चार बजे देखि सार्कको १८औं शिखर सम्मेलनको बन्दसत्र
रिट्रिटका लागि आज बिहानै काभ्रेको धुलिखेल पुग्नुभएका सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरु अपराह्नमात्रै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।
उनीहरु फर्कीए भएलगत्तै सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले अपराह्न ४ बजे राष्ट्रिय सभागृहमा १८औँ शिखर सम्मेलनको बन्दसत्र सुरु भएको घोषणा गर्नेछ ।
काठमाडौं । सार्क को १८औं शिखर सम्मेलनको बन्दसत्र आज अपराह्न ४ बजेदेखि सुरु हुने भएको छ ।
बन्दसत्रको सुरुमै सार्कको १९औँ शिखर सम्मेलनको स्थान र मिति तय हुनेछ भने त्यसपछि सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरुले संयुक्त रुपमा १८औँ शिखर सम्मेलनको घोषणापत्र जारी गर्नेछ ।
प्रधानमन्त्री कोइरालाले अपराह्न ४:०९ बजे निष्कर्ष सम्बोधन गरेपछि भावी सम्मेलन आयोजना गर्ने मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम छ ।
अपराह्न ४:२२ बजे प्रधानमन्त्री कोइरालाले सम्मेलन समापन भएको घोषणा गरेपछि १८औँ शिखर सम्मेलन औपचारिक रुपमा समापन हुनेछ ।
सम्मेलन समापनपछि फोटोसत्र हुनेछ, जसमा पहिले सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले फोटो खिचाउने काम हुन्छ । त्यसपछि सदस्य मुलुकका विदेश मन्त्री र विदेश सचिवहरुसमेत त्यसमा सहभागी हुने कार्यक्रम तय भएको छ ।