सहकारीमा ३२ करोड बचत थपियो
काठमाडौ । आर्थिक वर्षको आधा समयमा मुलुकभरका सहकारी संस्थामा ३२ करोड रुपैयाँ मात्र बचत थपिएको छ । कारण स्पष्ट नभए पनि बचत थपिने क्रम सामान्यभन्दा करिब आधाले घटेको देखिन्छ । सहकारी विभागको तथ्यांकअनुसार मुलुकभरका सबैखाले सहकारीमा सदस्यको बचत रकम पुस महिनामा १ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यही अवधिमा कर्जा भने बचत वृद्धिको झन्डै साढे ४ सय प्रतिशत बढी देखिएको हो ।
‘बचत करिब ३२ करोड रुपैयाँले बढेको र कर्जा १ अर्ब ७ करोड रुपैयाँले थपिएको देखिन्छ,’ सहकारी विभागका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद घिमिरेले भने । बचतको तुलनामा कर्जा बढ्दै जानुको अर्थ पहिलोदेखि रहेको बचतका साथै सेयर पुँजीको रकमको प्रयोग बढ्नु हुन सक्ने उनले बताए । ‘यो राम्रो लक्षण हो, सहकारीबाट लगानी थपिने क्रममा सुधार देखिन्छ,’ उनले भने ।
विभागको तथ्यांकअनुसार पुस मसान्तसम्म सहकारीबाट लगानी भएको कर्जा १ खर्ब ५५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । मासिक रूपमा हेर्दा कर्जा एक महिनामा ५२ करोड रुपैयाँले बढेको छ । मंसिर महिनासँग तुलना गर्दा बचत भने ६० करोडले घटेको देखिन्छ । कर्जा वृद्धिका कारण बचत घटेको हुन सक्ने विभाग बताउँछ ।
यसका साथै मुलुकभर सहकारी दर्ता गर्ने क्रममा पनि गिरावट आएको तथ्यांकले देखाएको छ । वर्षैपिच्छे बढ्दो क्रममा रहेको सहकारी दर्ता गर्ने क्रम चालू आर्थिक वर्षमा घट्ने संकेत पनि देखिएको छ । आर्थिक वर्षको ६ महिनामा मुलुकभर ६ सय ३९ वटा सहकारी थपिएका छन् । गत वर्ष ८ सयको हाराहारीमा सहकारी आधा वर्षमा थपिएका थिए । ग्रामीण क्षेत्रमा सेवा पुर्याउन प्रोत्साहन गर्न खोजिए पनि सहकारी बढी सहर केन्दि्रत छन् । राजधानीभित्र बचत तथा ऋणको कारोबार गर्ने सहकारी दर्ता बन्द गरिएको छ । ‘सहकारीको संख्या बढ्नु नराम्राे होइन,’ घिमिरले भने, ‘यसले वित्तीय पहुँच र बचतको सम्भावना बढाउँछ ।’ वित्तीयबाहेक अन्य क्षेत्रमा पनि सहकारीले राम्रो काम गर्न सक्ने उनी बताउँछन् । ‘तर गतल काम गर्नेलाई कारबाही गर्ने अधिकार भने हुनुपर्छ,’ उनले भने ।
योसँगै मुलुकभर सहकारीको संख्या ३१ हजार ७ सयको हाराहारी पुगेको छ । जसमा सबैभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सहकारी छन् । समानान्तर बैंकिङ कारोबार गरिरहेका यी सहकारीको संख्या १३ हजार ५ सयको हाराहारीमा छ । त्यस्तै प्रकृतिको कारोबार गर्ने अनुमति पाएको बहुउद्देश्यीय सहकारीको संख्या ४ हजारको हाराहारीमा छ । विभिन्न प्रकारका कृषिमा आधारित १० हजार ९ सय सहकारी मुलुकभर छन् । सेवा र अन्य प्रकारका सहकारीको संख्या २ हजारको हाराहारी छ ।
सहकारी दर्ताका लागि खुलुको प्रावधान भएकाले संख्या बर्सेनि बढ्दै गएको हो । २५ जना जम्मा भएपछि सहकारी दर्ता गरेर सञ्चालन गर्न सकिन्छ । जसले बैंक तथा वित्तीय संस्था जस्तै सेवा दिन सक्ने व्यवस्था छ । सदस्य भत्र मात्र कारोबार गर्नुपर्ने भए पनि केही सहकारीले कानुन मिचेर कार्यक्षेत्र बाहिरसमेत पैसा उठाउने र ऋण दिने काम गर्छन् । नियमन र अनुगम फितलो भएकाले गल्ती गर्नेलाई पनि कारबाही भएको पाइँदैन । कानुनले जस्तोसुकै नियम मिचे पनि १५ सय रुपैयाँसम्म जरिवाना गर्ने अधिकार मात्र दिएको छ ।
सीमित सदस्य र कार्यक्षेत्रभित्र कारोबार गर्नुपर्ने भए पनि सहकारीको कारोबार आकार बैंक वित्तीय संस्थाकै हाराहारी पुग्न लागेको छ । ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने सहकारीकै संख्या करिब २० वटा पुगिसकेको छ । यीमध्ये अधिकांश काठमाडौंभित्रका पर्छन् । काठमाडौंबाहेक धेरै रकमको कारोबार गर्ने सहकारी संस्था कास्कीमा छन् । कास्कीपछि चितवन, झापा, मोरङ, सुनसरी, नवलपरासीलगायत जिल्लामा पनि ठूलो कारोबार भएका सहकारीको संख्या उल्लेख्य छ । मुलुकभरका सबै प्रमुख सहरमा ठूला सहकारीको उपस्थिति छ ।
केही ठूला सहकारीमा समस्या आएपछि सरकारले २०७० मा बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानबिन गर्न जाँचबुझ आयोग पनि गठन गरेको थियो । आयोगले १ सय ३० भन्दा बढी सहकारीले रकम नदिएको भन्दै उजुरी परेको थियो । सबै सहकारी गरेर ९ अर्बभन्दा बढी रकम सर्वसाधारणले फिर्ता पाउन बाँकी देखिएको थियो ।
आयोगले सरकारलाई प्रतिवेदन बुझाएर विभिन्न सुझाव दिएको थियो । तर सर्वसाधारणले रकम फिर्ता पाउन सकेका छैनन् । कारबाहीका लागि कानुनी व्यवस्था नभएकाले नयाँ ऐन बनाएर प्रक्रिया अघि बढाउनुपर्ने सुझाव सरकारलाई दिइएको कान्तिपुर दैनकिमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
