सहकारी बैंकद्वारा ‘कमिसन’को लोभमा वित्तीय अनुशासन पालना नगरी २० करोड ऋण प्रवाह गरेको खुलासा

कठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिले ‘कमिसन’को लोभमा वित्तीय अनुशासन पालना नगरी घाटामा गएका कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायतका सहकारीहरुलाई एकै दिन २० करोड रुपैयाँ ऋण प्रवाह गरेको खुलासा भएको छ ।
काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर र नयाँ बानेश्वरमा रहेको सूर्यपुञ्ज बचत तथा ऋण सहकारी संस्थालाई ऋण प्रवाह गर्दा ती संस्थाहरुको वित्तीय स्थितिको विश्लेषण एवं अध्ययन नगरेको बैंकले नै नियुक्त गरेको लेखा समितिले ठहर गर्दै प्रवाह भएको ऋण तत्काल उठाउन र निर्णय भएको तर प्रवाह नभएको ऋण रोक्न बैंक सञ्चालक समितिलाई भनेको छ ।
पर्याप्त वित्तीय विश्लेषण नगरी ठूलो लगानी गर्दा बैंक नै घाटामा जाने अप्ठ्यारो स्थिति आउँदा ऋण प्रवाह गर्नेहरु नै व्यक्तिगत रुपमा जिम्मेवार हुनुपर्ने र उनीहरुबाटै असुलउपर गर्नुपर्ने अवस्था आउने हुनाले ती सहकारीलाई ऋण दिने निर्णय तुरुन्त सच्याउन लेखा समितिले सुझाव दिएको छ ।
सहकारी विकास बैंकको गत जेठ ३१ गते बसेको सञ्चालक समिति बैठकले तीनकुनेमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई १० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको थियो । ‘कान्तिपुर सहकारीलाई ऋण दिँदा बैंकको व्यवस्थापन र कर्जा उपसमितिले उक्त सहकारीको आर्थिक अवस्थाको अध्ययन एवं विश्लेषण नगरेको, सञ्चालक समितिले दश करोड रुपैयाँ कर्जा दिने निर्णय गर्दा कर्जा उपसमिति र व्यवस्थापनबाट पेस भएका फाइलहरुको समेत अध्ययन नगरेको देखिएकाले ‘कमिसन’मा मिलेमतो भएर उक्त निर्णय भएको देखिन्छ’, लेखा समिति स्रोतले भन्यो ।
कुलचन्द्र अधिकारी संयोजक र सागर नेपाल तथा लक्ष्मीप्रसाद उप्रेती लेखा समितिका सदस्य छन् । लेखा समितिका अनुसार धितो मूल्यांकन गर्दा बाटो प्रयोजनको ०–०–३ जग्गा समेत समावेश गरिएको छ । बाटो प्रयोजनको जग्गा धितोमा मूल्यांकन गर्न मिल्दैन । कान्तिपुरले ऋण माग्न पेस गरेको कागजातअनुसार पनि बैंकले कान्तिपुरमा गरेको लगानी जोखिमपूर्ण रहेको ठहर गर्दै फिर्ता गर्न साउन ७ गते नै सुझाव दिए पनि बैंक अहिलेसम्म मौन छ ।
लेखा समितिका अनुसार कान्तिपुर सहकारीको वित्तीय अवस्था अत्यन्त कमजोर बनेको छ । कान्तिपुर सहकारीले एक अर्ब ९८ करोड ८७ लाख ६३ हजार कर्जा लगानी गरेकामा धितोविना नै ५१ करोड ११ लाख १० हजार पाँच सय ९२ रुपैयाँ ऋण लगानी गरेको छ भने ऋणको ब्याज मात्रै २४ करोड ९८ लाख ७९ हजार तीन सय ७४ रुपैयाँ उठाउन बाँकी छ ।
त्यस्तै, सूर्यपुञ्ज बचत तथा ऋण सहकारी संस्थामा बैंकले गरेको लगानी पनि उच्च जोखिममा परेको ठहर लेखा समितिले गरेको छ । उक्त सहकारीले लिएको ऋण कहाँ लगानी गर्ने भनेर कुनै ठोस प्रमाण पेस नगरे पनि बैंक सञ्चालक समितिले दश करोड रुपैयाँ ऋण दिने निर्णय गरेको थियो । उक्त सहकारीलाई दिएको ऋण उठाउन र दिन बाँकी ऋण नदिन लेखा समितिले बैंक सञ्चालक समितिलाई सुझाव दिएको थियो । बैंक सञ्चालक समितिको जेठ ३१ कै बैठकले सूर्यपुञ्जलाई पनि ऋण दिने निर्णय गरेको थियो ।
कर्जा उपसमितिले समेत निर्णय नगरी बैंक सञ्चालक समितिले मात्र ऋण दिने निर्णय गरेको कारण त्यसमा झनै ठूलो चलखेल देखिएको लेखा समितिका एक सदस्यले बताए । लेखा समितिका अनुसार २०७० असार मसान्तसम्म सूर्यपुञ्जले बाहिरबाट दुई करोड ८६ लाख १४ हजार एक सय २१ रुपैयाँ ऋण लिएको छ । निक्षेप मौज्दात पाँच करोड ६० लाख ७८ हजार सात सय आठ रुपैयाँ छ भने कर्जा लगानी आठ करोड ४२ लाख ३१ हजार एक सय ५१ रुपैयाँ, नाफा पाँच लाख ३९ हजार तीन सय ८५ र नोक्सान नौ लाख ७४ हजार आठ सय तीन रुपैयाँ देखिएको छ ।
