नेपाल र भारतबीच द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (मंगलबार) आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उक्त सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल प्रहरीको एकेडेमी निर्माणका लागि भारतले उपलब्ध गराउने सहयोग सम्झौतामा अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र भारतीय गृह मन्त्रालयका सचिव स्नेहलता कुमारले हस्ताक्षर गरे ।
काभ्रेको पनौतीमा स्थापना गरिने राष्ट्रिय प्रहरी प्रतिष्ठान आयोजना कार्यान्वयनका लागि भारत सरकारले करिब आठ अर्ब ७९ करोड अनुदान सहायता प्रदान गरेको हो ।
यस्तै दुई मुलुकबीच पर्यटन विकास गर्ने समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत रणजित रायले हस्ताक्षर गरे ।
नेपाल र भारतबीच एक अर्को मुलुकमा पर्यटन आदानप्रदान गर्ने र पर्यटन क्षेत्रको विकासमा मिलेर काम गर्ने लक्ष्य सो समझदारीपत्रमा उल्लेख गरिएको छ ।
यस्तै परम्परागत औषधि उपचार प्रणाली अवलम्बन गर्ने समझदारीपत्रमा समेत आजै हस्ताक्षर भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत रायले हस्ताक्षर गरे ।
दुई मुलुकका युवा आदानप्रदान गर्ने सहयोग सम्झौतामा समेत आजै हस्ताक्षर भएको छ । यस्तै जनकपुर–अयोध्या, काठमाडौँ–वाराणसी, लुम्बिनी र वोधगयाबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमतिमा समेत हस्ताक्षर भएको छ ।
हस्ताक्षर समारोहमा प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह, मन्त्रीगण, मुख्यसचिव र नेपाल सरकारका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार