१३ माघ २०८१, आईतवार

वचत तथा ऋण सहकारीहरु एकिकृत मोडलतर्फ

२०७१ मंसिर २३, मङ्गलबार
वचत तथा ऋण सहकारीहरु एकिकृत मोडलतर्फ

काठमाडौं । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा काठमाडौंमा साकोस एकीकृत प्रणाली विषयक एक दिवसिय गोष्ठि सम्पन्न भएको छ । नेफ्स्कून अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा संचालन भएको सो गोष्ठिमा सहकारी तथा गरिबि निवारण मन्त्रालयका सचिव श्रीधर गौतम प्रमुख अतिथि रहेका थिए ।

गोष्ठिमा आगामी दिनमा सहकारीहरु एकिकृत प्रणालीमा जान किन आवश्यक छ र त्यसका लागि सरोकारवाला निकायहरुको के कस्तो भूमिका हुनुपर्दछ भन्ने विषयमा बहस भएको थियो । मध्यमाञ्चल विकास क्षेत्रका १५० सहकारीहरुको सहभागिता रहेको कार्यक्रममा साकोस एकिकृत प्रणालीमा जानको लागि आवश्यक चारवटा प्रमुख पक्षहरु ः श्रोतहरुमा पँहुच र एकरुपता, स्तरिय कार्यसंचालन, करारीय एक्यबद्धता, सुशासन र स्वनियम कायम गर्न  केन्द्रमा नीतिगत सर्वोच्चता रहने र प्रारम्भिक संस्थामा  कार्यगत स्वायत्तता विषयमा छलफल भएको थियो । विषेशत  शहरका सहकारीहरुमा  समस्या आएको र यसलाई समाधान गर्ने एकमात्र विकल्प एकिकृत मोडल उपयुक्त हुने भएकोले अवको यात्रा यसतर्फ हुनुपर्नेमा सहभागिहरुको सामुहिक निष्कर्ष रहेको थियो ।

एकै पहिचान, नीति, विधि र कार्यविधिमा एकरुपता, एक सदस्य एक साकोस, एउटै लेखामान र सम्पुर्ण संस्थाहरु एकै नेटवर्कभित्र रहनुपर्ने, संघले सघन अनुगमन र सुपरिवेक्षण गर्नुपर्ने, तालिम र शिक्षामा संघले महत्वपुर्ण भूमिका खेल्नुपर्ने लगायतका विषयहरुमा सामुहिक साझा निष्कर्ष रहेको थियो । कार्यक्रममा बोल्दै सचिव श्रीधर गौतमले नेपालका सहकारीहरुलाई यस मोडलमा जान आवश्यक रहेको र यसलाई सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफु तत्पर रहेको बताए ।

त्यस्तै सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानले सहकारीहरुलाई स्वनियम मात्र भनिदिएर नहुने रहेछ, त्यसका लागि नियमनकारी निकायको सक्रियता जरुरी रहेको बताए ।
राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले यो अभ्यास दक्षिण कोरिया र क्यानडामा सफल भएकोे, संसारका अधिकांश मुलुक यस मोडलमा गएको उदाहरण दिदैं अब सहकारी अभियानको पाईला त्यसतर्फ अगाडि बढिसकेको बताए । त्यसका लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।

अभिलेख

लोकप्रिय