२१ कात्तिक २०८३, शनिवार

वीस वर्षे दुग्ध विकास रणनीति जारी गर्ने तयारीमा छौं — बाबुकाजी

२०७१ कात्तिक २८, शुक्रबार
वीस वर्षे दुग्ध विकास रणनीति जारी गर्ने तयारीमा छौं — बाबुकाजी

सिमरा । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले सरकारले वीस वर्षे दुग्ध विकास रणनीति तयार गर्न लागिरहेको बताएका छन् । शुक्रबार डुमरवाना स्थित डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाको उन्नाइसौं वार्षिक साधारणसभामा बोल्दै उनले वीस वर्षे रणनीतिले दुधमा मुलुकलाई आत्मनिर्भर बनाउने र निर्यातको वातावरण बनाउन सकिने पन्तले दावी गरे ।

‘आज पनि एक लाख लीटर दुध भारतबाट आयात गर्नुपर्ने अवस्था छ । दुधको पर्याप्त गुणस्तरीयता कायम हुन सकिरहेको छैन ।’ उनले भने, ‘आगामी दिनमा सबै विकास क्षेत्रमा गाइका स्रोतकेन्द्रहरु स्थापना गरिने छ ।’ प्रत्येक वर्ष ती प्रत्येक स्रोतकेन्द्रबाट बाच्छी उत्पादन गरी विपन्न तथा गरीव परिवारलाई वितरण गरिने उनले बताए । पन्तले दुुध उत्पादन गर्ने किसानहरु र सहकारीहरुको पक्षमा काम गरिरहेको बताउदै बोर्डले प्रदान गर्ने सुविधाहरुमा आवद्ध हुन आग्रह समेत गरे ।

पूर्वसभासद शोभाकर पराजुलीले सहकारी क्षेत्रको प्रवद्र्धन र किसानहरुको पक्षमा राज्यले काम गर्नुपर्ने बताए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारी क्षेत्रको पूंजी, संगठन र सम्भावनाहरुलाई राष्ट्रिय समृद्धिसंग जोडनुपर्ने बताए ।

संस्थाका अध्यक्ष नारायण बर्तौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण व्यवस्थापक ठगेन्द्रप्रकाश घिमिरे र स्वागत लेखा सदस्य केशव थपलियाले गरेका थिए । उन्नाइस वर्षअघि स्थापना भएको संस्थामा हाल एक हजार पांच सय सदस्यहरु रहेको र दैनिक छ हजार लीटर दुध संकलन हुने गर्दछ । संस्थाले दुग्धजन्य पदार्थ उत्पादन गर्ने कारखानासमेत स्थापना गरेको छ र आइसक्रिम, दही, पनिर, मिठाईहरु उत्पादन र विक्री वितरण गर्ने गर्दछ । संस्थाले पशुबिमा, किसान बोनस, किसान सञ्चयकोष, गोठसुधार, उन्नत नश्लको गाई भैशीको व्यवस्था र लगानीसमेत गर्दछ । संस्था मध्यतराईकै एक उत्कृष्ट दुग्धउत्पादक सहकारी संस्थाको रुपमा रहेको छ र विभिन्न समयमा राष्ट्रिय तथा जिल्ला तहका उत्कृष्ट पुरस्कारसमेत पाएको छ ।

अभिलेख

लोकप्रिय