५ चैत २०८१, मङ्गलबार

सञ्चालककै बदमासीले राष्ट्रिय सहकारी बैंक संकटमा

२०७१ मंसिर २२, सोमबार
सञ्चालककै बदमासीले राष्ट्रिय सहकारी बैंक संकटमा

काठमाडौं । सञ्चालकहरुको बदमासीको कारण राष्ट्रिय सहकारी बैंक अप्ठ्यारोमा परेको छ । नेपाल राष्ट्र बैंकको लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागले गरेको स्थलगत निरीक्षणअनुसार बैंकको कुल कर्जामध्ये १८ दशमलव ३२ प्रतिशत कर्जा सञ्चालक समितिका अध्यक्ष रमेशप्रसाद पोखरेलसहितका अन्य सञ्चालकहरुमा प्रवाह भएको छ ।

संस्थागत सुशासनको दृष्टिकोणले कुनै पनि बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुले आफू संलग्न रहेको दोस्रो संस्थामा कर्जा प्रवाह गर्न वा निक्षेप जम्मा गर्न पाउँदैनन्, तर सहकारी बैंकमा भने अधिकांश कर्जा सञ्चालकहरुमा गएको र त्यो कर्जाबाट नियमितरुपमा सावाँ तथा ब्याज प्राप्त नभएपछि बैंक अप्ठ्यारोमा परेको हो, बैंकनिटक स्रोतले भनेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार बैंकसँग सम्बन्धित सञ्चालकहरु संलग्न सहकारी संस्थामा मात्र बैंकले सात करोड ७९ लाख ४७ हजार चार सय ४१ रुपैयाँ कर्जा प्रवाह गरेको छ भने नियमविपरीत ५४ लाख ३९ हजार चार सय ५४ रुपैयाँ निक्षेप राखेको छ ।
राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणअनुसार राष्ट्रिय सहकारी बैंक सञ्चालक समितिका अध्यक्ष रमेशप्रसाद पोखरेल संलग्न स्टार बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था विराटगरमा बैंकको नियमविपरीत दुई करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको छ । प्रवाहित कर्जामध्ये अझै एक करोड ५० लाख रुपैयाँबराबरको सावाँ तथा ब्याज फिर्ता गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा अध्यक्ष पोखरेल संलग्न स्टारमा नियमविपरीत बैंकको ११ लाख दुई हजार आठ सय सात रुपैयाँ संस्थागत निक्षेप राखिएको छ । बैंकको सञ्चालक रामशरण शर्मा घिमिरे संलग्न कर्मणा बचत तथा ऋण सहकारी संस्था ललितपुरमा पनि बैंकले नियमविपरीत कर्जा प्रवाह गरेको छ । सञ्चालक भएकै नाताले घिमिरे संलग्न उक्त सहकारीमा बैंकले ५८ लाख ४६ हजार रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको देखिएको छ ।
बैंकका प्रबन्ध सञ्चालक केवी उप्रेती संलग्न जनता बहुउद्देश्यीय सहकारी संस्था सोह्रखुट्टेलाई पनि बैंकले एक करोड ४१ लाख ८६ हजार पाँच सय ५३ रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको देखिएको छ । यसैगरी सञ्चालक डा. विदुर चालिसे संलग्न स्तुपा स्वास्थ्य सेवा संस्था लिमिटेड बौद्धलाई पनि बैंकले नियमविपरीत एक करोड ५७ लाख ९५ हजार पाँच सय २९ रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । सोमध्ये अधिकांश कर्जा अझै फिर्ता नभएको राष्ट्र बैंकको स्थलगत निरीक्षणमा देखिएको छ । ज्योति बहुउद्देश्यीय सहकारी संस्था काभ्रेलाई पनि बैंकले एक करोड ९४ लाख ३१ हजार सात सय ४३ रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक मुकुन्द दाहाल सञ्चालक रहेको उक्त सहकारीले पनि बैंकलाई सावाँ र ब्याजबापत बुझाउनुपर्ने ठूलो रकम बुझाउन बाँकी रहेको छ । स्थलगत प्रतिवेदनअनुसार सञ्चालक गणेशप्रसाद बस्नेत संलग्न मेची झापा सहकारी संस्थामा पनि बैंकले सात लाख ८५ हजार तीन सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ ।
यसबाहेक सोही बैंकमा कार्यरत मोहन कार्की संलग्न मुनाल बचत तथा ऋण सहकारी संस्थामा समेत बैंकले ५९ लाख दुई हजार एक सय २५ रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । यसबाहेक सञ्चालकसम्बद्ध अन्य सहकारी संस्थाहरुमा पनि बैंकले अन्धाधुन्ध रुपमा कर्जा प्रवाह गरेको निक्षेप समेत जम्मा गरेको राष्ट्र बैंकको स्थलगत निरीक्षणमा देखिएको छ । निरीक्षणमा गम्भीर प्रकृतिका कैफियतहरु देखिए पनि हालसम्म पनि बैंक सञ्चालक तथा व्यवस्थापन समिति ती कैफियतहरुमा सुधार ल्याउन तयार नदेखिएको स्रोतले बताएको छ । सहकारी बैंकका सञ्चालकहरुको बलियो सम्बन्ध राष्ट्र बैंकका केही उच्च अधिकारीसँग भएकै कारण हालसम्म पनि बदमासी गर्ने सहकारी बैंकका सञ्चालकमाथि कारबाही हुन नसकेको समेत स्रोतले बताएको आजको आर्थिक दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय