२१ कात्तिक २०८३, शनिवार

अर्बपति चौधरी विश्वका १३०६ औं धनी

२०७१ माघ २८, बुधबार
अर्बपति चौधरी विश्वका १३०६ औं धनी

न्युयोर्क – नेपाली व्यवसायी विनोदकुमार चौधरीको सम्पत्ति एकै वर्ष करिब २० अर्ब रुपैयाँ बढेको छ । अमेरिकी म्याग्जिन ‘फोब्र्स’ले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०१४ मा उनको सम्पत्ति २० करोड अमेरिकी डलर (करिब २० अर्ब रुपैयाँ) थपिएको छ । यससँगै विश्वका धनीको सूचीमा उल्लेख्य फड्को मारी उनी १३०६ औं स्थानमा आइपुगेका छन् । चौधरीले गत वर्षको तुलनामा १५९ धनीलाई पछि पारेका छन् ।

अर्बपतिको सूचीमा २ वर्षदेखि निरन्तर रहेका चौधरी नेपालबाट उक्त सूचीमा पर्ने पहिलो र एकमात्र व्यवसायी हुन् । ‘फोब्र्स’का अनुसार उनको कुल सम्पत्तिको मूल्यांकन १ अर्ब ३० करोड अमेरिकी डलर (करिब १ खर्ब ३० अर्ब रुपैयाँ) पुगेको छ । नेपालमा उनको लगानी नबिल बैंक, वाईवाई चाउचाउसहित एलजी, सीजी, ट्रेडिङ व्यवसाय तथा कन्स्ट्रक्सन कम्पनी हिमाल हाइड्रोलगायतमा छ । त्यस्तै, विभिन्न खाद्यवस्तुका उद्योग, सिमेन्ट, हाइड्रोपावर र होटल तथा केही कलेज÷स्कुलमा पनि उनको लगानी छ ।

५९ वर्षीय चौधरीको व्यवसाय नेपालमा मात्रै सीमित छैन । एसियाका विभिन्न मुलुकका होटलमा पनि उनको हिस्सा छ । ताज ग्रुपसँगको सहकार्यमा उनले आफ्नो व्यवसायमा चामत्कारिक विस्तार गरेका छन् । वाईवाई ब्रान्ड हाल भारतमा पनि उत्तिकै लोकप्रिय छ । हालसालै उनले युगान्डाको मुकवानो ग्रुपसँग संयुक्त लगानीमा युगान्डा, रुवान्डा र बुरुन्डीमा होटल निर्माण पनि गरिरहेका छन् । गत वर्ष एसटीएम टेलिकम खरिद गरेपछि उनको सम्पत्ति स्रोतमा पनि विविधीकरण आएको छ ।

‘फोब्र्स’का अनुसार कहिले पनि कलेज नगएका चौधरी ४ दशकअघि परिवारकै टेक्सटायल कारोबारको व्यवसायमा आबद्ध भएका थिए । उनका ३ छोरा निर्वाण, राहुल र बरुणले उनलाई व्यवसायमा साथ दिँदै आएका छन् । उनी पहिलो संविधानसभामा नेकपा एमालेका तर्फबाट सभासद्समेत थिए ।

२६८ अर्बपति थपिए
विश्वका अर्बपतिको संख्या यो वर्ष उत्साहजनक रूपमा बढेको छ । ‘फोब्र्स’ले यो वर्ष १,६४५ अर्बपति रहेको र उनीहरूको कुल सम्पत्ति ६४ खर्ब अमेरिकी डलर रहेको जनाएको छ । यो अघिल्लो वर्षको ५४ खर्ब डलरको तुलनामा १० खर्ब डलरले बढी हो । यो वर्ष २६८ अर्बपति थपिएका छन् । यसमा ४२ नयाँ महिला पनि समावेश छन् । योसहित महिला अर्बपतिको संख्या १७२ पुगेको छ । गत वर्ष १३८ थिए ।

अर्बपतिको पहिलो स्थानमा ४ वर्षपछि बिल गेट्स पुनः फर्किएका छन् । ४ वर्षसम्म विश्वकै धनी कहलिएका मेक्सिकोका दूरसञ्चार व्यवसायी कार्लोस स्लिम हेलुबाट उनले यो उपाधि पुनः फर्काउन सफल भएका हुन् । गत वर्ष गेट्सको सम्पत्तिमा ९ अर्ब अमेरिकी डलर थपिएको छ । हाल उनको कुल सम्पत्ति ७८ अर्ब डलर छ । २० वर्ष अवधिमा १५ वर्षसम्म गेट्स ‘फोब्र्स’को धनी सूचीमा अग्रणी थिए ।

सेयर बजारका बादशाह मानिने वारेन बफेट ७३.२ अर्ब डलर सम्पत्तिसहित दोस्रो स्थानमा छन् । गत वर्षसम्म पहिलो स्थानमा रहेका मेक्सिकोका स्लिम यो वर्ष तेस्रोमा झरेका छन् । उनको कुल सम्पत्ति  ७०.९ अर्ब डलर छ । त्यस्तै, विश्वका १० उत्कृष्ट धनाढ्यमा ६ अमेरिकी छन् ।

– कारोबार दैनिक

अभिलेख

लोकप्रिय