वार्षिक ६ लाख भारतीय पर्यटक भित्रिने अनुमान
काठमाडौं । भारत सरकारले बिदा पर्यटनको सूचीमा पहिलोपटक नेपालसहितका छिमेकी मुलुकलाई पनि समावेश गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६ महिनामा २ पटक नेपाल भ्रमण गरेपछि आमभारतीयको नेपालप्रति आकर्षण बढिरहेका बेला भारतले कर्मचारीलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गरेको हो ।
हाल करिब २ लाख भारतीय पर्यटक नेपाल भ्रमणमा आउँछन् । भारतमा ६४ लाख सरकारी कर्मचारी छन्, तीमध्ये बिदा पर्यटन अर्थात् लिभ ट्राभल कन्सेसन (एलटीसी) जारी गरेपछि २० लाख भारतीय कर्मचारीले बिदा पर्यटनको अनुमति पाउनेछन् । एलटीसी जारीपछि नेपालमा मात्र ६ लाखभन्दा बढी कर्मचारी आउनसक्ने प्रक्षेपण नेपाल पर्यटन बोर्डले गरिसकेको छ ।
भारत सरकारले आफ्ना कर्मचारीलाई दिँदै आएको एलटीसीलाई परिमार्जन गर्दै छिमेकी मुलुकमा समेत घुम्न जानसक्ने व्यवस्था गरेसँगै नेपाल पनि गन्तव्य सूचीमा परेको हो । यसअघि, भारतले कर्मचारीलाई स्वदेशमा मात्र यस्तो सुविधा दिँदै आएको थियो ।
भारतीय पर्यटन मन्त्रालय स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार भारतले बिदा पर्यटनका लागि नेपाललगायत भुटान, माल्दिभ्स र श्रीलंकलाई छनोट गरेको छ । प्रधानमन्त्री मोदीले सार्क सम्मेलनबाट फर्किएपछि एलटीसी परिमार्जनको प्रक्रिया सुरु गरेका थिए ।
नेपालले पहिलेदेखि नै यो सूचीमा नेपाललाई राख्न भारत सरकारसँग प्रस्ताव गर्दै आएको थियो । भारत सरकारले बिदा पर्यटनमा घुम्ने कर्मचारीलाई ७५ प्रतिशतसम्म खर्च बेहोर्ने गरेको छ ।
मोदी आएर फर्किंदैमा पनि धेरै भारतीय पर्यटक आउने क्रम बढिरहेका बेला एलटीसी जारी हुँदा ठूलो प्रभाव पर्ने होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाहले बताए । “बिदा पर्यटन नेपाल पनि मनाउन पाउने भएपछि नेपालमा भारतीय पर्यटकको आगमन उच्चदरमा बढ्नेछ,” उनले भने ।
सन् २०१३ मा मात्र १ लाख ८० हजार ९ सय ७४ र २०१२ मा १ लाख ६५ हजार ८ सय १५ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल भ्रमणमा आउने भारतीयले चिनियाँले भन्दा बढी खर्च गर्ने भएकाले पनि नेपाली पर्यटनमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ ।
एलटीसी संशोधन गरेर बिदा पर्यटनका लागि ३ मुलुक छनोट भइसकेको र कार्यान्वयनमा आएपछि २० लाख सरकारी कर्मचारीले भ्रमण अनुमति पाउनेछन् । यसले कर्मचारीमात्र नभई कर्मचारीका परिवारलाई पनि भ्रमणका लागि प्रोत्साहन गर्नेछ । “भ्रमण एकोहोरोमात्रै हुन नदिन हामी प्रयासरत छौं,” भारतीय पर्यटन मन्त्रालयल स्रोतलाई उद्धृत् गर्दै टाइम्स अफ इन्डियाले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।
एलटीसी जारी भएपछि छिमेकी मुलुकमा भारतीय पर्यटको चाप बढ्ने समाचारमा जनाइएको छ । पहिलो चरणमा एलटीसी मोडेल नर्थ–इस्ट इन्डिया र जम्मु–कास्मिर लक्षित हुनेछ । नर्थ–इस्ट इन्डियाअन्तर्गत अरुनान्चल, आसाम, मनिपुर, मेघालय, मिजोराम, नागाल्यान्ड, त्रिपुरा र सिक्किमलगायतका क्षेत्र पर्छन् ।
मोदीले सार्क सम्मेलनको अवसरमा अन्तरआबद्धतालाई जोड दिएका थिए । आफ्नै छिमेकमा कुराकानी गर्न र भ्रमण गर्न बाँकी विश्वको भ्रमणभन्दा मुस्किल रहेको उनले बताएका थिए । उनले नेपाल–भारत यातायातको औपचारिक उद्घाटनसमेत गरेका थिए ।
यो क्षेत्रमा धेरै बुद्ध धर्मावलम्बी रहेकाले नेपालको कपिलवस्तु र लुम्बिनी क्षेत्रको प्रवद्र्धन हुने विश्वास गरिएको छ । यसले बुद्ध सर्किटदेखि शिव सर्किटसम्मको विकासमा पनि सहयोग पुग्ने जनाइएको छ ।
भारत भ्रमण गर्न नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकाबाट ठूलो मात्रामा जाने गरेका छन् । भारत भ्रमण गर्ने पर्यटकमध्ये श्रीलंकाली सबैभन्दा बढी छन् । यही समयमा माल्दिभ्सबाट भारत भ्रमण गर्न आउने पर्यटकको संख्या १० प्रतिशतले घटेको छ । यस्तै, नेपालबाट भारत भ्रमण गर्ने पर्यटक ९ प्रतिशतले घटेका छन् । भुटानबाट करिब १५ हजारले मात्रै भारत भ्रमण गरेका अाजकाे काराेबार दैनिकमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
