२१ कात्तिक २०८३, शनिवार

ठूला सहकारीलाई सदस्य व्यवस्थापनमा समस्या

२०७१ चैत २६, बिहिबार
ठूला सहकारीलाई सदस्य व्यवस्थापनमा समस्या

काभ्रे । सहकारीहरूको स्थापनासँगै सदस्यता वृद्धि गर्ने क्रम चलिरहँदा धेरै सदस्य भएका सहकारीले साधारणसभामा सबै सदस्यको ब्यवस्थापन गर्न समस्या हुँदै गएपछि प्रतिनिधिमुलक सभाको तयारी गरेका छन् ।
समुदायमै आधारित सहकारीलाई यस्तो समस्या भए पनि कोठामा परिवारबाटै सञ्चालन भएका सहकारीले भने सभाका नाममा लाखांै रकम अनियमितता गर्ने र सभा सम्पन्न भएको जानकारी गराउने गर्न थालेका छन् । सहकारी कार्यालयको नियमित अनुगमन हुन नसक्दा सहकारीमा भित्रिएका नयाँ विकृतिले सहकारीप्रति हेर्ने दृष्टिकोणमा विस्तारै परिवतर्न आउन थालेको छ ।
धेरै सदस्यको उपस्थितिलाई व्यवस्थापन र साधारणसभा गर्न समस्या हुँदै गएपछि केही सहकारीले गत वर्षदेखि नै प्रतिनिधिमुलक साधारणसभा गर्न लागेका थिए । यो वर्ष अरू दुई सहकारीले प्रतिनिधिमुलक साधारणसभा गर्न लागेका छन् । डिभिजन सहकारी कार्यालयका अनुसार जिल्लाको विन्धवासिनीले गत वर्षदेखि नै क्षेत्र गत रूपमा प्रतिनिधिमुलक साधारण सभा गर्दै आएको थियो । १५ हजारभन्दा धेरै सदस्य भएको उक्त सहकारीले जिल्लामा एकैपटक साधारणसभा गर्न सम्भव नभएपछि गत वर्षदेखि नै १० सदस्य बराबर एक प्रतिनिधि चयन गर्दै क्षेत्रगत रूपमा साधारणसभा गर्दै आएको छ ।
त्यस्तै बनेपाको चण्डेश्वरी सहकारीले पनि गत वर्षदेखि नै प्रतिनिधिमुलक साधारणसभा गर्दै आएको सहकारी कार्यालयले जानकारी दिएको छ । उक्त सहकारीमा पनि १० हजारभन्दा धेरै सदस्यहरू आवद्ध छन् । यो वर्षदेखि बनेपाको बुडोल सामुदायिक र पनौतीको पनौती सामुदायिकले प्रतिनिधिमुलक साधारणसभाको लागि अनुमति लिएका छन् । नियमत एक हजारभन्दा धेरै सेयर सदस्य हुने सहकारीले प्रतिनिधिमुलक साधारणसभा गर्न पाउने व्यवस्था गरिएको छ।
जिल्लामा एक हजारभन्दा धेरै सहकारी कृयाशील भएपछि संकट पनि निम्तिदै गएको छ । सदस्यको डुब्लिकेसनका कारण संकट थपिँदै गएको सहकारीका सञ्चालकहरूले बताएका छन् । सहकारीमा सञ्चालक बन्न पनि एकभन्दा धेरै सहकारीमा नपाउने व्यवस्था गरे पनि शहरी क्षेत्रका सहकारीमा अझै एकभन्दा धेरै सहकारीमा एउटै व्यक्ति सञ्चालक बन्ने गरेको पाइएको छ। अझ सरकारी पद धारण गरेको व्यक्ति सहकारीको अध्यक्ष हुन नपाउने भए पनि शिक्षक तथा अन्य पदमा कार्यरत व्यक्तिहरू सहकारीको अध्यक्ष बन्ने गरेको पाइएको छ।
धेरै सहकारीले साधारणसभा नै नगर्ने, गरेको भए पनि डिभिजन सहकारी कार्यालयलाई जानकारी नगराउने, केही सहकारीले सीमित सेयर सदस्यलाई मात्रै सेयर वितरण गर्ने जस्ता समस्या हुन थालेको कार्यालयले जानकारी दिएको छ ।
स्रोत ः वर्तमान सहकारी मासिक

अभिलेख

लोकप्रिय