२१ कात्तिक २०८३, शनिवार

शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध

२०७१ कात्तिक २४, सोमबार
शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध

म्याग्दी । म्याग्दीको दग्नाम गाविसलाई सबै घरधुरी सहकारीमा आबद्धता भएको गाविस घोषणा गरिएको छ । गाविसमा रहेका कुल २३५ घरधुरी स्थानीयस्तरमा सञ्चालित महिला सहकारीमा आबद्ध भएपछि दग्नामलाई शनिबार एक कार्यक्रमकाबीच शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध भएको घोषणा गरिएको हो ।
प्लान नेपाल र सहमति संस्थाको आर्थिक सहयोग र समन्वयमा धौलागिरि महिला विकास बहुद्देश्यीय सहकारी संस्थाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।  गाविसका सबै घरधुरीमा सहकारीको पहुँच पुगेपछि आर्थिक कारोबार गर्न स्थानीयलाई सहज हुने भएको छ । सहकारीका उपाध्यक्ष रमायाँ पुनको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ग्रामीण भेगमा सञ्चालित महिला सहकारीले गाविसका सबै घरधुरीलाई समेट्नु राम्रो काम भएको भन्दै सहकारीमार्फत हुने आर्थिक कारोबारले स्थानीय महिलाको जीवनस्तर सुधारमा सघाउ पुर्याउने बताउनुभयो ।
विसं २०५७ मा स्थापना भएको धौलागिरि सहकारीले विविध कारणले २०६५ देखि नियमित कारोबार सुरु गरेको थियो । प्रतिसेयर सदस्यले मासिक रूपमा रु १० बाट बचत गर्न थालेको यस सहकारीमा हाल प्रतिसेयर सदस्यले मासिक रु १०० अनिवार्य रूपमा बचत गर्ने गरेका छन् ।
हाल सहकारीमा २५१ जना सेयर सदस्य रहेका छन् । सहकारीले आर्थिक वर्ष २०७०÷०७१ मा रु नौ लाख ३५ हजार कारोबार गरेको जनाएको छ ।
यस अगाडि शुक्रबार म्याग्दीको कुईंनेमङ्गले गाविसलाई जिल्लाको पहिलो शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध भएको घोषणा गरिएको सहमति संस्थाका जिल्ला कार्यक्रम संयोजक शिव सुवेदीले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय