२१ कात्तिक २०८३, शनिवार

करोड कमाउँदै सहकारी, मुहार फेर्दै ‘रूपा’ ताल

२०७२ वैशाख ४, शुक्रबार
करोड कमाउँदै सहकारी, मुहार फेर्दै ‘रूपा’ ताल

काजी श्रेष्ठ / पोखरा । कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित मानोरम ‘रूपा’ ताल माछा पालनको गतिलो स्थान बनेको छ । २०५८ सालदेखि माछापालन थालिएको रूपा तालमा गत वर्ष मात्रै ७० लाखको माछा उत्पादन भएको छ भने यस वर्ष करोडको माछा उत्पादन हुने अनुमान गरिएको छ । पोखरा उपत्यकामा रहेको नौवटा तालमध्ये तेस्रो स्थानमा रहेको रूपा ताल प्रचुर जैविक विविधता र विविध पारिस्थितिकीय प्रणालीले यो क्षेत्र महत्वपूर्ण स्थानमा पर्छ ।

पर्यटनको प्रचुर सम्भावना भए पनि रूपा ताल पोखराका अन्य फेवा, वेगनासताल जस्तो आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परिसकेको छैन । राज्यले राष्ट्रिय प्राकृतिक सम्पदाहरूको संरक्षण तथा सम्वद्र्धन गर्ने नीति लिए पनि व्यवहारमा लागू हुन नसकेको अवस्थामा तालको संरक्षण तथा सम्वद्र्धनका लागि स्थापना भएको सहकारी उदाहरणी बनेको छ । राजनीतिक अस्थिरता तथा खिचातानीका कारण राष्ट्रिय सम्पदाहरूको संरक्षणमा सरकार र सरोकारवालाको ध्यान नपुगे पनि रूपा ताल संरक्षण गर्न स्थानीय स्तरबाट सहकारी गठन भएपछि तालले मुहार फरिएको छ । २०५८ साल चैत १ गते स्थापना भएको रूपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारीले रूपातालको संरक्षण र प्रवद्र्धनका साथै आयमूलक कार्यक्रमसमेत सञ्चालन गरेको हो ।

देशभरका तालतलैयाको संरक्षण र प्रवद्र्धनका लागि ताल संरक्षण तथा विकास समितिहरू गठन गरिए पनि तिनीहरूले गतिलो काम गरेको उदाहरण कमै पाइन्छ । तर, रूपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाले त्यसै खेर गइरहेको सम्पदाको संरक्षण मात्रै गरेको छैन स्थानीय जीवनमा समेत आर्थिक परिवर्तन ल्याएको छ ।

सहकारी स्थापना हुनुअघिको रूपाताल र अहिलेको रूपा तालको अनुहारै फेरिएको छ । मुलुककै शान बनेको फेवातालको लगभग २२ सय रोपनी क्षेत्रफल अतिक्रमणको शिकार बनेको छ । फेवातालको जग्गा व्यक्तिको नाममा दर्ता गरी भोगचलन गर्दा पनि सरकार मौन छ । तर, रूपा तालमा यो रोगको संक्रमण हुने सम्भावना सधैंका लागि बन्द भएको छ । सहकारीमार्फत तालको सम्बद्र्धन, संरक्षण र पुनर्निर्माणको काम सँगै भइरहेको छ । माछापलान गरेर सहकारीले माछापालन गरिरहेको छ ।

प्राकृतिक कारणले रूपा ताल वर्षेनी पुरिँदै गएको छ । त्यसबाट बताउन सहकारी दिनरात खटिएको छ । रूपाकोट गाविसको सीमानाभित्र पर्ने रूपाताल सेतो कमल पाइने क्षेत्रका रूपमा चर्चित छ । यसलाई जोगाउन पनि सहकारीले योजना बनाएको सहकारीका संस्थापक अध्यक्ष लेखनाथ ढकालले बताए ।

रूपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्था स्थापना गरी तालको संरक्षण गर्न थालेपछि पर्यटकको आकर्षण समेत बढेको छ । यसले तालको संरक्षण समेत जोगाएको आगन्तुकहरू बताउँछन् । ३६ जना किसानले प्रतिव्यक्ति पाँच हजार शेयर राखेर सहकारी गठन भएको संस्थामा हाल ७ सय ५१ जना सदस्य पुगेका छन् ।

