२१ कात्तिक २०८३, शनिवार

साउदी फण्डको २ अर्ब ४१ करोड सहयोग, पूर्वाधारका क्षेत्रमा पनि सहयोग बढाउने

२०७१ फागुन १२, मङ्गलबार
साउदी फण्डको २ अर्ब ४१ करोड सहयोग, पूर्वाधारका क्षेत्रमा पनि सहयोग बढाउने

काठमाडौं । अर्थमन्त्री डा. रामशरण महत र साउदी फण्डका उपाध्यक्ष तथा प्रवन्ध निर्देशक युसुफ अल बसामबीच अर्थमन्त्रालयमा भेटघाट भएको छ । भेटघाटमा अर्थमन्त्री डा महतले सरकारले पूर्वाधारको विकासलाई प्राथमिकतामा राखी काम गरिरहेकोले यस क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।

विशेषगरी ग्रामीण सडक, सिंचाई र सडक जस्ता पूर्वाधारका क्षेत्रमा साउदी सहयोगले ठूलो महत्व राख्ने उनको भनाई थियो । विकासका दृष्टिले नेपाल निकै पछि रहेको र पूर्वाधारका खास क्षेत्रमा सहयोग गरेमा नेपालको विकास अभियानमा ठूलो सहयोग हुने महतको भनाइ थियो ।

साउदी फण्डले नेपालको कृषिक्षेत्रलाई सहयोग पुग्नेगरी सिंचाई परियोजनामा सहयोग गरेकोमा आभार व्यक्त गरे । साउदी फण्डले बाँके जिल्लामा सञ्चालित दुन्दुवा सिंचाई परियोजनाका लागि २ अर्ब ४१ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ । सो सहयोग सम्झौतामा अर्थसचिव सुमनप्रसाद शर्मा र साउदी फण्डका उपाध्यक्ष तथा प्रवन्ध निर्देशक बसामले मंगलबार हस्ताक्षर गरे । उक्त सम्झौतामा हस्ताक्षर गर्न साउदी फण्डका उपाध्यक्ष बसामको नेतृत्वमा एक प्रतिनिधिमण्डल हालै नेपाल आएको छ ।

सो अवसरमा साउदी फण्डका उपाध्यक्ष बसामले पूर्वाधारका क्षेत्रमा सहयोग गर्न सकिने भएकोले आकर्षक र आवश्यक परियोजना प्रस्ताव गर्न आग्रह गरे । विगतमा साउदी फण्डको सहयोगमा सञ्चालित परियोजनाहरु सफल रहेको अनुभव सुनाउँदै आगामी दिनमा सहयोगको संभावना बढेको धारणा व्यक्त गरे । उनले आगामी दिनमा कृषि विकासका लागि सहयोग बढाउने संभावना रहेको बताए । भेटघाटमा अर्थसचिव शर्मा, सहसचिव बैकुण्ठ अर्याल तथा अर्थमन्त्रालयका अधिकारीहरु र साउदी प्रतिनिधिमण्डलका सदस्यहरुको उपस्थिति रहेको थियो ।

अभिलेख

लोकप्रिय