२१ कात्तिक २०८३, शनिवार

राष्ट्रिय सहकारी बैंकमा मिचाहा प्रवृत्ति हावी

२०७१ पुष ७, सोमबार
राष्ट्रिय सहकारी बैंकमा मिचाहा प्रवृत्ति हावी

काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा मिचाहा प्रवृत्ति हावी देखिएको छ । राजनीतिक आस्था र पहुँचका भरमा बैंकको उच्च व्यवस्थापन र सञ्चालकले राष्ट्र बैंकको ऐन नियमको समेत धज्जी उडाएको स्वयम् राष्ट्र बैंकको स्थलगत अध्ययन प्रतिवेदनबाट सार्वजनिक भएको छ ।

बैंकले वि.सं. २०६७ साल साउन ४ गतेबाट राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने अनुमति पाएको र अनुमति प्राप्त गर्न शाखा सञ्चालन गर्दा राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने प्रावधान रहेको थियो । तर बैंकले २०६७ सालमा उर्लाबारी, मोरंग र दमकमा समेत गरी तीनवटा शाखा खोलेको थियो । तर ती कुनै पनि शाखा खोल्दा नियमनकारी निकाय राष्ट्र बैंकबाट अनुमति लिएको छैन । सोको लागि राष्ट्र बैंकले यसअघि बैंकको सञ्चालन एवं व्यवस्थापन समितिसँग प्रष्ट जवाफ माग गरेको थियो तर समितिले भने जवाफ नै नदिई नियम मिच्ने प्रवृत्ति हावी देखियो, राष्ट्र बैंक स्रोतले भनेको छ । बैंकले नगद कारोबारको जोखिमलाई न्यूनीकरण गर्नको लागि आवश्यकताअनुसार बीमा गर्नुपर्ने भए पनि हालसम्म सञ्चालन गरेका शाखाहरुमध्ये दमक र उर्लाबारी गरी दुईवटा शाखाको लागि भल्ट, काउन्टर र क्यास इन ट्रान्जिटको बीमा नगरिएको राष्ट्र बैंकले स्थलगत निरीक्षणका क्रममा फेला पारेको छ । नगद कारोबारको जोखिमलाई न्यूनीकरण गर्न आवश्यकताअनुसार बीमाको व्यवस्था गन निर्देशन दिए पनि हालसम्म उक्त निर्देशनको समेतको पालना नगरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
बैंकले खर्च गर्दा र अन्धाधुन्ध रुपमा अनावश्यक खर्च गरेको र उक्त खर्चको औचित्य स्पष्ट पार्न पटक–पटक निर्देशन दिएकोमा सोको समेत पालना भएको छैन, प्रतिवेदनमा भनिएको छ । सहकारी संस्थाहरुले खाता खोल्न अनुरोध गर्दा बैंकले तयार गरेको फारममा भएको विवरणहरु पूर्णतः पालना गर्नुपर्नेमा सो समेतको पालना नभएको समेत राष्ट्र बैंकले जनाएको छ । निक्षेपकर्ताहरुसँग खाता खोल्दा खातावालाहरुको पूर्ण विवरण अनिवार्य हुने भएता पनि सोको समेत बेवास्ता गरी खोलिएको समेत राष्ट्र बैंको स्थलगत निरीक्षण प्रतिवेदनमा उल्लेख गरेको समाचार आजको आर्थिक दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय