२१ कात्तिक २०८३, शनिवार

झुपडीमा बास बस्नेको सहकारीले फेरेको जिवन

२०७१ पुष १, मङ्गलबार
झुपडीमा बास बस्नेको सहकारीले  फेरेको जिवन

कञ्चनपुर । ‘मनमा आँट, साथमा पौरखी हात र सहयोगी भावना’ भए दुर्गम गाउँ बस्तीमा पनि अनेक थोक गर्न सकिने रहेछ । विपन्न समुदायसँग हातेमालो गरी जनजीविकामा परिवर्तन ल्याउन सकिँदो रहेछ ।
छरपस्ट भएको सुका र मोहरलाई सङ्कलन गर्नसके ग्रामीण अर्थतन्त्रलाई बलियो पार्न असहज बन्दैन । गाउँका कुना र कन्दराका मान्छेको आनीबानीमा अलिकति पनि परिवर्तन ल्याउन सकियो भने ठूलै आर्थिक लाभ मिल्दो रहेछ ।
यसका लागि ठूलाठूला वाणिज्य र विकास बैंक नचाहिँदो रहेछ । थोरै समयमा अपत्यारिलो रूपमा दलित बहुउद्देश्यीय सहकारी संस्थाले ग्रामीण अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याइदिएको छ ।
कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा रहेको पुनर्वासको कालिका गाविसमा विसं २०५३ मा २५ जना स्थानीयवासीको सक्रियतामा सहकारी स्थापना भएको थियो ।
करिब २५ हजारको सानो पुँजीको बलमा कारोबार सुरु गरेको सहकारीले अहिले रु सात करोड १४ लाख ५० हजारको कारोबार गर्न सफल भएको छ ।
हाल रु ४० लाख ५५ हजार सेयर पुँजी रहेको संस्थामा ८०० जना सेयर सदस्यले कारोबार गरिरहेका छन् ।
पुनर्वास क्षेत्रका परासन, त्रिभुवनबस्ती, कालिका र लक्ष्मीपुर गाविसलाई कार्यक्षेत्र बनाएको छ । सहकारीले यहाँका जनतालाई वित्तीय सेवासहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा सेवा पुर्याउँदै आएको छ ।
वाणिज्य र विकास बैंकको पहुँच नभएको पुनर्वास क्षेत्रका जनतालाई छिमेकी जिल्ला कैलालीको धनगढी र जिल्ला सदरमुकाम महेन्द्रनगरमा बैंकिङ सेवामा जानुपर्ने समस्या रोक्न सहकारीले सघायो । सरकार माओवादी सशस्त्र युद्धका बेला ग्रामीण भेगमा रहेर वित्तीय कारोबारसँगै अन्य सेवा प्रदान गर्नु सहज थिएन ।
अध्यक्ष रहेका चन्द्रबहादुर मगर सहकारी स्थापना गर्दाको क्षण सम्झँदै भन्छन्, “त्यो बेला हामीले सहकारी बनाउने कुरा अनौठो थियो । मान्छे हाँसेर उडाउँथे, भनिन्थ्यो एक रुपैयाँ दुई रुपैयाँले के पो हुन्छ ? यिनी कामै नपाए जस्तो पो गर्दैछन् । असम्भवका पछाडि लाग्न हुँदैन भन्ठान्थे ।”
सहकारीमा आबद्ध हुने औंँलामा गनिने थिए तर हिजो आज समय फेरिएको छ । उनी भन्छन्, “असाध्यै थोरै मान्छेको सहयोगमा सहकारी बनाएर गरिब र साना कृषकलाई बचत गर्ने बानी बसाल्न लगाई थोरैथोरै रकमलाई एकत्रित गरी पुँजीका रूपमा विकसित गरेर लगानी गर्दै जाँदा आज यो रूपमा पुगेको हो ।”
सहकारी स्थापनाका दिन र त्यसपछिका दिनलाई सम्झँदै उपाध्यक्ष पदमा रहेका सेते विक भन्छन्, “झुपडीमा बास बस्ने गरिबले साँझ बिहान ज्याला मजदुरी गरी कमाएको स–सानो रकमलाई एकत्रित पार्न उनीहरूलाई बचत गर्ने बानीे बसाल्न थाल्याँै । उनीहरूको रगत र पसिनाको कमाइलाई जोड्दै जाँदा सहकारीसँगको सहकार्यले उनीहरूको आयआर्जनमा सहजता आयो । यसले सहकारीप्रति गरिब र निम्न वर्गका मान्छेको आकर्षण बढ्दै गयो । ”
