२३ असार २०८२, सोमबार

राष्ट्रिय सहकारी बैंकको ११ प्रतिशतभन्दा बढी खराब कर्जा

२०७१ मंसिर २३, मङ्गलबार
राष्ट्रिय सहकारी बैंकको ११ प्रतिशतभन्दा बढी खराब कर्जा

काठमाडौं । सञ्चालक एवं व्यवस्थापन प्रमुखहरुको बदमासीको कारण वित्तीय रुपमा कमजोर बनेको राष्ट्रिय सहकारी बैंकको चुक्ता पुँजी कमजोर देखिएको छ ।

राष्ट्रिय सहकारी ऐन २०४८ बमोजिम स्थापना भई वि.सं. २०६१ साउन १९ गतेबाट वित्तीय कारोबार सञ्चालन गरेको बैंकले २०६७ साल साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्न अनुमति प्राप्त गरेको हो । अनुमतिअनुसार बैंकले प्रत्येक वर्ष पुँजी वृद्धि गर्नुपर्ने र सोको योजना राष्ट्र बैंकसमेतमा पेस गर्नुपर्ने भए पनि हालसम्म बैंकले पुँजी वृद्धि नगरेको र सोको लागि कुनै ठोस योजनासमेत नगरेको राष्ट्र बैंकको स्थलगत निरीक्षणको क्रममा देखिएको छ । राष्ट्र बैंकले सो बैंकको २०६७ सालमा स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणको क्रममा बैंकको चुक्ता पुँजी १६ करोड २८ लाख ४२ हजार रुपैयाँ रहेको थियो । पुँजी योजनाअनुसार बैंकले २०६८ असार मसान्तसम्ममा २५ करोड, २०६९ असार मसान्तसम्ममा ३३ करोड, २०७० असार मसान्तसम्ममा ४८ करोड र २०७१ असार मसान्तसम्ममा ६४ करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने हुन्छ, तर बैंकले हालसम्म पुँजी वृद्धिको कुनै योजना पेस गरेको छैन, स्थलगत निरीक्षण प्रतिवेदनमा भनिएको छ ।

राष्ट्र बैंकले सीमित बैंकिङ कारोबारको लागि अनुमति दिँदा बैंकको चुक्ता पुँजी १४ करोड ५७ लाख ३३ हजार रुपैयाँ रहेको थियो भने बैंकले २०७१ असार मसान्तसम्ममा चुक्ता पुँजी वृद्धि गरी ६४ करोड रुपैयाँ कायम गर्नुपर्ने अनिवार्य सर्त तोकिएको थियो । तर ती सबै सर्त बैंकको व्यवस्थापन तथा सञ्चालक समितिले उल्लंघन गरेको राष्ट्र बैंक स्रोतले बताएको छ । सरकारको छ दशमलव १४ प्रतिशत र सहकारी संस्थाहरुको ९३ दशमलव ८६ प्रतिशत सेयर स्वामित्व रहेको बैंकमा सरकारको एक करोड रुपैयाँ लगानी रहेको छ भने अन्य सहकारी संस्थाहरुको १५ करोड २८ लाख ४२ हजार रुपैयाँ लगानी रहेको छ । अधिकृत पुँजी ६४ करोड रहेको बैंकको जारी पुँजी भने ३२ करोड रुपैयाँ रहेको छ ।
स्थापनाकालदेखि नै सञ्चालकहरुले एकलौटी ढंगमा चलाउँदै आएको बैंकमा ११ दशमलव ३५ प्रतिशतभन्दा बढी कर्जा निष्क्रिय रहेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार असल कर्जामा एक प्रतिशत, कमसलमा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जामा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्छ । तर बैंकले हालसम्म जम्मा ४२ लाख ५४ हजार रुपैयाँ मात्र कर्जा नोक्सानी व्यवस्था गरेको छ । राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणअनुसार बैंकले तीन करोड नौ लाख ६८ हजार रुपैयाँ कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याउनुपर्छ । तर बैंकले छुट्याएको रकम राष्ट्र बैंकले तोकेको सीमाभन्दा दुई करोड ६७ लाख चार हजार रुपैयाँ कम भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार बैंकको असल कर्जा ३७ करोड ७१ लाख २५ हजार रुपैयाँ रहेकोमा एक प्रतिशतका दरले ३७ लाख ७१ हजार रुपैयाँ कर्जा नोक्सानीको लागि छुट्याउनुपर्छ ।

यसैगरी कमसल कर्जा ५२ लाख ३८ हजार रुपैयाँ रहेको बैंकले जम्मा ५२ हजार रुपैयाँ मात्र कर्जा नोक्सानीको लागि छुट्याएको छ जुन राष्ट्र बैंकको निर्देशनअनुसार १२ लाख ५८ हजार रुपैयाँले कम हो । बैंकमा तीन करोड ४३ लाख ५४ हजार रुपैयाँ शंकास्पद कर्जा रहेको छ । सो कर्जामा बैंकले तीन लाख ४४ हजार रुपैयाँ मात्र नोक्सानी व्यवस्थाको लागि छुट्याएको छ तर उक्त रकम निर्देशनअनुसार एक करोड ६८ लाख ३३ हजार रुपैयाँले कम हो । यसबाहेक बैंकमा ८७ लाख १० हजार रुपैयाँ खराब कर्जा रहेको छ । उक्त शीर्षकमा बैंकले हालसम्म ८७ हजार रुपैयाँ मात्र नोक्सानी व्यवस्थाको लागि छुट्याएको छ तर यो रकम राष्ट्र बैंकको निर्देशनअनुसार ८६ लाख २३ रुपैयाँ कम हो, राष्ट्र बैंकको स्थलगत निरीक्षणमा भनिएको छ ।

बैंकले ४२ करोड ५४ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा जम्मा ४२ लाख ५४ हजार रुपैयाँ मात्र नोक्सानी व्यवस्था गरेको छ । निर्देशनबमोजिम बैंकले तीन करोड नौ लाख आठ हजार रुपैयाँ नोक्सानी व्यवस्थापन गर्नुपर्ने आजको आर्थिक दैनिकमा खबर छ ।

यो पनि पढ्नुहोस्

सहकारी बैंकद्वारा ‘कमिसन’को लोभमा वित्तीय अनुशासन पालना नगरी २० करोड ऋण प्रवाह गरेको खुलासा

अभिलेख

लोकप्रिय