‘विभिन्न राजनीतिक दल, सरोकारवाला निकाय र स्थानीयको संयुक्त पहलमा सहकारी गठन गरेर तालको संरक्षण र प्रवद्र्धनमा लागेका हौं’ संस्थाका सचिव शिवराज अधिकारीले भने, ‘त्यो बेला हामीले सक्रीयता नदेखाएको भए यो अवस्थामा रूपाताल देख्न पाइँदैन थियो ।’ सहकारीले उदाहरणीय काम गर्दै गएपछि स्थानीयको आकर्षण बढ्दै गएको । पछिल्लो दुई वर्षको अवधिमा मात्रै तीन सय ६० जना स्थानीय बासिन्दा सहकारीको सदस्य बनेको उनले जानकारी दिए ।
‘सरकारले तालको संरक्षण तथा सञ्चालनमा ध्यान नदिएपछि सहकारी गठन गरेर गरेका हौं,’ सहकारीका संस्थापक अध्यक्ष लेखनाथ ढकालले भने, ‘ठेकेदारले तालको जिम्मा लिन खोजेका थिए हामीले दिएनौं । स्थानीय सबैको सक्रियता हुनेगरी सहकारी बनायौं, तालको संरक्षणमा जुट्यौं ।’ सुरुमा व्यवस्थापन गर्न समस्या भए पनि अहिले रूपाताल सबैको आकर्षणको केन्द्र बनेको उनले बताए । रूपताल सहकारीमा १५ सय घरधुरी जोडिएका छन् र त्यसबाट लाभ लिइरहेका छन् ।

सहकारीले १६ जना स्थानीयलाई रोजगारी दिएको छ । त्यसमध्ये १३ जना स्थायी कर्मचारी छन् । हालसम्म संस्थाले सदस्यलाई साढे चार करोड मुनाफा बाँडिसकेको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्र्तगत जलाधार संरक्षणभित्र रहेका १९ सामुदायिक वन समूहलाई वार्षिक चार हजारका दरले अनुदान दिँदै आएको छ । त्यस्तै २१ विद्यालयलाई दुई हजारका दरले अनुदान दिँदै आएको छ । ताल वरपर रहेका विद्यालयका गरिब तथा जेहेन्दार ५२ जना बाबालिकालाई वार्षिक ५ सयका दरले क्षात्रवृत्ति प्रदान गर्दै आएको छ । ताल संरक्षका लागि तीनवटा आमा समूहलाई ५० हजारका दरले सहयोग गरिएको छ ।

करोडको माछा
सहकारीको मुख्य आम्दानीको स्रोत माछापालन हो । रूपातालमा सहकारीले विभिन्न प्रजातिका माछा पालेर मनग्य आम्दानी गरिरहेको छ । गत वर्ष ७० लाखको माछा बेचेको संस्थाका व्यवस्थापक सूर्यबहादुर थापाले जानकारी दिए । यस वर्ष करोडको माछा उत्पादन हुने उनको भनाइ छ । रूपातालबाट हाल २५ हजार केजीभन्दा बढी माछा उत्पादन भइरहेका छन् ।

सहकारीलाई थप आत्मनिर्भर बनाउनका लागि भुरा उत्पादन गर्न थालिएको छ । भूरा उत्पादन गर्न ७ रोपनी क्षेत्रफल छुट्याइएको छ । त्यहाँबाट ६ लाख भूरा उत्पादन हुने उपेक्षा गरीएको उनले बताए । तालमा बाम, ढंगेबान, गर्दी लगायत स्थानीय जातका माछा पालिएका छन् । उक्त सहकारीले दैनिक डेढ सयदेखि १२ सयसम्म माछा बिक्री गर्ने गरेको जनाएको छ । सहकारीसँग माछा मार्ने प्रविधि नहुँदा समस्या भएको उनले बताए ।

