२१ कात्तिक २०८३, शनिवार

अख्तियारलाई भारतले दियो ३५ सवारी साधन

२०७२ वैशाख ३, बिहिबार
अख्तियारलाई भारतले दियो ३५ सवारी साधन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भारत सरकारले ३५ सवारी साधन प्रदान गरेको छ । आयोगको मुख्यालयमा भएको एक कार्यक्रममा भारतीय राजदूत रणजीत रायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ती गाडी हस्तान्तरण गरेका हुन् । ३५ सवारी साधनमा ५ वटा सेडन कार, १५ वटा डबल डोर पीकअप क्याब र १५ वटा फोर ह्वील डा«इभ एसयूभी जीप रहेका छन् । सो गाडीहरुको मुल्य रु ३३.१२ मिलियन रहेको दुतावासले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भारतले प्रदान गरेको सहयोगले आयोगको भौतिक क्षमता अभिवृद्धि गरी भ्रष्टाचार निवारणको उद्धेश्यलाई टेवा दिने अपेक्षा गरिएको छ । सो अवसरमा आयोग प्रमुख कार्कीले भारत सरकारको तर्फबाट प्रदान गरिएको उक्त सहयोगका लागि धन्यवाद व्यक्त गरे । नेपालको समग्र विकासमा पारदर्शीता र असल शासनको महत्वमा जोड दिदै भारतीय राजदूतले आफ्नो सम्बोधनमा सिङ्गो समाजले नै उन्नति र प्रगतिको बाधक भ्रष्टाचारको महामारी उन्मुलनमा हातेमालो गर्नुपर्ने बताए ।

Indianembassyktm3
२०१३ मा सम्पन्न निर्वाचनको लागि भारतले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगलाई ९४३.१७ मिलीयन मुल्यका ८४६ वटा सवारीसाधनहरु उपहारस्वरुप प्रदान गरेको थियो । विगतका वर्षहरुमा थुप्रै माइक्रो तथा मिनी बसहरु, मोटरसाइकल, स्कुटर, कार आदि सवारी साधन समेत भारत सरकारले उपहारस्वरुप प्रदान गरेको थियो । भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा सन १९९४ देखि भारत सरकारले एम्बुलेन्स तथा बसहरुसमेत उपहार प्रदान गर्दै आएको छ । भारत सरकारले हालसम्म नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरुलाई ४६२ वटा एम्बुलेन्सहरु उपहार प्रदान गरिसकेको छ ।

भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत नेपालका लगभग सबै जिल्लाहरुलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ५०२ भन्दा धेरै परियोजनाहरुको लागत ने.रु. ७५०० करोडभन्दा बढी रहेको छ । यी विकास परियोजनाहरु स्थानीय आवश्यकताअनुरुप नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएका छन् ।

सहयोगस्वरुप प्राप्त गाडीहरु धनकुटा, हेटौँडा, पोखरा, सुर्खेत, दीपायलमा रहेको क्षेत्रीय कार्यालय र इटहरी, बर्दिवास, कोहलपुर, बुटवल र कञ्चनपुरका सम्पर्क कार्यालयलाई प्रयोगका लागि दिइने आयोगका प्रवक्ता वेगेन्द्रराज पौड्यालले जानकारी दिए ।

अभिलेख

लोकप्रिय