२१ कात्तिक २०८३, शनिवार

मङ्गलमय साकोसमा ३० लाख घोटला, संस्थाका सचिव भन्छन् : मर्ज गर्न थालेको अवस्थामा यस्तो हर्कत देखापर्यो

२०७१ पुष ६, आईतवार
मङ्गलमय साकोसमा  ३० लाख घोटला, संस्थाका सचिव भन्छन् : मर्ज गर्न थालेको अवस्थामा यस्तो हर्कत देखापर्यो

झापा । जिल्लाको लखनपुर–१ स्थित मङ्गलमय बचत तथा ऋण सहकारी संस्था (साकोस)का संचालकहरुले करिब ३० लाख रुपैंया हिनामिना गरेको रहस्य खुल्न आएको छ ।
संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि संस्थामा लाखौं रुपैयाँ हिनामिना भएको घटना बाहिर आएको हो । बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि एक महिनादेखि संस्थाको लखनपुर–१ स्थित पाडाजुङीको कार्यालय बन्द रहेको छ । कार्यालय बन्द भएपछि संस्थाका सदस्यको सम्पत्ति थप जोखिममा परेको हो ।

स्रोतका अनुसार संस्थाको स्थापनाकालदेखि नै सञ्चालक समितिका अध्यक्ष चन्द्रमणि अधिकारी, सदस्य घनश्याम प्याकुरेल, व्यवस्थापक युवराज खड्कालगायतकाले संस्थाका सदस्यलाई प्रभावमा पारेर लाखौँ रुपैयाँ रकम नियमविपरीत लगेको खुल्न आएको हो ।

विसं २०६४ मा खोलिएको सो सहकारीले हालसम्म आउँदा संस्था आर्थिक रुपमा सबल हुनसमेत नसकेको अवस्थामा संस्थामा भएको आर्थिक बदमासीले सर्वसाधारणको निक्षेप जोखिममा पारेको छ ।

संस्थाका निक्षेपकर्ता लखनपुर–१ का टेकनाथ अधिकारीले आफूले बचत गरेको रकमसमेत फिर्ता पाउन नसकेको बताउनुहुन्छ । संस्थामा आयो कार्यालय बन्द छ– उनले भने, “बचत कर्ताको रकम उठाउन कानुनी निकायमा जानुपर्ने स्थिति भएको छ ।”

संस्थामा देखिएको अनियमितताको आर्थिक कारोबार बाहिर आएपछि संस्थाभित्र जोखिम सुल्झाउन पहल थालिएको बुझिएको छ ।

संस्थाको फरक हिसाब मिलान गर्नका लागि सेयर सदस्य सन्तोष सापकोटाको संयोजकत्वमा एक उपसमिति गठन गरेर काम थालेको बताइएको छ ।

स्रोतका अनुसार संस्थाको आर्थिक बेमेलमा देखिएको विवरणअनुसार अध्यक्षले चार लाख ७८ हजार २ सय ७४, सदस्य घनश्याम प्याकुरेलले तीन लाख १८ हजार ६ सय ४०, व्यवस्थापक खड्काले १३ लाख ५४ हजार ८ सय ९० रुपैंया, स्मारिका सामुदायिक बोर्डिङ स्कुलले छ लाख ६३ हजार ५ सय र विभिन्न सदस्यको नाममा एक लाख ८३ हजार ७ सय ५० रुपैंया दाबी छ ।

संस्थाको बैठकबिना नै यत्तिको ठूलो रकम संस्थाको अध्यक्ष, व्यवस्थापकको मिलेमतोमा ऋण र सापटी भन्दै लिएको भनी खुलाइएको छ ।

रकम लिनेलेसमेत संस्थाको हिसाब फरफारक गर्ने लिखित रुपमा निर्णय गरेको पाइए पनि सहजै आरोपीले रकम बुझाएका छैनन् ।

तर संस्थाले औपचारिक रुपमा लगानी भने नगरेको स्वम् संस्थाका एक पदाधिकारी बताउँछन् । संस्थाका सचिव तेजप्रसाद उप्रेती संस्थाका अध्यक्ष र व्यवस्थापकको मिलेमतोमा सदस्यको रकम अनधिकृत रुपमा घोटाला गरेको दाबी गर्छन ।

“हामीले संस्थाको आर्थिक अवस्था खस्कँदो हुन थालेको थाहा पाएपछि संस्थालाई मर्ज गर्न थालेको अवस्थामा यस्तो हर्कत देखापर्यो”, सचिव उप्रेतीले भने । उहाँले सञ्चालक समितिका केही साथी र लेखा समितिले रकम अपुग भएको हिसाब खोज्दा विभिन्न समय र नाममा पेस्की भन्दै रकम लिएको देखिएको बताउँछन् ।

संस्थाको रकम यसरी आफूखुसी लैजाँदा संस्था टाट पल्टिएको बताउँदै सचिव उपे्रती भन्छन्, “जस–जसको नाममा बेरुजु रकम देखिन्छ, उनीहरुले अविलम्ब रकम फिर्ता गर्नुपर्छ ।” संस्थाको रकम फिर्ता नगरे कानुनी कारबाहीको बाटो समात्ने तयारीमा रहेको सचिव उप्रेतीको भनाइ छ ।

सो संस्थामा २०५ जना सेयर सदस्यहरु छन् भने सेयर पुँजी १२ लाख र ४० लाख निक्षेप रहेको उल्लेख छ । तीमध्ये संस्थाले ऋण लगानी गरेको भनिएको करिब २२ लाख भए पनि असुलीसमेत प्रभावकारी नहुँदा संस्था झनै समस्यामा परेको बताइएको छ ।

अभिलेख

लोकप्रिय