यौदा हेरफेर गर्दै बढीमा ७ वर्षको सजाय मात्रै हुने गरी सरकारले कानुन अध्यादेशमार्फत जारी गरेको छ । अध्यादेश आइतबार राष्ट्रपति रामवरण यादवले स्वीकृत गरेका हुन् । बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानबिन गर्न गठित जाँचबुझ आयोग–०७० ले दिएको सुझावका आधारमा ऐन संशोधन गरिएको कानुन मन्त्रालयमा केही समयअघि पेस भएको थियो ।

‘हामीले प्रकृति हेरी २० वर्षसम्मको जेल सजायको व्यवस्थासहित मस्यौदा कानुन मन्त्रालयमा पेस गरेका हौँ,’ सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानले भने, ‘कानुन मन्त्रालयबाटै संशोधन भई ७ वर्षसम्मको व्यवस्था भएर आएको छ ।’

संशोधनमा केही सहकारीकर्मीले विरोधसमेत गरेको उनले बताए । संस्थाका सञ्चालकले जति रकम बदमासी वा ठगी गरेका छन्, सोही रकमबराबरको बिगो तिर्नुपर्ने व्यवस्था कानुनमा रहेको उनले बताए ।
हाल आएको कानुनी व्यवस्थाको पनि केही सहकारीकर्मीले विरोध गरेका छन् ।

सहकारी स्वनियमन संस्था भएकाले कानुन आवश्यक नहुनेसमेत सहकारीकर्मी बताउँछन् । सहकारी ऐन–०४८ मा गल्ती गर्ने सहकारीलाई अधिकतम १ हजार ५ सय रूपैयाँ जरिवाना गर्ने कानुनी व्यवस्था छ । ठगी गर्ने सञ्चालकलाई ठगी मुद्दामा कारबाही गर्नसक्ने व्यवस्था छ । यसको मौका छोपी सहकारी माफियाले सजिलै उन्मुक्ति पाउँदै आएका थिए ।

सहकारी जाँचबुझ आयोगले सहकारीमा देखिएको समस्या र विकृति नियन्त्रण गर्न कडा कानुन बनाउन सरकारलाई सुझाव दिएको थियो । सुझावका आधारमा बनाइएको ऐन संशोधन कानुन मन्त्रालयबाट थपघट भएर आएको हो । आयोगले सहकारी ऐन, ऋण असुली न्यायाधीकरण, सहकारी नियमावलीको मस्यौदासमेत बनाएर सरकारलाई बुझाएको थियो ।

जाँचबुझ आयोग–०७० को प्रतिवेदनअनुसार देशभर १ सय ३० सहकारी संस्था समस्याग्रस्त छन् । सहकारी पीडित हुनेमा १० हजार पाँच सयभन्दा बढी सर्वसाधारण छन् । सर्वसाधारणको १० अर्ब ८७ लाख ८४ हजार ९१ रुपैयाँ फसेको छ ।

सहकारीमा ठगी गर्ने व्यक्तिलाई न्यायाधीकरणमा मुद्दा चलाउनेसम्मको कानुन आवश्यक रहेको जानकारहरू बताउँछन् । हरेक क्षेत्रमा कडाभन्दा कडा कानुन आवश्यक हुन्छ ता कि त्यस्ता गल्ती गर्ने मनसाय कहिल्यै कसैमा नपलाओस् ।

सहकारी विभागका रजिस्ट्रारका साथै डिभिजन सहकारी कार्यालयका अधिकृतलाई समेत कानुनी रूपमा अधिकार सम्पन्न बनाउनुपर्ने माग छ ।

न्यायको आस

काठमाडौं । अध्यादेशमार्फत ऐन संशोधन भएर आएसँगै सहकारी पीडितले न्याय पाउने भएका छन् । संशोधन भएर आएको ऐनमा समस्याग्रस्त सहकारीबाट सर्वसाधारणको रकम फिर्ता गराउन अधिकारसम्पन्न समिति बनाउने सक्ने प्रस्ताव गरिएको सहसचिव प्रधानले बताए ।

‘पीडित सर्वसाधारणलाई न्याय दिन अध्यादेशमार्फत ऐन ल्याइएको हो ।’ प्रधानले भने, ‘अब समिति गठन गर्न हामी मन्त्रिपरिषद्मा नामावली पठाउँछौँ । समिति गठन भएपछि पीडितलाई न्याय दिलाउने काम सुरु हुन्छ ।’ समिति गठन भएपछि त्यसले समस्याग्रस्त सहकारीको सम्पत्ति छानबिन, लिलामी प्रक्रिया अगाडि बढाउनेछ । ऐन संशोधन राजपत्रमा प्रकाशित हुनेबित्तिकै सम्पत्ति व्यवस्थापन समिति गठन गर्ने मन्त्रालयको योजना छ ।

समितिले समस्याग्रस्त बनेका सहकारीका सञ्चालक र कर्मचारीको पनि छानबिन गर्ने छ । यसैबाट सर्वसाधारणको बचत फिर्ता गरिने प्रधानले बताए । संस्थाको सम्पत्तिबाट रकम तिर्न नपुगे सञ्चालकको सम्पत्तिबाट समेत रकम फिर्ता गराउने काम समितिले गर्नेछ ।

अभिलेख

लोकप्रिय