२१ कात्तिक २०८३, शनिवार

फिक्कल साकोसमा डेढ करोड ठगी, ६४ जनाविरुद्ध ठगी गरेको प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा बुझाइयो

२०७१ पुष ७, सोमबार
फिक्कल साकोसमा डेढ करोड ठगी, ६४ जनाविरुद्ध ठगी गरेको प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा बुझाइयो

इलाम । फिक्कलस्थित फिक्कल बचत तथा ऋण सहकारी संस्था (साकोस) का संचालकहरुले डेढ करोडभन्दा बढी रकम ठगी गरेको रहस्य खुलेको छ ।

संस्थामा रकम हिनामिना भएको भन्दै डिभिजन सहकारी कार्यालय इलाममा सर्वसाधारणले गुनासो गरेपछि डिभिजन सहकारी कार्यालयले छानबिन गरी कर्मचारी, व्यवस्थापक, सञ्चालक समिति गरी ६४ जनाविरुद्ध डेढ करोड ठगी गरेको प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

सहकारीको नामबाट गरिबी न्यूनीकरण कार्यक्रम चलाएर रकम ठगी गर्नेविरुद्ध कारबाहीको माग गर्दै डिभिजन सहकारी कार्यालयले प्रहरीमा प्रतिवेदन पेस गरेको हो ।

झापाको काँकडभिट्टामा मुख्य कार्यालय भएको गरिबी न्यूनीकरण कार्यक्रमको शाखा कार्यालय स्थापना गरेर सर्वसाधारण र व्यवसायीबाट रकम सङ्कलन गरी ठगी गरिएको छानबिनका क्रममा भेटिएको कार्यालयले जनाएको छ ।

फिक्कल बचत तथा ऋण सहकारी संस्थाको पासबुकबाट ५५ लाख ३१ हजार ६६३ र गरिबी न्यूनीकरणको पासबुकबाट रु ९५ लाख ५९ हजार ६३२ गरी कुल एक करोड ५० लाख ९० हजार ७९५ ठगी भएको छानबिनका क्रममा भेटिएको सहकारी कार्यालयका कर्मचारी देवेन्द्र राईले बताए ।

सहकारीका व्यवस्थापक, ११ जनाको सञ्चालक समिति र ५२ जना सङ्कलनकर्ताविरुद्ध प्रहरीमा प्रतिवेदन दिइएको छ । डिभिजन सहकारी कार्यालयको संयोजकत्वमा जिल्ला सहकारी सङ्घका प्रतिनिधि सदस्य र एकजना सहकारी विज्ञसहितको छानबिन समितिले सबै अध्ययन गरी पुस २ गते प्रहरीमा प्रतिवेदन बुझाएको हो ।

गरिबी न्यूनीकरण कार्यक्रम र बचत तथा ऋण सहकारी संस्थाको नाममा सङ्कलन गरिएको रकम हिनामिना गरेर सञ्चालकहरू फरार भएका छन् ।

छानबिनका क्रममा सहकारी विधानअनुसार दर्ता भएको सहकारी संस्थाले चार खातामा लेखा नराखेको, सहकारीको हिसाबकिताब पारदर्शी रुपमा नराखेको, सहकारीका नाममा कुनै पनि बैंकमा खाता नरहेको पाइएकाले कारबाहीका लागि प्रहरीमा सिफारिस गरिएको हो ।

संस्थाले एक वर्षमा सङ्कलन गरेको रकम फिर्ता नगरेको पीडितको गुनासो छ । सहकारी संस्था सञ्चालक समितिका उपाध्यक्ष चन्द्र चाम्लिङ विगत पाँच महिनादेखि फरार छन् ।

विभिन्न व्यवसाय गर्ने सर्वसाधारणले सहकारीमा बचत गरेको रकमबारु आठ हजारदेखि चार÷पाँचलाखसम्म फिर्ता पाउनुपर्ने छानबिनका क्रममा देखिएको राईले बताए ।

सहकारीले प्रतिवेदन बुझाएपछि छानबिन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए । फरार रहेका सहकारी सञ्चालक समितिका उपाध्यक्ष राईसहित अन्यको खोजी भइरहेको छ ।

अभिलेख

लोकप्रिय