नीलकण्ठ नगरपालिकाको प्रस्तावित वजेट ११ करोड
धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले आगामि आर्थिक वर्ष २०७२/०७३ लागि ११ करोड २६ लाख ३२ हजार ५ सय रुपैयाँको वजेट प्रस्ताव गरेको छ । नगरपालिकाको दोश्रो नगर परिषद्ले सो रकम प्रस्ताव गरेको हो । नगरपालिकाले मंगलवार आर्थिक बर्ष २०७२÷०७३ को वजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नगरपालिकाका कार्यकारी अधिकृत विश्वराज मरासैनीले प्रस्तुत गरेको नीति बजेट तथा कार्यक्रम अनुसार ४ करोड २२ लाख ५८ हजार चालु तर्फ र ७ करोड ३ लाख ७४ हजार पूँजीगत विकास तर्फ खर्च गरिने छ ।
चालु आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आय, नेपाल सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने ७ करोड ७ लाख ७४ हजार, स्थानीय करवाट २३ लाख ४० हजार, सेवा शुल्क वाट ३ लाख १० हजार, दस्तुरवाट ४३ लाख १५ हजार, बिक्रीवाट २५ हजार र अन्य आयबाट ५ हजार प्रस्तावित वजेट रहेको वताईएको छ ।
परिषद्ले तय गरेको ‘‘बन, पर्यटन, उद्योग, कृषि र आर्थिक पूर्वाधार, समृद्धि र विकास नीलकण्ठ नगरपालिकाको आधार’’ भन्ने नारालाई साकार पार्न आवश्यक योजना तथा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । परिषदले आगामी ५ बर्ष भित्रमा नगरपालिकाको सबै वडालाई समेटेर चक्रपथ निर्माणका लागि सडक गुरु योजना तयार पार्ने भएको छ । सदरमुकामको शोभा विगार्ने गरी सञ्चालनमा रहेको अवस्थित वजारलाई व्यवस्थित पार्दै सडक पेटी निर्माण गर्न नगरपालिकाले प्रस्ताव अघि सारेको छ ।
नगरपालिकाको सबै वडाहरुमा विद्युत्त तथा संचार सुविधालाई विस्तार गर्नको लागि कार्यक्रम तय गर्नुका साथै कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सिंचाईका योजनाहरु संचालनका लागि प्राथमिकता दिईने नगरपालिकाका कार्यकारी अधिकृत मरासैनीद्धारा प्रस्तुत कार्यक्रममा उल्लेख गरिएको छ ।
कृषि योग्य भूमिलाई संरक्षणका साथ नगरपालिका क्षेत्रलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर वनाउन व्यवसायिक प्राङगारिक कृषि खेतिलाई प्रोत्साहन गर्ने, नगर क्षेत्रभित्रका उत्कृष्ट कार्य गर्ने, कृषक, समुह, कृषि सहकारीलाई पुरस्कृत गर्ने नीति, शिक्षा, पर्यटन, युवा तथा खेलकुद र सँस्कृतिको संरक्षणको लागि कार्यक्रम सञ्चालन गरिने, संचार क्षेत्र एवम पत्रकारिताको विकास, सुशासन प्रवद्र्धन तथा संगठन विकास, सामाजिक परिचालन तथा टोल विकास, वन उद्योग र वातावरण लगाएतका नीति तथा कार्यक्रमहरु परिषदले पारित गरेको छ ।
जिल्ला विकास समितिको सभाकक्षमा आयोजना गरेको वजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गोविन्द पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव गोकर्णमण्ी दुवाडी, धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा नगरपालिका संचालनमा आएपछि पहिलो पटक व्यवसाय दर्ता गर्ने, घर वहाल कर तिर्ने, घरको नक्सा पास गर्ने पहिलो सेवाग्राहीलाई सम्मान समेत गरिएको थियो ।
साविकको नीलकण्ठ, सुनौलावजार, साङकोष र मुरलीभञ्ज्याङ गाविसलाई समेटेर २०७१ बैशाख २५ गते धादिङ जिल्लाको पहिलो नगरपालिकाको रुपमा रहेको नीलकण्ठ नगरपालिकाको घोषणा गरिएको थियो । चारवटा गाविसलाई समेटेर वनाईएको नगरपालिकालाई १३ वटा वडामा विभाजन गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