सहकारीका व्यवस्थापक दानबहादुर रावल भन्छन्, “संस्थाले सेवाग्राहीको आयआर्जनमा मद्दत पुर्याउने खालका कामका लागि कृषि र लघु व्यापारमा लगानी गर्दा समुदाय र सहकारीको अवस्थामा वृद्धि भएको छ ।”
सहकारीले ऋणदेखि घरेलु रूपमा आवश्यक पर्ने टिनको भकारी, बाकस, रासायनिक मल, एलपी ग्यासको पुनर्वासमा बिक्री वितरण गरी सेवामुखी क्रियाकलाप सञ्चालन गरिरहेकाले सबैको सद्भाव बढेको छ ।
गरिब र विपन्न समुदायको गाउँ बस्तीमा खुत्रुके बचतको कार्यक्रम सुरु गरेपछि अझ बढी जनसहभागिता जुटेको हो । न्यूनतम ३०० देखि एक हजारसम्म खुत्रुकेमा बचतकर्ताले जम्मा गर्दै आएका छन् ।
न्यून आय भएका बस्तीमा यो कार्यक्रम प्रभावकारी भएको उनको अनुभव रहेको छ । गाउँ बस्तीमा गठन भएको सहकारीले दिनप्रतिदिन सेवाग्राहीको मन जित्दै गएपछि नेपाल सरकारद्वारा सञ्चालित युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रु ४५ लाख रकमलाई आयमूलक कार्यमा लगानी गरिसकेको छ ।
बैंकको पहुँच नपुगेको सीमान्तकृत पुनर्वासमा सहकारी स्थापनाको १७ वर्षमै स्थानीय बासिन्दाको भरपर्दो र दरिलो वित्तीय संस्थाका रूपमा चिनिएको छ । ऋण, बचत र सेवामूलक कारोबार एउटै छानाबाट पाइने भएकाले दलित बहुउद्देशीय सहकारी संंस्था अन्यको तुलनामा अब्बल रहेको नियमित बचतकर्ता रविबुढा क्षेत्रीले बताए ।
बचतकर्ताको बचत तान्न आकर्षक स्कीमका साथ प्रतिस्पर्धामा उत्रिएका थुप्रै सहकारीको तुलनामा दलित बहुउद्देश्यीय सहकारी संस्थाका कार्यक्रम र नीति जनप्रिय रहेको सहकारीका अर्का बचतकर्ता प्रितम गिरीले बताए ।
लामो समयदेखि पुनर्वासमा निरन्तर सक्रिय रहेको सहकारीले हालै ल्याएको सेयर सदस्यको मृत्यु भएमा उसका नजिकका नातेदारलाई रु पाँच हजार रकम किरिया खर्चबापत दिइने कार्यक्रमले अझै बढी लोकप्रिय बनेको छ ।
“यो त असाध्यै राम्रो भयो हामी ६० नाघेका बूढाबूढीको ज्यान तलमाथि भयो भने हाम्रा छोरा नातिलाई आर्थिक भार थपिँदैन”, साठी वर्षीया शुुकमाया तामाङले भने ।
वृद्धवृद्धालाई प्रत्यक्ष रूपमा मद्दत पुग्ने खालका कार्यक्रम र सेवाको विस्तारमा सञ्चालक समितिले पहल गर्नुपर्ने उनको भनाइ छ । बचतकर्ता र सेवाग्राहीको संस्थाप्रतिको आकर्षणलाई अझ बढ्ता सुदृढ पार्न सञ्चालक समिति लागिपरेको सहकारीका अध्यक्ष मगरले बताए ।
पुनर्वास क्षेत्रमा विगत १७ वर्षदेखि क्रियाशील रहेको दलित सहकारी संस्था यस क्षेत्रकै अग्रणी सहकारीमा विकास भएर आएको राष्ट्रिय सहकारी बोर्डका केन्द्रीय सदस्य भरतबहादुर विष्टले बताए ।
दुर्गम र ग्रामीण बस्ती जहाँ बैंकको पहँुच पुग्न सकेको छैन त्यस्ता गाउँ ठाउँमा सहकारीको गुणस्तरीय सेवा विस्तार गर्नसके सुका र मोहरका रूपमा छरिएर रहेको धन एकत्रित भई राष्ट्रको आर्थिक समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।

अभिलेख

लोकप्रिय