लेखा समितिका अनुसार नमोबुद्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा दृष्टिबन्धकमा भन्दा कर्जा लगानी बढी गरिएको छ । त्यस्तो भिन्नता सच्याउन र त्यस्ता गल्ती नगर्न पनि बैंक सञ्चालक समितिलाई सुझाव दिइएको छ । त्यस्तै, लेखा समितिले भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुन्धाराले बैंकसँग ऋण लिँदा भक्तपुरको दधिकोट गाविस–४ को जग्गा धितो राखेको तथा धितोको प्राविधिक मूल्यांकन मात्र भएको र नापी नक्सा र ट्रेस समेत नराखेको भन्दै त्यसको सबै कागजात राख्न भनेको छ ।
उक्त जग्गाका बारेमा धेरै वित्तीय संस्थाहरुबाट सार्वजनिक सूचना जारी भएको लेखा समितिले औंल्याएको छ । लेखा समितिका अनुसार २०७० साल फागुन १० गतेको बैंक सञ्चालक समितिले बैंकका कर्मचारीका लागि गाडी सुविधा दिने निर्णयले पनि बैंकलाई थप कमजोर पार्ने काम गरेको छ । आर्थिक वर्ष २०७०/०७१ को बैंकको वार्षिक बजेट तथा कार्यक्रम पास गर्दा गाडी सुविधासम्बन्धी निर्णय नभए पनि बैंक सञ्चालक समितिले गाडी सुविधा दिने निर्णय गरेको लेखा समितिले ठहर गर्दै त्यस्तो निर्णय सच्याउन भनेको छ । जुन शीर्षकमा रकम खर्च गर्ने हो त्यो बजेटबाट पास गरेर मात्र खर्च गर्न पनि बैंकलाई लेखा समितिले सुझाव दिएको छ । त्यस्तै बैंक सञ्चालक समितिले विधि र प्रक्रिया पूरा नगरी मासिक ३० हजार तलब दिने गरी कानुनी परामर्शदाता नियुक्त गरेको भन्दै त्यसलाई पनि संशोधन गर्न सुझाव दिएको छ ।
बैंक सञ्चालक समितिले सञ्चालक र पदाधिकारीहलाई टीए र डीए दिने निर्णय गर्दा आर्थिक प्रशासन नियमावलीविपरीत गरेको ठहर पनि लेखा समितिले गरेको छ । त्यस्तै बैंकका मुख्य व्यक्ति प्रबन्धसञ्चालक केबी उप्रेतीले बैंकलाई पूरा समय ९अफिस टाइम० दिनुपर्नेमा नदिएको र उनले विद्युतीय हाजिर पनि नगरेको भन्दै लेखा समितिले बैंक सञ्चालक समितिलाई उप्रेतीलाई सहकारी आन्दोलनभन्दा बैंकको दैनिक प्रशासनिक सञ्चालन र आर्थिक क्रियाकलापमा लगाउन पनि सुझाव दिएको छ ।
३४ वटा शाखा कार्यालय रहेको सहकारी बैंकले जम्मा १६ वटा शाखा कार्यालयहरुको मात्रै आन्तरिक लेखा परीक्षण गराएको भन्दै लेखा समितिले बैंकको आर्थिक अवस्थाको बारेमा समेत प्रश्न उठाएको छ । नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्न इजाजत पाएको राष्ट्रिय सहकारी बैंकले २०६१ देखि नियमित कारोबार गर्दै आएको आजको आर्थिक दैनिकमा खबर छ ।
कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवस्था नाजुक : समिति
लेखा समितिका अनुसार कान्तिपुर सहकारीको वित्तीय अवस्था अत्यन्त कमजोर बनेको छ ।
कान्तिपुर सहकारीले एक अर्ब ९८ करोड ८७ लाख ६३ हजार कर्जा लगानी गरेकामा धितोविना नै ५१ करोड ११ लाख १० हजार पाच सय ९२ रुपैया ऋण लगानी गरेको छ भने ऋणको ब्याज मात्रै २४ करोड ९८ लाख ७९ हजार तीन सय ७४ रुपैया उठाउन बाकी छ ।
सूर्यपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाजुक अवस्था
लेखा समितिका अनुसार २०७० असार मसान्तसम्म सूर्यपुञ्जले बाहिरबाट दुई करोड ८६ लाख १४ हजार एक सय २१ रुपैयां ऋण लिएको छ ।
निक्षेप मौज्दात पाच करोड ६० लाख ७८ हजार सात सय आठ रुपैया छ भने कर्जा लगानी आठ करोड ४२ लाख ३१ हजार एक सय ५१ रुपैया, नाफा पाँच लाख ३९ हजार तीन सय ८५ र नोक्सान नौ लाख ७४ हजार आठ सय तीन रुपैया देखिएको छ ।
बैंकको कर्जा लगानीमा देखिएका मुख्य कमजोरी
– ऋण लगानी नीतिविपरीत कर्जा उपसमितिको निर्णयविना बैंक सञ्चालक समितिबाट कर्जा लगानी गर्ने निर्णय,
– पुरानो ऋण उठ्न बा“की रहदै थप ऋण दिने गरेको,
– १० करोड ऋण लगानी गर्दा धितो मूल्यांकन नभएको,
– काठमाडौंमा रहेको संस्थालाई दश करोड ऋण दि“दा झापा जिल्लाको कमसल धितो लिएको,
– आन्तरिक लेखा परीक्षण नभएको ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार