२१ कात्तिक २०८३, शनिवार

बुढानीलकण्ठ मन्दिरमा मठाधिश भवन निर्माणको लागि २ करोड भन्दा बढी भारतीय सहयोग

२०७१ फागुन १४, बिहिबार
बुढानीलकण्ठ मन्दिरमा मठाधिश भवन निर्माणको लागि २ करोड भन्दा बढी भारतीय सहयोग

काठमाडौं । काठमाण्डौको बुढानीलकण्ठ मन्दिरमा मठाधिश भवन निर्माणको शिलान्यास गरिएको छ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्य र भारतीय राजदूत रणजीत रायले मठाधिश भवन निर्माणको शिलान्यास गरेका हुन ।
बुढानीलकण्ठ मन्दिरमा परियोजना एक समारोहमा उक्त शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । जिल्ला विकास समिति काठमाण्डौद्वारा नारायण क्षेत्र विकास समितिको सल्लाह र सहकार्यमा भारत सरकारको दुई करोड एक लाख ७६ हजार लागतमा उक्त मठाधिश भवन निर्माण हुन लागको हो ।

संसारभरका हिन्दूहरुको लागि काठमाण्डौको बुढानीलकण्ठ मन्दिरको ठूलो धार्मिक र सांस्कृतिक महत्व रहनुको साथै भारत तथा अन्यत्रबाट पर्यटकहरु बाहेक हजारौं तिर्थालुहरु दिनहुँ यस मन्दिरमा आउने गर्दछन् । प्रसिद्ध बुढानीलकण्ठ मन्दिरको धार्मिक र सांस्कृतिक महत्व बाहेक कलाको पनि उत्तिकै प्रशंसा गरिन्छ । बुढानीलकण्ठ मन्दिरको गुरुकुलका विद्यार्थीहरुले पनि मठाधिश भवनको प्रयोग गर्नेछन् । नेपालका प्रचुर सांस्कृतिक तथा ऐतिहासिक धरोहरको संरक्षणको उपादेयता अन्तर्गत सहयोग गरिने उक्त परियोजनाले नेपाल र भारतबीचको घनिष्ठ सम्वन्धको साथै सो को लागि भारतले दर्शाएको महत्वलाई उजागर गर्दछ ।

यसको अतिरिक्त भारत सरकारले २१ करोड ३७ लाखको भारतीय सहयोगमा काठमाण्डौ जिल्लामा अन्य १० परियोजनाहरु सम्पन्न भैसकेका छन् । काठमाण्डौमा ४८ करोड ६७ लाख लागतमा १२ ओटा साना विकास परियोजनाहरु सुचारु हुनुको साथै विभिन्न संस्थाहरुलाई ३८ ओटा एम्वुलेन्स, ३२ ओटा स्कूल बस र ३ ओटा विशेष मेडिकल भ्यान समेत उपहारस्वरुप प्रदान गरिएको छ । यस बाहेक नेपालका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको पुनःनिर्माण र जिर्णोद्धारको लागि भारतले ३० करोड समेत प्रदान गरेको छ ।

नेपालमा बढ्दो विकासकोे महत्वलाई आत्मसात गर्दै सो को लागि सम्भाव्य सम्पूर्ण सहयोग प्रदान गर्न भारत प्रतिवद्ध रहेको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालन हुने परियोजना नेपालका लगभग सबै जिल्लाहरुलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ५०२ भन्दा धेरै परियोजनाहरुको लागत ७५०० करोडभन्दा बढी रहेको जनाएको छ । यी विकास परियोजनाहरु स्थानीय आवश्यकताअनुरुप नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएका छन् ।

अभिलेख

लोकप्रिय