२१ कात्तिक २०८३, शनिवार

यसरी मनाइयो बारामा सहकारी दिवस

२०७१ चैत २०, शुक्रबार
यसरी मनाइयो बारामा सहकारी दिवस

बारा । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार बाराको कलैयामा जिल्लाभरका सहकारीकर्मीहरुले वृहत वृहत र्याली र सभा आयोजना गरेका छन् । ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने मूलनारासहित डिभिजन सहकारी कार्यालयबाट आफ्नो व्यानर र पहिचानसहित निस्किएको हजारौं सहकारीकर्मीहरुले बजार परिक्रमा गरी पुनः डिभिजन सहकारीमा आएर सहकारी सभामा परिणत भएको थियो ।

सहकारीसभामा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारी अभियानको सुद्धीकरण र गुणात्मक विकासका लागि सहकारीकर्मीहरु जिम्मेवार हुनुपर्ने बताए । पौडेलले सहकारीहरुलाई मर्ज गर्ने, गुणात्मक विस्तार गर्ने र उत्पादनमा आधारित बनाएर सहकारी अभियानको व्यवस्थापन र विस्तार गर्न सकिने भएकोले सोही अनुरुपको कानूनी र नीतिगत व्यवस्थामा जिम्मेवार बन्न सम्वद्ध पक्षहरुसंग मांग गरे ।

कार्यक्रममा पूर्वमन्त्री एवम् दलित बहुद्धेश्यीय सहकारीका अध्यक्ष कलावती पासवानले जिल्लामा सुशासन र पारदर्शिता हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै त्यसका लागि सम्वद्ध निकायहरु जिम्मेवार हुनुपर्ने बताए ।

डिजिन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेलको अध्यक्षतामा सम्पन्न सभामा साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, जिल्ला मत्स्य उत्पादक सहकारी संघका अध्यक्ष सत्तेन्द्र ठाकुर, महिला तथा वालवालिका कार्यालयका प्रमुख निरुलक्ष्मी श्रेष्ठ, जिल्ला कृषि विकास कार्यालयका रामदयाल ठाकुर, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख निरज अर्याल, नेपाल पत्रकार महासंघ बाराका सदस्य पुष्पराज खतिवडा, पालनपोषण साकोसका सुरेन्द्र कुशवाहालगायतले आफ्नो मन्तव्य राखेका थिए ।

सहकारी सभामा यस वर्षको उत्कृष्ट सहकारी संस्थाको रुपमा सिमरा महिला बचत तथा ऋण सहकारी संस्थालाई सम्मानित गरिएको छ । त्यसैगरी उत्कृष्ट सहकारी सञ्चालकहरु बरदान बचत तथा ऋण सहकारी संस्थाका मदन चौरसिया र सहकारी संस्था लिमिटेडका श्यामबाबु शर्मा, साना किसान कृषि सहकारी संस्था ईनर्वासिराका सुशिलादेवी चौधरी, उत्कृष्ट कर्मचारी गोपाल खपांगीलाई सम्मानित गरिएको छ ।

अभिलेख

लोकप्रिय