२१ कात्तिक २०८३, शनिवार

तीनखम्बे अर्थनीतिबाट सहकारी हटाउने षड्यन्त्र भइरहेको छ : उप्रेती

२०७१ चैत १४, शनिवार
तीनखम्बे अर्थनीतिबाट सहकारी हटाउने षड्यन्त्र भइरहेको छ : उप्रेती

काठमाण्डू । राष्ट्रिय सहकारी संघका लेखा समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारीमार्फत उत्पादन वृद्वि गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा धापासी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आयोजित ‘सहकारीकर्मीबीच इनडोर खेलकुद तथा नवनिर्वाचित काठमाण्डू जिल्ला संघका पदाधिकरीको सम्मान’ कार्यक्रममा बोल्दै देवकोटाले सहकारीले कृषि उत्पादन वृद्वि गरी देशलाई आत्मननिर्भर बनाउनुपर्नेमा जोड दिए । सहकारीमार्फत रोजगारी सिर्जना, समतामूलक सामाज तथा सामाजिक न्याय निर्माण गर्न र आत्मनिर्भर देशका लागि सहकारी अपरिहार्य भइसकेको धारणा राखे । यस वर्षको सहकारी दिवसको नारालाई सार्थक बनाउन सम्पूर्ण सहकारीकर्मी एक जुट हुनुपर्ने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले अर्थतन्त्रको तीनखम्बेबाट सहकारीलाई हटाउने षड्यन्त्र भइरहेको बताए । ‘सहकारी सबल खम्बाका रुपमा स्थापित गर्न सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ,’ उनले भने ।

सहकारीकर्मीहरु एकबद्व हुन नसके सहकारीका विरोधीले सहकारी क्षेत्र तहसनहस बनाउने बताए । सहकारी व्यवसायिक र उत्पादनशील हुन सके तीनखम्बेमा सबल खम्बाका रुपमा स्थापित हुन सक्ने धारणा उनको थियो । ‘सहकारीमा राजनीतिक विकृति भित्रियो, यसले सहकारीको बदनाम गर्छ’ उनले भने ।

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारीले बचत तथा ऋणमा मात्र केन्द्रित रहे आयात प्रतिस्थापनमा सहकारीको योगदान नपुग्ने बताए । ‘सहकारीका चुनौती र अवसर उत्तिकै छन्, हामीले सहकारीलाई सबल खम्बाका रुपमा स्थापित गर्न उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने छ’ उनले भने ।

धापासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुदर्शन थापाले रोजगार प्रवद्र्वनका लागि संस्थाले छुट्टै उपसमिति गठन गरेको बताए । सहकारी दिवसलाई रचनात्मक तवरले मनाउन खेलकुदको आयोजना गरिएको उनको बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ काठमाण्डूका महासचिव खेमराज सुवेदी, संघका सञ्चालक अमरावती महर्जन, नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कुन)का सञ्चालक रिना आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । दिवसको अवसरमा संस्थाले इनडोर खेलकुद प्रतियोगिता अन्तर्गत बाल्टिनमा पानी भर्ने प्रतियोगिता, म्यूजिकल चियर, चम्चामा कलम राख्ने प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितमा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रमको विभिन्न गतिविधि र विभिन्न अतिथिहरुले राखेका धारणा भिडियोमा हेर्नको लागि केही समय प्रतिक्षा गर्नुहोला ।

अभिलेख

लोकप्रिय