२१ कात्तिक २०८३, शनिवार

सहकारी अभियानलाई एकीकरण र सुद्धीकरण अनिवार्य

२०७१ मंसिर २७, शनिवार
सहकारी अभियानलाई एकीकरण र सुद्धीकरण अनिवार्य

सिन्धुली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारी अभियानका वर्तमान उपलव्धि र भावी सम्भावनाहरुलाई व्यवस्थापन गर्न सहकारीहरुवीच एकीकरण र सुद्धीकरण अनिवार्य रहेको बताएका छन् । शुक्रबार जिल्ला बचत तथा ऋण सहकारी संघको सातौं वार्षिक साधारणसभा एवम् चौथो अधिवेशन उदघाटन गर्दै पौडेलले उक्त कुरा बताएका हुन् ।

‘सहकारीहरुको विनियम, नीति, सञ्चालन पद्धति र व्याजदरमा अनेकता देखिएकोले यसको व्यवस्थापन नगरे सहकारी अभियान दुर्घटनामा पर्नसक्छ । सहकारीको सुशासन, अनुगमन र नियमन कमजोर छ । गलत प्रवृतिहरु हावी भएका छन । त्यसलाई तत्काल रोक्न जरुरी छ ।’ उनले भने । सहकारीको पूंजी, संगठन र सम्भावनालाई एकीकृत र गुणात्मक बनाउन नेफ्स्कूनले साकोस युनिफिकेशन नीति कार्यान्वयन गर्न लागेको बताउदै पौडेलले त्यसका लागि सहकारी संघसंस्था र सहकारीकर्मीहरु जिम्मेवार हुनुपर्ने बताए ।

संघका अध्यक्ष पार्वती भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष कृष्णराज केसी, जिल्ला बचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष नवराज पौडेल, पूर्वअध्यक्ष रामप्रसाद भण्डारी, डिभिजन सहकारी कार्यालय जनकपुरका रामप्रित यादव, जिल्ला कृषि सहकारी संघका अध्यक्ष रामबहादुर विश्वकर्मा, जिल्ला उपभोक्ता सहकारी संघका अध्यक्ष नवराज कोइराला, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष विष्णुप्रसाद देवकोटा, जिल्ला सहकारी सञ्जालका संयोजक कृष्णप्रसाद गौतम, सहमति सिन्धुलीका प्रमुख बलराम दुवाडी, रेडियो सिद्धबाबाका स्टेशन मेनेजर टिकाजंग थापा, नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय सदस्य रोहित झा र जिल्ला अध्यक्ष छत्रबहादुर श्रेष्ठलगायतले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सान्त्वना बचत तथा ऋण सहकारी संस्था र सन्तोषी बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको थियो ।

अभिलेख

लोकप्रिय