२१ कात्तिक २०८३, शनिवार

बङ्गुरपालनका लागि सहकारीलाई अनुदान

२०७१ पुष १३, आईतवार
बङ्गुरपालनका लागि सहकारीलाई अनुदान

कञ्चनपुर । अनुदानमा बङ्गुरपालनका लागि कञ्चनपुरका दुईवटा सहकारी संस्थालाई रु १६ लाख अनुदान रकम प्रदान गरिएको छ । पशुसेवा कार्यालय कञ्चनपुरले बङ्गुरपालनका लागि रैकवार बिचवाको मालिकार्जुन सहकारी संस्था र भीमदत्त नगरपालिकाको दलित उद्यमी कृषि सहकारी संस्थालाई छनोट गरी अनुदान रकम प्रदान गरेको हो ।
कार्यालयमा प्राप्त प्रस्तावमध्ये अति विपन्न, गरिब र जनजाति भएको सहकारी संस्थालाई प्राथमिकताका आधारमा छनोट गरी अनुदानस्वरुप आठ लाखका दरले रकम प्रदान गरिएको पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले जानकारी दिए ।“सहकारीलाई अनुदानस्वरुप खोर निर्माण, दाना खरिद र पाठा खरिदका लागि रकम उपलब्ध गराएका हौँ”, वरिष्ठ पशु विकास अधिकृत धामीले  बताए । बङ्गुरपालनका लागि लाग्ने कुल खर्चको ७० प्रतिशत कार्यालयले र ३० प्रतिशत रकम सहकारीले व्यहोर्ने गरी प्रदान गरिएको छ ।
पशुसेवा कार्यालयले सञ्चालन गर्दै आएको सहकारीमार्फत बङ्गुरपालन कार्यक्रमअन्तर्गत गत वर्ष कृष्णपुरको सूर्योदय सहकारी र भीमदत्त नगरपालिकाको लगौरा सहकारी संस्थालाई छनोट गरी अनुदान रकम उपलब्ध गराइएको थियो ।
उपलब्ध अनुदान रकमबाट सहकारीमा आबद्ध सदस्यले व्यावसायिक रुपमा बङ्गुरपालन व्यवसाय सञ्चालन गरेका छन् ।
यस वर्षदेखि बङ्गुरपालनका लागि समूहमार्फत अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको अधिकृत धामीले जानकारी दिए । उनले भने, “बङ्गुरपालनका लागि पशुसेवा उपकेन्द्र झलारीलाई रु तीन लाख र कृष्णपुरलाई रु दुई लाख रकम उपलब्ध गराउने योजना बनाएका छौँ ।”
उन्नत जातका बङ्गुरपालन गरी छोटो अवधिमै बढी फाइदा लिन सकिने र बङ्गुरको मासुको माग अत्यधिक रहेकाले सहकारीको मागका आधारमा बङ्गुरपालन व्यवसायलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

अभिलेख

लोकप्रिय