५ चैत २०८१, मङ्गलबार

बिचौलियाबाट हुने ठगी रोक्न सहकारी सक्रिय हुनुपर्छ : अर्थमन्त्री, उद्यमशिलताको विकास गर्नेतर्फ केन्द्रीत हुनुपर्छःगभर्नर

२०७१ मंसिर २१, आईतवार
बिचौलियाबाट हुने ठगी रोक्न सहकारी सक्रिय हुनुपर्छ : अर्थमन्त्री, उद्यमशिलताको विकास गर्नेतर्फ केन्द्रीत हुनुपर्छःगभर्नर

काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले उत्पादकले उचित मूल्य नपाउने र उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्यका लागि सहकारीहरुले भूमिका खेल्नुपर्ने बताएका छन् ।

अाइतबार  काठमाडौंमा काठमाडाैमा आयोजित वित्तिय साक्षारता सम्बन्धी कार्यक्रममा अर्थमन्त्री डा. महतले बिचौलियाका कारण उत्पादक र उपभोक्ता दुवै ठगिएको भन्दै बिचौलियाको प्रभाव कम गर्न सहकारीले भूमिका खेल्नुपर्ने बताए ।

उनले बचत संकलन र कर्जा प्रवाह भन्दा तल्लो तहका नागरिकको जीवनस्तर उकास्नु नै सहकारीको मुख्य काम भएको भन्दै बिचौलियाको प्रभाव कम गर्न सहकारीहरुले कृषकले उत्पादन गरेका वस्तु सिधै बजारमा पुर्‍याउनुपर्ने बताए । उनले सहकारीले प्रभावकारी रुपमा आफ्नो भूमिका निर्वाह गर्ने उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने तथा बिचौलियाहरु बिस्तारै हराएर जाने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सहकारी संस्थाहरु युवाहरुमा उद्यमशिलताको विकास गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताए । उनले अहिले दुई जना युवामा एक जना युवा पूर्णरुपमा  बेरोजगार रहेको भन्दै सरकारी कार्यक्रम बेरोजगार युवालाई स्वरोजगार बनाउनेतर्फ लक्षित हुनुपर्ने बताए । उनले युवाहरुमा उद्यमशिलताको भावना विकास हुन नसक्नुमा शैक्षिक प्रणाली दोषी रहेको बताए ।

गभर्नर डा. खतिवडाले ग्रामिण भेगका कतिपय जनतामा अझै पनि सरकारी बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने भावना कायम रहेको भन्दै यसका लागि वित्तीय साक्षरताको कार्यक्रमलाई अभियानको रुपमा संचालन गरिनुपर्ने बताए। उनले कुनै एउटा मात्र निकायले संचालन गरेर वित्तिय साक्षरताको कार्यक्रम सफल नहुने भन्दै आवश्यक सहयोग गर्न नेपाल राष्ट्र बैंक तयार रहेको बताए ।

अभिलेख

लोकप्रिय