२१ कात्तिक २०८३, शनिवार

दक्षिण एसियालाई नै लगानीमैत्री बनाऔं : अर्थमन्त्री

२०७१ कात्तिक २०, बिहिबार
दक्षिण एसियालाई नै लगानीमैत्री बनाऔं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले दक्षिण एसिया क्षेत्रको उन्नतिका लागि सबैभन्दा पहिला व्यापारिक अवरोधहरु हटाई लागत न्युनिकरण गर्नुपर्ने र विश्व बजारमा प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् । नयाँ दिल्लीमा आयोजित दक्षिण एसिया आर्थिक सम्मेलनमा विशिष्ट बक्ताको रुपमा बोल्दै उनले सो कुरा बताका हुन् ।

‘यस क्षेत्रभित्रै व्यापार गर्नुभन्दा तेस्रो मुलुकसँग व्यापार गर्नु सस्तो पर्न जान्छ ।’ उनले भने, ‘भारत र पाकिस्तानले मात्र यस क्षेत्रको ९० प्रतिशत व्यापार हिस्सा ओगट्छन तर उनीहरुबीच हुने व्यापारको लागत भने चीनसँग वा मेरिकासँगको भन्दा दोब्बर रहेको छ । त्यस्तै नेपाल दक्षिण एसियाकै एक मुलुक हो तर श्रीलंकाले नेपालसँग व्यापार गर्नुभन्दा ब्राजिलसँग व्यापार गर्नु सस्तो पर्छ । यसरी बढी लागत पर्नुको मुख्य कारण नै व्यापारिक अवरोधहरु हुन र यस क्षेत्रका मुलुकहरुबीचको आपसी सम्वन्ध सहज नहुनु नै हो । त्यसैले यस क्षेत्रको व्यापारिक सुधारका लागि यी पक्षहरुमा सुधार हुनैपर्छ ।’ दक्षिण एसियाली मुलुकहरुमा एकबाट अर्कोमा सामान पठाउँदा धेरै चेकजाँचहरु हुने गरेकोले व्यापारको लागत बढेको उल्लेख गर्दै उहाँले आपसमा खुल्ला छलफल गरी यी अवरोधहरुलाई हटाउनुपर्ने उनको भनाई थियो ।

लगानीका दृष्टिले दक्षिण एसियाली देशहरु विश्वका १८९ मुलुकमध्ये ९९ देखि १८३ औं स्थानमा रहेका छन । यो तथ्य प्रस्तुत गर्दै अर्थमन्त्री डा महतले लगानीमैत्री र व्यापारमैत्री वातावरण सिर्जना गरी यस क्षेत्रमा उत्पादन तथा प्रशोधन उद्योगहरुको विकास गर्नुपर्ने आवश्यकता औल्याए । यसै सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई लगानी सजिला देशमध्ये ५० मा स्थापित गरिछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएकोमा सराहना गर्दै उनले यसले अन्य देशहरुलाई पनि लगानीमैत्री वातावरण सिर्जना गर्न दबाब पैदा हुने र सकारात्मक प्रभाव फैलिने आशा व्यक्त गरे ।
सम्मेलनको उद्घाटन भारतका उपराष्ट्रपति हमिद अन्सारीले गरेका थिए । अर्थमन्त्री डा महतले दक्षिण एसियाली क्षेत्रको बिगत, बर्तमान र भविष्यसम्वन्धी क्षेत्रीय एकीकरणबारे मन्तब्य व्यक्त गरेका थिए ।

अभिलेख

लोकप्रिय