राष्ट्रिय सहकारी बैंकको अधिकांश कर्जामा धितो तथा कागजपत्र नक्कली
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अधिकांश कर्जा नक्कली धितो तथा कागजपत्र गरेर प्रवाह भएको देखिएको छ । राष्ट्र बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन २०७० अनुसार बैंकका सञ्चालक संलग्न सहकारी संस्थामा प्रवाह भएको अधिकांश कर्जामा कागजपत्र नक्कली, धितो कमसल र अत्यधिक मात्रामा कर्जा प्रवाह भएको देखिएको हो ।
राष्ट्र बैंकका उपनिर्देशक चिन्तामणि सिवाकोटी, धनञ्जय शर्मा, मनोहर प्रसाद भट्टराई र धनबहादुर श्रेष्ठसहितको चार सदस्यीय निरीक्षण टोलीले गरेको स्थलगत निरीक्षण प्रतिवेदनअनुसार बैंकले साझा प्रकाशन सहकारी संस्था, नेचुरल सेभिङ एण्ड क्रेडिट, भैरवेश्वर बचत तथा ऋण लगायतका सहकारी संस्थाहरुमा प्रवाह भएको कर्जामा कागजपत्र फरक देखिएको छ । साझा प्रकाशन सहकारी संस्थाको २०६९ फागुन १० गते बसेको सञ्चालक समितिको छ सय ४९औं बैठकमा धितो राख्ने जग्गा ललितपुर उपमहानगरपालिका–३ ‘घ’स्थित कित्ता नम्बर १०७ र १५ को क्षेत्रफल क्रमशः ०–०–१–३ र २–१३–०–० र सो जग्गामा बनेको घर उल्लेख रहेको थियो । उक्त कर्जा प्रकरणमा सहकारी बैंकको चलानी नम्बर ५२२ अनुसार २०६९ फागुन १८ को पत्रअनुुसार मालपोत कार्यालय ललितपुरमा धितो दृष्टिबन्धक पारित गर्ने सन्दर्भमा जग्गाको विवरणमा कित्ता नम्बर १०७ र १५ को क्षेत्रफल ०–१५–३–० र २–१३–०–० उल्लेख भएको स्थलगत प्रतिवेदनमा उल्लेख छ । साथै बैंकको च.नं. कर्जा ५२२ को मिति २०७० वैशाख १८ गतेको पत्रबाट मालपोत कार्यालय ललितपुरमा धितो दृष्टिबन्धक पारित गरी रोक्का राख्ने जग्गाको विवरणमा कित्ता नं. १०७, ११५, १५ को क्षेत्रफल ०–१५–३–०, ०–१–३–० र २–१३–०–० उल्लेख भएकाले एकआपसमा तालमेल नभएको राष्ट्र बैंकले जनाएको छ । साथै रोक्का रहेको कित्ता नम्बर १०७ क्षेत्रफल ०–१५–३–० को सक्कली लालपुर्जा नभएको समेत प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार अघिल्लो कर्जा चुक्ता नगरे पनि कर्जा थप गरी ‘रिभल्बिङ’ प्रकृतिको कर्जामा परिणत गरिएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष रमेश प्रसाद पोखरेलसहितको समूहले नेचुरल सेभिङ एण्ड क्रेडिटलाई सुरुमा किस्ताबन्दीमा दिएको कर्जा धितोको तिरो नतिरेको अवस्थामा पनि पुनः कर्जा थप गरी ‘रिभल्बिङ’ कर्जामा रुपान्तरण गरिएको छ । लामो समयसम्मको लागि एकै पटक धेरै रकम मूल्यांकन गरी हरेक वर्ष धितो मूल्यांकन नगरी कर्जा नवीकरण गरेको समेतको कैफियत बैंकमा देखिएको छ । राष्ट्र बैंकका अनुसार अरुणिमा बहुउद्देश्यीय सहकारी संस्था, नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, भैरवेश्वर बचत तथा ऋण सहकारी संस्था लगायतका संस्थामा बैंकको करोडौँ रुपैयाँ कर्जा दीर्घकालीन प्रकृतिका छन् । ती संस्थाहरुले नियमितरुपमा कर्जाको सावाँ र ब्याज चुक्ता नगरे पनि बैंकले प्र्रत्येक वर्ष कर्जा थप्दै गएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष पोखरेल संलग्न सञ्चालक समितिले कुनै एक शाखाको कर्जा चुक्ता गर्नको लागि अर्को शाखाबाट कर्जा स्वीकृत गर्ने गरेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार धुम्वाराही बचत तथा ऋण सहकारी संस्थाको २०७० वैशाख १५ को सञ्चालक समितिको निर्णय नम्बर–२ मा राष्ट्रिय सहकारी बैंकबाट कर्जा लिँदा ४७ लाख रुपैयाँ कर्जा लिई उक्त कर्जा बानेश्वर शाखाको बाँकी कर्जा भुक्तानी गरिदिने गरी उक्त कर्जा लिने भनी निर्णय भएको थियो । यसैगरी मिति २०७० वैशाख १६ मा पुरानो बाँकी २२ लाख रुपैयाँ चुक्ता गर्ने गरी उक्त संस्थालाई ४५ लाख रुपैयाँ थप कर्जा स्वीकृत भएको थियो । पुरानो कर्जा चुक्ता नगरेको अवस्थामा कर्जा चुक्ता गर्नकै लागि थप कर्जा दिएर बैंक सञ्चालक समितिले बदमासी गरेको प्रतिवेदनमा उल्लेख छ । बैंकले एउटै संस्थालाई चालू पुँजी, किस्ताबन्दी, लघुवित्त लगायतका विभिन्न शीर्षकमा नियमविपरीत करोडौँ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सहकारी संस्थाहरुलाई कर्जा प्रवाह गर्दा विभिन्न जिल्लामा रहेका कमजोर धितोहरु लिएर समेत अत्यधिक मात्रामा कर्जा प्रवाह गरेको छ । जनता बहुउद्देश्यीय सहकारी संस्था, ज्येष्ठ बचत तथा ऋण सहकारी संस्था, नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाहरुमा बैंकले यसप्रकारको कर्जा प्रवाह गरेको र हाल ती कुनै पनि कर्जा उठ्ने अवस्थामा नरहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
भैरवेश्वर बचत तथा ऋण सहकारी संस्थामा वि.सं. २०६९ कात्तिक २ गते एक करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका र उक्त कर्जाबाट बैंकले हालसम्म कुनै पनि किसिमको सावाँ तथा ब्याज समेत प्राप्त नगरेको समेत राष्ट्र बैंकको स्थलगत प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकले ती कर्जा नोक्सानी व्यवस्था रकम छुट्याउन, थप धितो लिने, धितोको मूल्यांकन गर्न र कर्जा प्रवाह गरिरहँदा उच्च जोखिम निम्त्याउन सक्ने हुँदा यसतर्फ ध्यान दिन राष्ट्र बैंकले निर्देशन दिएको थियो । तर हालसम्म पनि बैंक सञ्चालक समितिले उक्त निर्देशन पालना नगरेको राष्ट्र बैंकले जनाएको अार्थिक दैनिकमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
