२१ कात्तिक २०८३, शनिवार

तीनदिने माछा महोत्सव आरम्भ

२०७१ माघ १६, शुक्रबार
तीनदिने माछा महोत्सव आरम्भ

काठमाडौं । मत्स्यपालनको विकास समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ  राजधानीमा दोश्रो राष्ट्रिय मत्स्य महोत्सव सुरु भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा सुरु महोत्वसको उद्घाटन गर्दै राष्टिय योजना आयोगका सदस्य डा. भारतेन्द्र मिश्रले जलस्रोतमा धनी मुलुक नेपालमा माछापालन व्यवसायको भविश्य उज्वल रहेको बताए । नेपालको मत्स्य व्यवसाय हालको अवस्थासम्म आइपुग्नुमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । अन्य व्यवसायको तुलनामा कम जनशक्तिबाटै वढीभन्दा बढी फाइदा लिन सकिने माछापालन व्यवसायतर्फ पछिल्लो समय आकर्षण बढिरहेको पनि उनले बताए ।


उनले माछापालनको विकास र विस्तारका लागि आवश्यक कार्यक्रमसहितको प्रस्ताव लिएर आए योजना आयोग  व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताए । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) का कार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङले सरकारबाट पर्याप्त  सहयोग हुन नसकेकाले अपेक्षाअनुसार माछापालन व्यवसायले गति लिन नसकेको बताए । सरकारी निकायको संस्थागत क्षमता विकास हुन नसक्दा यस्तो अवस्था आएको उनको भनाइ थियो तर पनि  साधन स्रोतले भ्याएसम्म नार्क मत्स्य विकास र विस्तारमा क्रियाशिल रहेको उनले बताए ।


मत्स्य विकास निर्देशनालका निर्देशक रामानन्द मिश्रले माछापालनको विकास र विस्तारमा निजी क्षेत्रले नै अग्रसरता देखाउनुपर्नेमा जोड दिँदै सरकारबाट नीतिगत र अन्य सहयोग जारी रहने बताए । मत्स्य व्यवसायी जालन्धर सिंहले भने अन्य व्यवसायको तुलनामा कृषि क्षेत्र सरकारका साथै बैंक तथा वित्तीय क्षेत्रबासमेत उपेक्षित रहेको गुनासो गरे ।

सरकारले प्रदान गर्ने अनुदान  तथा सहुलियत कृषि कर्जा किसानले पाउन नसकेको उनको भनाइ थियो । उनले भने– कर्जाका लाथि वैक तथा वित्तीय संस्थाहरुले शहरी क्षेत्रको घरजग्गा धितो माग्ने गरेका छन्, ग्रामीण किसानसँग त्यस्तो धितो हुँदैन, घितो नहुनेले कर्जा पाउने कुरै भएन । कतिपय बैंक तथा वित्तीय संस्थाहरुले कृषि कर्जाका नाममा अन्यत्रै लगानी गरेको आंशकासमेत उनले गरेका छन् । आयोजक संस्था नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष तुलसी गिरीले निजी क्षेत्रको निरन्तरको प्रयासले माछामा नेपाल आत्मनिर्भरतातर्फ अघि बढिरहेको र आगामी पाँचवर्षभित्र पूर्णरुपमा आत्मनिर्भर हुने बताए । नेपालमा माछा आयातमात्र नभई अहिले पनि नेपालबाट छिमेकी मुलुक भारतमा निर्यात भइरहेको र नेपाली माछाले भारतमा मूल्य पनि राम्रो पाएको उनले बताएका  छन् । उत्पादन बढाए माछाका लागि बजारको अभाव नहुने पनि उनले बताएका  छन् ।

८० प्रतिशत स्वदेशी र २० प्रतिशत भारतीय माछाले बजार ओगटे पनि राजधानीमा भने ६५ प्रतिशतभन्दा बढी भारतबाटै आयात हुने गरेको छ । गत आर्थिक वर्र्ष ०६९/०७० मा करिव दुई अर्ब वरावरको १० हजार मेट्रिकटन माछा आयात भएको थियो ।  नेपालमा वार्षिक ६४ हजार ९ सय मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।

अभिलेख

लोकप्रिय