३० जेठ २०८२, शुक्रबार

आवश्यक परे सहकारीलाई कर छुट दिन सरकार तयारः अर्थमन्त्री डा महत

२०७१ मंसिर १३, शनिवार
आवश्यक परे सहकारीलाई कर छुट दिन सरकार तयारः अर्थमन्त्री डा महत

गैडाकोट । अर्थमन्त्री डा रामशरण महतले निर्यात बृद्धि बिना कुनै पनि मुलुकको आर्थिक प्रगति नहुने भन्दै निर्यात बृद्धि गर्न गुणस्तरीय उत्पादन बृद्धि गर्नुपर्ने बिचार व्यक्त गर्नुभएको छ । नवलपरासीको गैडाकोटमा बिकु बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित २५ औं बार्षिक साधारण सभाको उद्घाटनका क्रममा उहाँले सो बिचार व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, अहिले निर्यातको युग हो । जापानलाई उछिनेर चीन अगाडि आउने कारण उसको निर्यात हो ।
नेपालले पनि निर्यात बृद्धिका लागि भारतसँग बिद्युत व्यापार सम्झौता गरी बिद्युत उत्पादनलाई जोड दिएको उहाँको भनाई थियो । अर्थमन्त्री डा महतले नेपालले जलबिद्युतको निर्यात गरी आम्दानी बढाउन सक्ने बताउनुभयो । सयौं बर्षदेखि बिद्युत उत्पादन भैरहेपनि नेपालले संभावनाको १ प्रतिशत बिद्युत उत्पादन गरिरहेको जानकारी दिदै उहाँले जलबिद्युतको विकासका लागि सरकारले दीर्घकालिन महत्वका निर्णयहरु गर्न थालिसकेको जानकारी दिनुभयो । उहाँको भनाई थियो, भारतसँग बिद्युत व्यापार सम्झौता भएको छ । यसैबीच नेपालले जीएमआर र सतलजसँग ठूला जलबिद्युत आयोजना सञ्चालनका लागि सम्झौता पनि गरिसकेको छ । तनहुँ जलबिद्युत आयोजना सञ्चालनमा आउँदैछ । बूढीगण्डकी आयोजना पनि चाँडै नै सञ्चालनमा आउँदैछ । बिद्युत व्यापार सम्झौता भएपछि उत्साहित नर्बेले तामाकोशी तेस्रो आयोजनालाई सञ्चालनमा ल्याउने भएको छ । अव धमाधम नयाँ नयाँ बिद्युत आयोजनाहरु सञ्चालनमा आउनेछन । भारतसँग बिद्युत व्यापार सम्झौतापछि बिद्युत उत्पादन र निर्यातको संभावना बढेको छ । विदेशी मुद्रा कमाउने मुलुक नै आगामी दिनमा प्रगति पथमा जाने भन्दै उहाँले सरकारले जलविद्युत र पर्यटनबाट विदेशी मुद्रा कमाउने र कृषि उत्पादन बृद्धि गरी आयात प्रतिस्थापन र पछि निर्यात बृद्धि समेत गरिने उल्लेख गर्नुभयो । निर्यात बढाएपछि मात्र नेपालको अन्य मुलुकसँगको करिब ६ खर्बको व्यापारघाटा पनि घटाउन सकिने उहाँको भनाई थियो ।
लगानी बढाउन शान्ति सुरक्षा र लगानीको सुरक्षाका लागि सरकार कडा भएर आउने जानकारी दिदै उहाँले भन्नुभयो, लगानीलाई कतैबाट पनि अवरोध हुनुहुदैन । लगानीको सुरक्षाका लागि अव राज्यले कडा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । पोखरा र भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरु बन्ने भन्दै उहाँले चाँडै नै निजगढको अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्ने जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं तराई द्रतमार्ग पनि टेण्डर प्रक्रियामा रहेको छ ।
युवाहरुलाई स्वदेशभित्रै रोजगारीका अवसरहरु सिर्जना गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो, विदेशको निर्माणका लागि युवाहरुले खुन पसिना बगाइरहेका छन । अव उनीहरुलाई नेपाल निर्माणका लागि स्वदेशमै कामको व्यवस्था गरिनेछ । देशभित्रै रहेको स्रोत परिचालन गरी युवाहरुलाई रोजगारीका अवसरहरु सिर्जना गरिनेछ । सहकारी संस्थाहरुले सानाको हितमा काम गर्नुपर्नेमा जोड दिदै अर्थमन्त्री डा महतले बिचौलियाका कारण उत्पादकले मोल नपाएको र उपभोक्ताले बढी मूल्य तिनुपरिरहेको समस्याभित्र छिरेर सहकारीले अनुकरणीय काम गर्न सक्ने बताउनुभयो । कृषि, तरकारी, फलफूल उत्पादनतिर लाग्न सहकारी संस्थाहरुलाई आग्रह गर्दै उहाँले आवश्यक परेको खण्डमा सरकार कर छुट दिन पनि तयार रहेको आश्वासन पनि दिनुभयो ।
सो अवसरमा सो क्षेत्रका सभासद सशांक कोइरालाले सहकारी संस्थाहरुले अनुकरणीय काम गरेको र आगामी दिनमा विश्वकै उत्कृष्ठ पुरस्कार पाउने गरी काम गर्न बिकु सहकारी संस्थालाई आग्रह गर्नुभयो । उहाँले समाजको तल्लो बर्गको उत्थानका लागि सहकारीले काम गर्नुपर्नेमा जोड दिनुभयो । अर्कावक्त एमालेको नेता तथा सहकारी आन्दोलनका अगुवा केशव बडालले सहकारीलाई संसारमै कर नलगाइएको भन्दै नेपालमा पनि कर नलगाउन र लगाइएमा पनि कम कर लगाउन आग्रह गर्नुभयो । त्यसैगरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी नेफ्स्कुनका अध्यक्ष ऋषिराज घिमिरेले पनि सहकारी संस्थाहरुमा कम कर लगाइएमा बढी कर असूल हुने बताउनुभएको थियो ।
सो अवसरमा अर्थमन्त्री डा महतले  बिकु सहकारीद्वारा सम्मानित बडाललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।  कार्यक्रममा कांग्रेसका नेता कृष्णचन्द नेपाली, बिकु सहकारीका अध्यक्ष हरिलाल सापकोटा लगायतले आ आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो ।
मोहोरबाट बिसं २०४८ सालमा स्थापित बिकु बचत तथा ऋण सहकारी संस्थाले अहिले करिब १ अर्बको निक्षेप परिचालन गरिरहेको र करिब १५ हजार सेयरधनीहरुलाई सेवा पुर्याइरहेको जानकारी दिइएको थियो ।

अभिलेख

लोकप्रिय