२१ कात्तिक २०८३, शनिवार

पुस २५ गतेदेखि चितवन महोत्सव

२०७१ पुष २१, सोमबार
पुस २५ गतेदेखि चितवन महोत्सव

काठमाडौं  । चितवन महोत्सवको दशौं संस्करण यहि पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । उद्योग वाणिज्य संघ चितवन, चितवन जिल्ला विकास समिति, भरतपुर उपमहानगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघले संयुक्त रुपमा महोत्सव गर्न लागेका हुन् ।
आयोजक संस्थाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएका हुन् । नारायणी नदी किनार नारायणगढमा १० बिगाह क्षेत्रफलमा हुने महोत्सवमा ४ सय ७५ वटा स्टल राखिने आयोजकले बताएका छन् । उनीहरुका अनुसार महोत्सवमा राखिने स्टलको ५ करोड रुपैयाँको बिमा समेत गरिएको छ । महोत्सवमा अटो, सूचना तथा प्रविधि, पोल्ट्री, बाल उद्यान, बैंक तथा वित्तिय संस्था, रेण्टुरेण्ट, जनजातिका रहनसहन झल्कने घर, माछा पोखरीका अलग अलग परिसर रहने छन् । महोत्सवका दुई दिन प्याराब्याटिक्स शो गरिने छ । यसका लागि आयोजकले स्पेनबाट २ र आयरल्याण्डबाट  १ जना प्यारामोटर पाइलटलाई झिकाउँदै छन् ।
आयोजकले महोत्सव सम्पन्न गर्न लागि ७ सय सदस्यीय मूल समिति, ३६ सदस्यीय स्टेरिङ समिति र ४२ सदस्यीय सल्लाहकार समिति गठन गरेका छन् ।  महोत्सवमा हेलिकोप्टरबाट चितवनका रमणीय स्थलको अवलोकनको व्यवस्था मिलाइएको महोत्सवका संयोजक कल्याण जोशीले बताए ।
महोत्सवका क्रममा चितवन जिल्लाको विकास सम्बन्धमा सभासदको उपस्थितिमा कार्यशाला गोष्ठी गर्ने कार्यक्रम तय गरिएको छ । करिब ५ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा २० करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।

अभिलेख

लोकप्रिय