२१ कात्तिक २०८३, शनिवार

१२ वर्षदेखि ६ सहकारी सम्पर्कबाहिर

२०७१ फागुन १२, मङ्गलबार
१२ वर्षदेखि ६ सहकारी सम्पर्कबाहिर

भैरहवा –  १२ वर्षअघि फरार भएका रूपन्देहीका आधा दर्जन सहकारीको अझै पत्तो लागेको छैन । सर्वसाधारणको बचत तथा सेयर रकम, जगेडा कोषलगायत गरी ३ करोडभन्दा बढी लिएर सहकारी भागेको अनुमान गरिएको छ ।

भैरहवाका बुद्ध बचत तथा ऋण सहकारी, सिद्धार्थ बचत तथा ऋण सहकारी, बुटवलको सिद्ध बचत तथा ऋण सहकारी, रोजगारमूलक बहुद्देश्यीय सहकारी, लक्ष्मी बचत तथा ऋण सहकारी, काठमाडौंमा मुख्य कार्यालय रही बुटवलमा शाखा कार्यालय रहेको सूर्योदय सहकारी र बुटवलकै अर्को सहकारी रकमसहित फरार भएका हुन् । जिल्ला डिभिजन सहकारी कार्यालय रूपन्देहीका अनुसार ०५८ मा ती सबै सहकारी भागेका हुन् ।

सबै सहकारी ०५५–५६ सालतिर जिल्ला सहकारी कार्यालयमा दर्ता भएको कार्यालयले जनाएको छ । स्थापनाको २ वर्षसम्म बचत संकलन गरी ती सहकारी फरार भएका हुन् । कारोबार सुरु गरेको पहिलो वर्षको प्रतिवेदन पुस मसान्तसम्म अनिवार्य लेखापरीक्षण गराउनुपर्ने हुन्छ । २ वर्षपछि बचत संकलन गर्न नआएपछि मात्रै बचतकर्ता र सेयरधनीले सहकारीले बचत रकम लिएर सहकारी फरार भएको थाहा पाएर सम्बन्धित निकायमा खबर गरेका थिए ।

फरार सहकारी सम्पर्कमा नभएको डिभिजन सहकारी कार्यालयका सुब्बा चन्द्रकान्त भट्टराईले बताए । “प्रशासन, अदालत सबै ठाउँमा मुद्दा छ,” उनले भने, “कतिपय बचतकर्ताले जग्गा धितो राखेर कर्जा लिएर त्यतिबेलै चुक्ता गरे पनि मालपोत कार्यालयमा हालसम्म रोक्का रहेका जग्गा फुकुवा हुन नसक्दा समस्या भएको छ ।” जग्गा रोक्का फुकुवाका लागि सम्बन्धित सहकारीले मालपोतमा पत्र लेख्नुपर्ने उनले बताए । “सहकारी फरार छन् पत्र लेख्ने कसलाई हो, मालपोतले हामीलाई पत्र लेख्छ, अदालतमा मुद्दा चलेको छ, समस्यै–समस्या छ,” भट्टराईले भने । सहकारीहरू फरार रहे पनि अदालतमा मुद्दा परेकाले खारेजी भएका छ्रैनन् ।

सहकारीको नियमित अनुगमन हुनसके मात्र गलत क्रियाकलाप हुन नपाउने बचत तथा ऋण सहकारी संघ रूपन्देहीका अध्यक्ष कृष्णप्रसाद नेपाल बताउँछन् । जिल्ला सहकारी कार्यालय स्थापना हुँदा २७ वटा सहकारी रहेकामा २३ कर्मचारी थिए भने अहिले ६५५ सहकारी हुँदा कर्मचारी १३ मात्र छन् । न्यून दरबन्दीका कारण पनि नियमित अनुगमनमा समस्या रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा हालसम्म ९२ वटा सहकारी संस्था खारेज भएका छन् । गत वर्षमात्रै २५ सहकारी संस्था खारेजीमा परेका थिए । रूपन्देहीका सहकारीमा १ लाख ३७ हजार ३ सय २५ सेयर सदस्य छन् भने १ अर्ब १६ करोड ५० लाख सेयर पुँजी छ । यहाँका सहकारीले ३ अर्ब ७१ करोड २३ लाख बचत र ६ अर्ब २३ करोड ५४ लाख कर्जा लगानी गरेको कारोबार दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय