२१ कात्तिक २०८३, शनिवार

जुम्लाका साकोसबीच अन्तरिक्रियात्मक भेला

२०७१ मंसिर ८, सोमबार
जुम्लाका साकोसबीच अन्तरिक्रियात्मक भेला

जुम्ला । नेपालको विकट र दुर्गम कर्णालीको जुम्ला जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्था (साकोस)हरुको भेला तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

भेलामा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले नेपालको सहकारी आन्दोलनमा ग्रामिण समुदायवीच सञ्चालित सहकारीहरुले महत्वपूर्ण योगदान पुर्याएको बताए । ‘शहरका भन्दा गांऊका सहकारीहरु समुदायमा आधारित र सदस्य सेवाकेन्द्रीत रहेका छन् । सीमान्तीकृत समुदायको उत्थानका लागि उनीहरुको भूमिका प्रशंसनिय रहेको छ । यस्ता सहकारीहरुलाई राज्यले नीतिगत र प्राविधिक सहयोग गर्नुपछ ।’ उनले भने ।  स्थानीय सहकारीकर्मीहरुको जिज्ञासाको सन्दर्भमा पौडेलले सहकारीहरुको स्तरोन्नति र गुणात्मक विकासमा नेफ्स्कूनले सहयोग गर्ने बताए ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष मिनबहादुर डांगीको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला संघका उपाध्यक्ष एवम् भैरवनाथ सहकारीका अध्यक्ष रतन रोकाया, काञ्जिरोवा महिला बचत तथा ऋण सहकारी संस्थाकी धनमाया कठायत, भगवती महिला बचत तथा ऋण सहकारी संस्थाकी लेखा संयोजक भानुमती बिक, चन्द्रनाथ नौमुडे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जयराज भारती, जनकल्याण सहकारीका पूर्णपसाद तिमल्सेना, चन्दननाथ नौमुडे बचत तथा ऋण सहकारी संस्थाका मिनबहादुर रोकायालगायतले आफ्नो धारणा राखेका थिए ।

सहभागीहरुले नेफ्स्कूनको प्रतिनिधिको उपस्थितिले आफुहरुलाई उत्साह मिलेको बताउदै जिल्लाको सहकारी अभियानलाई केन्द्रबाट सहयोगका लागि आग्रह गरेका थिए । एक नगरपालिकासहित २६ गाविस रहेको जुम्लामा सबै प्रकृतिका करीव दुई सय सहकारीहरु रहेका छन् । करीव ९० बचत तथा ऋण सहकारी रहेको जिल्लामा अधिकांश सहकारीहरु क्रियाशिल छन् । ती सहकारीहरुले गांऊ गांऊमा महिला तथा सीमान्तीकृत समुदायवीच आर्थिक कारोवार गरी सदस्यहरुको जीवनशैलीमा परिवर्तन ल्याउन भूमिका खेलिरहेका छन् ।

अभिलेख

लोकप्रिय