२१ कात्तिक २०८३, शनिवार

बखानले मनायो ५८औं वार्षिकोत्सव, सहकारी सङ्ग्रहालय बनाउन माग

२०७१ चैत २०, शुक्रबार
बखानले मनायो ५८औं वार्षिकोत्सव, सहकारी सङ्ग्रहालय बनाउन माग

चितवन । नेपालकै पहिलो सहकारी संस्था हो चितवनको पश्चिम क्षेत्र शारदानगरमा पर्ने बखान बहुद्देश्यीय सहकारी संस्था ।
स्थानीय बखानसिंह गुरुङको नेतृत्वमा यहाँ पहिलो सहकारी खुलेको थियो । साठी जना सदस्य मिलेर १०/१० उठाइ ६०० जम्मा गरेर थालनी गरिएको थियो ।
विसं २०१३ चैत २० गते आजैका दिन स्थापना भएको पहिलो सहकारी बखानले अहिले आबद्ध सेयर सदस्यको आम्दानी बढाइ सहकारीको विकासका लागि तोरी खेती कार्यक्रम सञ्चालन गरेको छ । सोही दिनको सम्झनामा आज देशैभरि सहकारी दिवस मनाइँदै छ ।
जिल्ला कृषि विकास कार्यालय चितवनको बीउ अनुदान र प्राविधिक सहयोगमा यहाँ २३ बिगाहामा तोरी खेती सुरु गरेको सहकारीका व्यवस्थापक अर्जुन ढकालले बताए ।
उनका अनुसार पाँच बिगाहा बीउका लागि र १८ बिगाहा क्षेत्र व्यावसायिक तोरी उत्पादनका लागि प्रयोग गरिएको छ ।
किसानले उत्पादन गरेको तोरी बजार मूल्यभन्दा एक रुपैयाँ बढीमा सहभागीले खरिद गर्ने व्यवस्थापक ढकाल बताए ।
सहकारीको अवस्था सुधार गर्न विगत पाँच वर्षदेखि स्वयम्सेविका रूपमा काम गर्दै आउनुभएका उहाँले किसानलाई समेत सक्रिय बनाउँदै आएको छ ।
मिसन तोरी उत्पादन कार्यक्रमअन्तर्गत अहिले यहाँका सेयर सदस्य सक्रिय भएको सहकारीले जनाएको छ । तोरी उत्पादन र शुद्ध तेलका लागि तोरी खेतीमा लगानी गरिएको हो । अहिले सहकारीले दुईवटा तोरी मिलसमेत सञ्चालनमा ल्याएको छ ।
सहकारीले ५८औं वार्षिकोत्सव कार्यक्रम मनाइएको छ । उक्त वार्षिकोत्सवमा सहकारीका संस्थापक कृष्णमान गुरुङ, इन्द्रसिंह गुरुङ र हर्कबहादुर गुरुङलाई समेत सम्मान गरिएको व्यवस्थापक ढकालले बताए ।
सुरुमा ऋणमा डुबेको सहकारी अहिले केही नाफा कमाउनसमेत सफल भएको छ । विसं २०४६ मा आइपुग्दा सहकारीलाई ४० लाख ऋण थियो ।
विसं २०६० मा ऋण चुक्ता गरेको सहकारीले अहिले बचतसमेत गर्न थालेको छ । अहिले बखान सहकारीमा २०५ सेयर सदस्य पुगेका छन् । २८ लाख ७२ हजार सेयर पुँजी पुगेको छ भने ५४ लाख ६४ हजार बचत गर्न सहकारी सफल भएको व्यवस्थापक अर्जुन ढकालले बताए ।
दश कट्ठा जग्गामा सहकारी सञ्चालित छ । अहिले एकै व्यक्ति विभिन्न सहकारीका सदस्य बन्ने गरेकाले सहकारीमा समस्या भइरहेको छ ।
बखान सहकारी नेपालकै पहिलो भएकाले सहकारी सङ्ग्रहालय बनाउन जग्गा खरिद गरेर पहल भइरहेको भए पनि सफल हुन सकेको छैन । यो सहकारीलाई राज्यले ध्यान दिई अस्तित्व जोगाउनुपर्ने स्थानीय बताउँछन् ।
आर्थिक अभाव अर्काे समस्या रहेको बखान सहकारीले जनाएको छ । बखान सहकारीबाट सुरु भएको सहकारी अहिले नेपालमा ३१ हजार बढी भइसकेका छन् । चितवनमा मात्रै ६०० सहकारी छन् ।

अभिलेख

लोकप्रिय