सहकारीले तालको निकासमा चार सय २५ मिटर जाली लगाई माछा पाल्दै आएको छ । हाल तालमा दैनिक औषत १४५ केजी माछा उत्पादन गर्दै आएको छ । उत्पादन भएको माछा किन्न पोखराका व्यापारी तालमै आउँछन् । माछा बिक्रीबाट भएको आम्दानीको रकम मध्ये ताल संरक्षणका लागि छुट्याएर बाँकी रकम सम्पूर्ण सदस्यका लागि आयमूलक कार्यक्रम (बाख्रा पालन, मौरीपालन) आदी संचालनका लागि ८ प्रतिशत ब्याजमा कर्जा दिने गरिएको छ । जसले स्थानीय बासिन्दाको आर्थिकस्तरमा राम्रो प्रभाव पारेको स्थानीय मनकला पाण्डेले बताइन् ।

जीवजन्तु र वनस्पतिको सम्भावना
पोखरा उपत्यकामा रहेको अन्य तालको तुलनामा रूपातालमा धेरै प्रजातिका माछा, स्तनधानी जन्तु र चरा पाइन्छन् । प्रारम्भिक अध्ययनमा यस ताल र जलधार क्षेत्रमा चार सय ५० जातिका जीवजन्तु र वनस्पति पाइन्छ । यस तालमा २४ प्रजातिका माछा, ३६ प्रजातिका चरा, ३ प्रजातिका सरीसृप, ११ प्रजातिका स्तनधारी जन्तुहरू पाइन्छ । यी सबैको संरक्षण सहकारीले गर्दै आएको छ । सरकारी तथा निजी प्रयासहरू भन्दा सहकारीले गरेका यस्ता कार्य स्वागतयोग्य हुनुका साथै प्रभावकारी देखिएको छ ।

संरक्षणात्मक कार्यक्रम
रूपातालको संरक्षण र दिगो विकास गर्ने उद्देश्यले सहकारीबाट भू–संरक्षणको अभियान सञ्चालन गरिएको छ । विभिन्न संघसंस्थासँग सहकार्य गरी समुदायमा आधारित रूपाताल सिमसार व्यवस्थापन परियोजना सञ्चालनमा छ । त्यसले यसको जलाधार क्षेत्रमा वृक्षरोपण घाँसे हार प्रविधि, आयमूलक खेती, खोला किनारको संरक्षण तथा किनारमा बाँध लगाउन माथिल्लो निकायमा सूचना पु¥याई हाल नापनक्सांकनको कामसमेत गरिरहेको छ ।
सीबीआर कार्यक्रमअन्तर्गत जैविक विविधता संरक्षण र अभिलेखीकरण, अनुसन्धानर बजारीकरण तथा रूपाताल वरपर रहेका सेतो कमल, सिमलकाँडे, नाभोजस्तो लोपन्मुख जातहरूलाई बजारसम्म लगिएको छ । स्थानीय तथा पाहुना चराहरूलाई बासस्थानको सुरक्षा दिइएको अध्यक्ष पाण्डेले बताए । स्थानीय बाम, सहर तालका माछाको प्रजनन क्षेत्र संरक्षण गरी नयाँ भुरा राख्ने कामलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

तालको संरक्षण र अतिक्रमण हुन नदिनका लागि स्थानीय स्तरण जनचेतनामूलक कार्यक्रम सञ्चालन, जलकुम्भी हटाउने कार्यलाई निरन्तरता, तालको जलधार क्षेत्रभित्र रहेका १७ सामुदायिक वन समुहलाई अनुदान, १९ विद्यालयलाई अनुदान र ताल वरपर रहेका विद्यालयका गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

पर्यटन प्रवद्र्धनमा सहकारी
ली वर्ड, आईयूसीएन, वर्ड विजनलगायतका संघसंस्थाको सहकार्यक्रमा सूचना तथा स्रोत केन्द्रलाई व्यवस्थित बनाइएको छ । तालमा रहेका अनावश्यक झार हटाइसको र पटलाहरू निर्माण गरी पर्यटकलाई ताल घुम्ने व्यवस्था गरिएको छ । साँघुरो भागमा ड्रम डुंगा निर्माण गरी पर्यटकलाई ताल वारपार गर्ने व्यवस्थासमेत सहकारीले गर्दै आएको अाजकाे साैर्य दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय